coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंका सबै सामुदायिक विद्यालय एकै रङमा

काठमाडौं – काठमाडौं महानगरपालिकाले सबै सामुदायिक स्कुललाई एकै रङमा रंग्याउने भएको छ। विद्यालय व्यवस्थापक समाज नेपालको शनिबार भएको वार्षिक साधारण सभामा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र रहेको ९१ वटा सामुदायिक विद्यालयलाई यस आर्थिक वर्षमा एउटै रङमा रंग्याउने बताएका हुन्। उनले यस वर्ष सामुदायिक विद्यालयका खेलस्थल सुधार, खानेपानीको व्यवस्था, शौचालय मर्मत तथा निर्माणका कार्य पनि हुने बताए। ‘विद्यालय भित्र विभिन्न समस्या छन्। विद्यालयमा शिक्षक दरवन्दीमा धेरै समस्या छन्। यसलाई व्यवस्थित गर्न र शिक्षामा सुधार गर्न महानगरपालिका लागिपरेको छ,’ उनले भने।

विद्यालयहरुले समस्या मात्र औंल्याएर विद्यालय व्यवस्थापनमा, शिक्षामा सुधार नहुने बताउँदै उनले राम्रो व्यवस्थापनबाट सुधार हुने बताउँदै विद्यालयमा राम्रो व्यवस्थापन गर्न प्रधानाध्यापकहरूलाई सुझाए। उनले भने, ‘निजी स्कुललाई निषेध गरेर होइन, सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउनु पर्छ। यसका लागि सरकार, मेयर वा शिक्षा विभागले मात्र गरेर पुग्दैन, विद्यालय, प्रधानाध्यापक, शिक्षक पनि जिम्मेवार हुनुपर्छ।’

कार्यक्रममा समाजका अध्यक्ष राजेश्वरमान श्रेष्ठले अहिलेको मुख्य समस्या शिक्षक दरबन्दी भएको बताउँदै कसैलाई समस्या नपर्ने गरी दरवन्दी मिलाउन समाज कार्यरत रहेको बताए। उनले शिक्षामा सुधार गर्न शिक्षकलाई तालिम दिने, विद्यालयबीच विभिन्न समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने, सूचना आदानप्रदान गर्ने काम समाजले गर्दै आइरहेको बताए। त्यस्तै उनले विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय तहमा आएकाले सोहीअनुसार विभिन्न स्थानिय तहमा समाजको इकाई गठन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै समाजका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले शिक्षकहरू विस्थापित भइरहेको बताउँदै यसलाई व्यवस्थापन गर्नुपर्ने औंल्याए। कार्यक्रमका अर्का वक्ता जनकल्याण माविका प्रधानाध्यापक कुमारी कमला राईले विद्यार्थी धेरै भएको विद्यालयमा शिक्षकको दरबन्दी नै नपुगेको तर विद्यार्थी कम भएको विद्यालयमा भने शिक्षकको दरबन्दी धेरै हुने भइरहेकाले यसलाई व्यवस्थित गर्न विशेष ध्यान दिनुपर्ने बताए। कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेल, शिक्षा विकास तथा समन्वय समितिका नन्दलाल पौडेल, काठमाडांै महानगरपालिका २० वडाका अध्यक्ष राजेन्द्र मानन्धरले विद्यालयमा आएको समस्यालाई छलफल गर्दै समाधान गर्दै लगिने बताए। साधारण सभाबाट राजेश्वरमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन भएको छ। नवनिर्वाचित समितिमा उपाध्यक्ष सुदर्शन कट्टेल, सचिव रविना महर्जन, सहसचिव रिता तिवारी, कोषाध्यक्ष प्रमोदकृष्ण श्रेष्ठ तथा सदस्यमा अमृता श्रेष्ठ, गीता काफ्ले, मेघबहादुर बञ्जारा, नातीकाजी महर्जन, सरिता क्षेत्री र लक्ष्मण पौडेल रहेका छन्।

प्रकाशित: ५ श्रावण २०७६ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App