८ वैशाख २०८१ शनिबार
अर्थ

२०९ प्रतिशतसम्म महँगियो भान्सा

वानेश्वर शान्तीनगरमा रहेको तरकारी बजारमा तरकारी किनमेल गर्दे व्यापारी तथा उपभोक्ता। तस्बिरःनागरिक

काठमाडौं – भारी वर्षा, विषादी परीक्षण लगायत कारणले बजारमा तरकारीको भाउ अकासिएको छ। गतवर्षको तुलनामा तरकारीको मूल्य दुई सय नौ प्रतिशत सम्म र गत हप्ता भन्दा शतप्रतिशतसम्म बढेको छ। भान्सामा दैनिक प्रयोग हुने तरकारीको मूल्य वृद्धि हुँदा उपभोक्ता मर्कामा परेका छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको साउन ३ गते २२ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा यो वर्षको साउन ३ गते (शुक्रबार) दुई सय नौ प्रतिशतले बढेर ६८ रुपैयाँ किलो पुगेको छ। गतवर्ष ५२ रुपैयाँ किलोमा बिक्री भएको बोडी अहिले एक सय २१ प्रतिशतले बढेर एक सय १५ रुपैयाँ किलो पुगेको छ।

त्यसैगरी, भिण्डी ३८ रुपैयाँ किलोबाट एक सय १५ रुपैयाँ, काँक्रो ५८ बाट एक सय १५ रुपैयाँ, लाम्चो भेन्टा ४२ रुपैयाँ प्रतिकिलोबाट ७८ रुपैयाँ (८५ प्रतिशत बढी) पुगेकोे छ। त्यस्तै, चाइनिज लसुनको भाउ ८८ प्रतिशतले बढेर एक सय २५ बाट दुई सय ३५ रुपैयाँपुगेको छ।

चम्सुर साग ६६ प्रतिशतले महँगिएको छ। पोहोर साउन ३ गते ६३ रुपैयाँ किलोमा बिक्री भएको चम्सुर यसपालि एक सय पाँच रुपैयाँ पुगेको छ। झोले स्याउको मूल्य ६६ प्रतिशतले बढेको छ। यसको मूल्य गत वर्ष एक सय पाँच रुपैयाँ किलो रहेकोमा अहिले एक सय ७५ रुपैयाँ पुगेको छ।

गतवर्ष ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको माल्दा आँप अहिले ७० प्रतिशतले बढेर एक सय ४५ रुपैयाँ पुगेको छ। असार २२ देखि साउन २ सम्मको ११ दिनमा तरकारीको मूल्य एक सय नौ प्रतिशतसम्म बढेको छ। असार २२ गते ५५ रुपैयाँमा बिक्री भएको लोकल काँक्रो एक सय १५ रुपैयाँ पुगेको छ। सानो गोलभेंडा ८५ प्रतिशत महँगिएर किलोको ७८ रुपैयाँ नाघेको छ। त्यस्तै, यो १२ दिनमालामो बोडीमा ४६ प्रतिशत, बन्दामा ८३, काउलीमा १३, भान्टामा ५०, तितेकरेलामा ६२, घिरौंलामा ४१ र भिन्डीमा ९८ प्रतिशतले मूल्यवृद्धि भएको छ।

तरकारीको भाउ दिन प्रतिदिन बढ्दै गएको भन्दै उपभोक्ता निराश छन्। बर्खा लागेसँगै तरकारीको भाउ अकासिएपछि उपभोक्त बढी मूल्य चुकाउन बाध्य छन्। उत्पादनमा गिरावट र तयारीबिनै भारतबाट आयातित फलफूल तथा तरकारी परीक्षण गर्ने नियम लागू भएका कारण अधिकांश तरकारीको मूल्य बढेको व्यवसायी बताउँछन्।

फलफूल तथा तरकारी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष खुमप्रसाद धिमिरे न्यून उत्पादन र बजारमा माग अधिक रहेकाले महँगी बढेको बताउँछन्।

‘प्रशस्त उत्पादन हुन नसकेका कारण आपूर्तिमा समस्या आउँदा मूल्य बढ्न गएको हो। वर्षाका कारण गोलभेंडा,सिमी, बोडी लगायत तरकारी कुहिने तथा बिग्रने कारणले पनि थोरै मूल्य बढेको हो,’ उनले भने।

अहिले उपत्यकाभित्रका टनेलमा उत्पादित तरकारीले काठमाडौंको बजार धानिरहेको अवस्था छ। सबै प्रकारका तरकारीमा होइन केही तरकारी भारी वर्षाका कारण बारीमै कुहिएको र बाटोका कारण बजारसम्म पु-याउन नसक्दा मूल्यमा चाप परेको उनको धारणा छ।

