coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भन्सार राजस्व साढे ८६ प्रतिशत मात्र

सबैभन्दा बढी राजस्व संकलन हुने वीरगन्ज नाका। तस्बिरःनागरिक

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले वर्षौंदेखि भन्सार नाकामा भइरहेको न्यून बिजकीकरणले अर्बौं राजस्व गुमेको भन्दै यसलाई रोक्न सन्दर्भ मूल्य लागू गरेकामा यसको परिणाम उल्टो देखिएको छ।

अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालय सम्हालेलगत्तै भन्सार कार्यालयहरुलाई पत्राचार गर्दै सन्दर्भ मूल्यभन्दा तल गएर कुनै पनि मालवस्तु पास नगर्न आदेश दिएका थिए। अर्थमन्त्रीको निर्देशनलाई लिएर सुरुमा सबै क्षेत्रबाट विरोध पनि भएको थियो। यो आदेशले सुरुका केही दिन भन्सार राजस्व बढाउन सहयोग पनि गरेको थियो। तर, व्यापारीले बढी भन्सार तिर्नुभन्दा चोरी पैठारीको माध्यम रोजेपछि गत वर्ष भन्सार राजस्व सरकारको लक्ष्यको ८६ प्रतिशत मात्र असुली भएकोे छ।

अर्थ मन्त्रालयका अधिकारीहरु खुलेर सन्दर्भ मूल्यका कारण राजस्व घटेको भन्न चाहँदैनन्। अर्थका एक उच्च अधिकारीले सन्दर्भ मूल्य लगाएकामा साना र मझौला व्यापारी रुष्ट भएकाले विगतमा भन्दा गत वर्ष चोरी पैठारी बढेको हुन सक्ने अनुमान गरे।

‘भारतसँग खुला सिमाना भएका कारण मुलुकको कुल व्यापारको करिब आधा हिस्सा अवैध हुने गरेको बताइँदै आएको छ,’ ती अधिकारीले शुक्रबार नागरिकसँग भने, ‘कुन वर्ष अवैध व्यापार कति कम वा बढी भयो भनेर यसै भन्न सकिने अवस्था छैन।’

उनका अनुसार सरकारले चोरी पैठारीबारे विस्तृत अध्ययन, अनुसन्धान पनि गर्न सकेको छैन। समाचार माध्यमहरुमा चोरी पैठारीका समाचार आएमात्र सरकार केही सक्रिय हुने गरेको छ। अर्कोतिर अवैध व्यापार नियन्त्रणको भूमिका गृह मन्त्रालयको हो। खुला सिमानाका कारण सिमा नाकामा खटिएका दुई चार सय प्रहरी र व्यापारिको मिलेमतो भए चोरी पैठारी सजिलै बढन सक्छ।

ती अधिकारीका अनुसार चोरी पैठारीको अवस्थालाई छोड्ने हो भने गत वर्ष आयात २० प्रतिशत हाराहारीमा बढेको अवस्थामा भन्सार राजस्व लक्ष्यअनुरुप असुली हुनुपर्ने हो। तर, १४ प्रतिशत हाराहारीमा राजस्व घटेपछि भन्सार नाकाहरुमा गढबढी भएको मान्नुपर्छ।

अर्थ मन्त्रालयले गत वर्ष भन्सारबाट चार खर्ब १८ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो। यहीअनुसार भन्सार कार्यालयहरुको क्षमता हेरेर लक्ष्य तोकिएको थियो।

भन्सार विभागका अनुसार गत वर्ष सरकारले चार खर्ब १८ अर्ब रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य दिएकामा तीन खर्ब ६२ अर्ब रुपैयाँ मात्र संकलन भएको छ। यो लक्ष्यका तुलनामा ८६.६० प्रतिशत हो। भन्सार राजस्व साढे १३ प्रतिशतले कम उठेको यो धेरै वर्षपछि हो।

‘सरकारले गत वर्ष आठ सय १८ अर्ब भन्सार शुल्क उठाउने लक्ष्य दिएकामा तीन सय ६२ अर्ब रुपैयाँ असुली भएको छ,’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले शुक्रबार नागरिकसँग भने, ‘सरकारले सोचेअनुसार आयात नबढेका कारण राजस्व लक्ष्यअनुसार नउठेको हो।’

उनले गत वर्ष आयात बढेको देखिए पनि राजस्व बढी संकलन हुने मालवस्तुको आयात घटेको जानकारी दिए। ‘आर्थिक वर्ष भर्खरै सकिएका कारण कुन–कुन वस्तुको आयात घटेको हो र त्यसले राजस्वमा कस्तो असर पारेको छ भन्ने रिपोर्ट बनिसकेको छैन,’ प्रवक्ता घिमिरेले भने, ‘तर सवारी साधनलगायत धेरै राजस्व असुली हुने मालवस्तुको आयात भने घटेको देखिएको छ। सबै रिपोर्ट तयार भएपछि वास्तविकता थाहा हुनेछ।’

विभागका अनुसार भूकम्पपछि बढी चल्तीमा रहेको उत्तरी नाका रसुवागढीले लक्ष्यभन्दा धेरै राजस्व उठाएको छ। अन्य सबै ठूला नाकाहरुले लक्ष्य फेला पार्न सकेका छैनन्।

वीरगन्जमा लक्ष्यको ८६ प्रतिशत  
वीरगन्जस्थित नागरिक संवाददाता रितेश त्रिपाठीका अनुसार यो नाकाले लक्ष्यको ८५.९७ प्रतिशत राजस्व उठाएको छ। मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सारलाई गत वर्ष एक खर्ब ७१ अर्ब ६० करोड ५८ लाख रुपैयाँ लक्ष्य दिइएको थियो। यसमध्ये उसले एक खर्ब ४७ अर्ब ५३ करोड १३ लाख रुपैयाँ असुली गरेको हो। यो लक्ष्यको ८५.९७ प्रतिशत हो। लक्ष्यभन्दा २४ अर्ब सात करोड ४४ लाख रुपैयाँ कम राजस्व संकलन गरेको भन्सारले जानकारी दिएको छ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्यामप्रसाद भण्डारीले अपेक्षित रुपमा आयात व्यापार नभएका काराण राजस्व संकलनमा असर परेको बताए।

सुक्खा बन्दरगाहको ८९ प्रतिशत
वीरगन्जको अर्को भन्सार सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले निर्धारित लक्ष्यको ८९.३६ प्रतिशत राजस्व असुली गरेको छ। यो भन्सारले गत आर्थिक वर्ष २०७५/०७६ मा ३२ अर्ब २५ करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा तीन अर्ब ८४ करोड १८ लाख रुपैयाँ कम हो। सरकारले सुक्खा बन्दरगाहलाई ३६ अर्ब नौ करोड ३२ लाख रुपैयाँको लक्ष्य दिएको थियो।

सुक्खा बन्दरगाहबाट आयात हुने मालवस्तुमा विभिन्न खाले औद्योगिक उत्पादनको कच्चा पदार्थका लागि आयात हुने फलामको हिस्सा ठूलो हुने गरेको छ।

प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार फलाम यस भन्सरको राजस्वको प्रमुख स्रोत हो। फलाम आयात घटेपछि त्यसको असर राजस्वमा परेको हो। त्यस्तै इलेक्ट्रोनिक वस्तु, प्लास्टिकका सामान र विदेशी मदिरा आयात कम भएपछि त्यसको असर पनि राजस्वमा परेको भन्सार अधिकृत श्रेष्ठ बताउँछन्। उनका अनुसार यो भन्सार भएर विदेशबाट आउने कन्टेनरबन्द मालवस्तुको आयात पछिल्लो समयमा बढेका कारण मात्र लक्ष्यको झण्डै ९० प्रतिशत राजस्व उठाउन सकेको हो।