‘विषादी चेकजाँचका कारण भारतबाट आयातित तरकारी वर्षाद्का समयमा सीमानाकामा लामो समय कुर्नुपर्ने अवस्थाछ। त्यस्तो स्थितिमा जोखिम मोलेर भारतबाट आयात गर्न व्यापारी डराएका छन्,’ उनले भने, ‘सरकारले विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्नुपर्ने जनाएका कारण आयातित तरकारी सीमा नाकामै कुहिने अवस्था आएकाले व्यापारी भारतीय बजारमै बेच्न बाध्य छन्।’

अहिलेको सिजनमा तराईमा उत्पादन हुने तरकारीहरु–– लौका, परवल, घिरौंला, चिचिन्डामा बाढीले नोक्सान पु-याउँदा बजारमा आउन नसकेको उनले बताए।

उनले भने, ‘गतवर्षको तुलनामा काठमाडौं आसपास काभ्रेको पाँचखाल, मकवानपुरको चित्लाङ र धादिङका विभिन्न क्षेत्रमा सिजनल तरकारीको उत्पादन कम भएकोले त्यसको प्रत्यक्ष असर मूल्यमा परेको हो।’

काठमाडौंको अधिकांश बजार चित्लाङ र पालुङबाट आयात गरिएको मुला, काउली तथा बन्दाले धान्दै आएको उनको भनाइ छ। थोरै मात्रामा तरकारी आयात हुने र व्यापारीमा प्रतिस्पर्धा भएका कारण मूल्य बढेको र यसमा सिन्डिकेट वा बिचौलियाको भूमिका नरहेको उनले दाबी गरे।

उनले भने, ‘किसानले घरबाटै बजार मूल्य बुझ्न सक्ने भएकाले मूल्य तुलनात्मक रुपमा बढी भएको ठाँउमा पठाउँछन्। ताजा तरकारी आजको आजै बिक्री गर्नुपर्ने भएका कारण पनि मूल्य वृद्धिमा कसैको हात छैन।’

बर्खाका कारण बजारमा तरकारी आउन नपाएको भन्दै व्यापारीले भने भारतबाट आयातित तरकारीमा विषादी परिक्षणलाई कारण देखाउने गरेका छन्।

दैनिकप् रयोग हुने तरकारीको मूल्य वृद्धिको प्रत्यक्ष असर मध्यम र निम्नवर्गका उपभोक्तालाई बढी परेको छ। महँगो मूल्य हाल्दापनि राम्रो तरकारी पाउन नसकेको उपभोक्ता बताउँछन्।

‘सबै तरकारीको भाउनिकै बढेको छ,’ तरकारी बजारमा भेटिएकी गोरखाकी कलापती भट्टले भनिन्, ‘एकातिर चाडवाड आउँदै छ, अर्काेतिर महँगो मूल्य हालेर विषादीयुक्त तरकारी किन्नु परेको छ। स्वास्थका लागि पनि महँगो पर्ने भो।’

वर्षा र विषादी परीक्षणका कारण तरकारीको मूल्य वृद्धि भएको नभई व्यापारीले कालो बजारी गरेको उपभोक्ता दाबी गर्छन्।

१९ तरकारी व्यापारीलाई कारवाही
यसैबिच धेरै मूल्यलिएर उपभोक्ता ठगेको आरोपमा सरकारले १९ तरकारी व्यापारीलाई कारवाही गरेको छ। वाणिज्य, आपूर्ति तथाउपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार गरेको अनुगमनमाबल्खु र कालीमाटीमा अस्वाभाविक मूल्यलिएको भेटेपछि कारबाही गरेको हो।

विभागका शाखा अधिकृत दीपक पोखरेलका अनुसार बल्खुका ११ र कालीमाटीका आठ व्यापारीलाई जरिवाना गरिएको छ। ‘धेरै मूल्यलिने र बिलबिजक जारी नगर्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरेका हौं,’ पोखरेलले भने, ‘पाँचहजार देखि २० हजारसम्म जरिवाना गरेका छौं।’

किसान तथा कृषि उपज संकलन केन्द्रबाट तरकारी खरिद गरेको बिजबिजक नदेखाउने व्यापारी कारवाहीमा परेको उनको भनाइ रहेको छ।

अनुगमन क्रममा बल्खुस्थित तरकारी बजारमा फेला परेका बिचौलियालाई विभागको अनुगमन टोलीले २० हजार रुपैयाँ जरिवाना गरेको जनाइएको छ।

त्यस्तै, खरिद–बिक्रीबिल र विवरण नभएका कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
‘अनुगमन टोलीले प्रत्येक स्टलमा तरकारीको मूल्यसूची राख्न र थोक बिक्री गर्दा अनिवार्य रुपमा बिलबिजक जारी गर्न व्यापारीलाई निर्देशन दिएको छ। दोस्रो अनुगमनको सययमा पनि गल्ती नसुधारे थप कारवाही गरिने छ,’ पोखरेलले भने।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी फलफूलतथा तरकारी बजार र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भएको

प्रकाशित: ५ श्रावण २०७६ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App