नेपालगन्ज लक्ष्यमा सफल
नेपालगन्जस्थित नागरिक संवाददाता अर्जुन ओलीका अनुसार नेपालगन्ज भन्सार कार्यालयले यस वर्ष वार्षिक लक्ष्य अनुसारै राजस्व उठाएको छ। सरकारले गत आर्थिक वर्षका लागि १२ अर्ब ३३ करोड एक लाख  रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिएकोमा १२ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ असुली भएको हो। यो रकम लक्ष्यभन्दा ५४ लाख ५५ हजारले बढी हो। कार्यालयले सबैभन्दा बढी पेट्रोलियम पदार्थबाट राजस्व असुली गरेको भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले नागरिकलाई जानकारी दिए।

कार्यालयले अघिल्लो आवमा आठ अर्ब ३७ करोड ६४ लाख लक्ष्य लिएकोमा १० अर्ब २७ करोड २२ लाख असुली गरेको थियो। यो लक्ष्यको एक सय २२.६३ प्रतिशत थियो। आर्थिक वर्र्ष २०७३/७४ मा पनि लक्ष्यको एक सय ३८.४५ प्रतिशत संकलन गरेको थियो।

भन्सार शुल्क बढी लाग्ने सामानको आयात वृद्धिदर घट्दा लक्ष्य अनुसारको राजस्व संकलन गर्न समस्या उनले बताए। ‘सरकारले चिनीको पैठारी बन्द गरेर कोटा सिस्टम लगायो, भारतबाट भित्रिने मोटरसाइकल पनि कम मात्रामा आउन थाल्यो,’ निरौलाले भने, ‘सिमेन्ट, क्लिंकर जस्ता सामानको आयात पनि पहिलेको भन्दा धेरै कम मात्रामा आयो।’ खुल्ला सीमाका कारण भारतबाट अवैध रुपमा माल सामान पैठारी भएर आउने क्रम नरोकिएको भन्सार कर्मचारी बताउँछन्।

विराटनगरमा १० प्रतिशत कम
विराटनगरस्थित नागरिक संवाददाता विनोद सुवेदीका अनुसार विराटनगर भन्सार कार्यालयले गत आवमा लक्ष्यको १० प्रतिशत कम राजस्व असुली गरेको छ। सरकारले यो भन्सारलाई ४२ अर्ब ५३ करोड १९ लाख रुपैयाँ असुली लक्ष्य दिएकामा ३८ अर्ब २८ करोड ७३ लाख रुपैया“ संकलन भएको हो।

भन्सारका प्रवक्ता मनिराम पौडेलले भन्सार महसुल, र अन्तःशुल्क लक्ष्य अनुसार नउठे पनि भ्याट लक्ष्यभन्दा बढी उठेको जानकारी दिए। उनका अनुसार गत वर्ष लक्ष्यअनुसार राजस्व असुली गर्न नसके पनि अघिल्लो वर्षको तुलानमा  १६.६५ प्रतिशतले बढी संकलन भएको छ। आर्थिक वर्ष ०७४/७५ मा ३२ अर्ब ८१ करोड २६ लाख रुपैया“ संकलन भएको थियो।

भैरहवामा ८७ प्रतिशत मात्र
बुटवलस्थित नागरिक संवाददाता रेखा भुसालका अनुसार भैरहवा भन्सारले यसपटक राजस्व संकलन लक्ष्य भेट्न सकेको छैन। गत आर्थिक वर्षमा भन्सारले लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा यो भन्सारले ८२ अर्ब ३० करोड ५३ लाख राजस्व संकलन गरेको हो। यो रकम लक्ष्यभन्दा ११ अर्ब ६५ करोड ४५ लाखले कम हो।

भैरहवा भन्सारलाई ९३ अर्ब, ९५ करोड ९८ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य दिइएको थियो। अघिल्लो वर्षको तुलनामा भने यसपालिको असुली १७ प्रतिशत बढी छ। आव २०७४/०७५ मा ७० अर्ब आठ करोड ३७ लाख संकलन भएको थियो।

अघिल्ला वर्षको तुलनामा यो नाकाबाट जिप, कार, भ्यान र क्लिंकरको आयात घटेको छ। आन्तरिक उत्पादन बढेकाले क्लिंकर आयात घटेको हो। भन्सारका सूचना अधिकारी कलिराम पौडेलले सवारी साधन र क्लिंकरको आयात घटदा त्यसको प्रभाव राजस्व असुलीमा देखिएको बताए। अघिल्ला वर्षहरुमा सवारी साधनको आयात जुन गतिमा बढ्यो त्यही अनुपातमा विभागले लक्ष्य धेरै तोकिदिँदा असुली कम देखिएको प्रतिक्रिया पौडेलले दिए ।

रसुवागढीको १११ प्रतिशत
रसुवास्थित नागरिक संवाददाता हिमनाथ देवकोटाका अनुसार रसुवागढी भन्सारले लक्ष्यको एक सय ११ प्रतिशतले राजस्व असुली गरेको छ।

गत आवमा यो भन्सारले १० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको तुलनामा १११.५३ प्रतिशत हो।
गत आवमा यो भन्सारलाई नौ अर्ब ५० करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिइएको थियो। नाकामा आयात–निर्यात बढ्दै जाँदा राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। यो नाकाबाट रेडिमेड सामग्री, इलेक्ट्रोनिक सामग्री र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने सामग्री आयात भइरहेको छ। भन्सारका अनुसार चिनियाँ सहयोगमा विकास निर्माणका लागि आवश्यक सामग्रीसमेत यही नाका हुँदै भित्रिएका छन्।

मेची पनि चुक्यो
दमकबाट नागरिकर्मी युवराज विवशले पठाएको समाचारमा अघिल्लो आव ०७४/७५ मा लक्ष्यको तुलनामा ३.६९ प्रतिशत बिन्दुले बढी राजस्व संकलन गरेको मेची भन्सार कार्यालयले आव ०७५/७६ मा लक्ष्यको ८५ प्रतिशत मात्र असुलेको छ।

भारतबाट आउने कोइला र क्लिंकर तथा बंगलादेशबाट आउने पेय पदार्थमा कमी आउँदा राजस्व संकलन घटेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए।

यसलाई विभागले आव ०७५/७६ मा ११ अर्ब ८२ करोड ६१ लाख लक्ष्य दिएको थियो। कार्यालयले सो अवधिमा १० अर्ब नौ करोड ९५ लाख ७३ हजार रुपैयाँमात्र राजस्व संकलन गरको छ। यो लक्ष्यको तुलनामा १५ प्रतिशत कम हो।

अघिल्लो आवमा भन्सारले नौ अर्ब २० करोड ९१ लाख ४१ रुपैयाँ वार्षिक लक्ष्य पाएकामा नौ अर्ब ७४ करोड तीन लाख असुल गरेको थियो।

कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिंकर तथा बंगलादेशबाट आउने पेय पदार्थले धानेको छ। बंगलालेशबाट आयातित पेय पदार्थ, खाद्य वस्तु तथा कोइला र पेट्रोलियम पदार्थ लगायतले कुल राजस्वको ४०–४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारी बताउँछन्।

चैतदेखि कोइला र क्लिंकर बन्द तथा केही महिनादेखि पेय पदार्थको आयात ठप्प भएकाले कार्यालयको राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परेको भन्सार अधिकारीको भनाइ छ।

विभागले दिएको राजस्व असुलीको वार्षिक लक्ष्य पूरा नहुने भएपछि कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि गस्ती परिचालन गर्नुका साथै चेकजाँचमा समेत कडाइ गरेको थियो।

यसअघि व्यावसायिक रुपमा आयात भएका थोरै मूल्यका सामानको भन्सार गर्ने काम यात्रु शाखाबाट भए पनि त्यसलाई समेत बन्द गरेर सबै खाले काम मुख्य भन्सार कार्यालयबाट गरिएको थियो। तैपनि लक्ष्य पूरा भएन।

यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टा मातहत रहेको भद्रपुर छोटी भन्सार कार्यालयलाई भन्सार बनाइएकाले पनि राजस्व असुली कम भएको भन्सार स्रोतको भनाइ छ।

प्रकाशित: ५ श्रावण २०७६ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App