७ वैशाख २०८१ शुक्रबार
समाज

नारायणीमा ‘क्रुज सिप’ तयार हुँदै

नारायणी नदीकिनारमा सञ्चालन गर्न पूर्वाधार तयार हुँदै गरेको क्रुज।

चितवन - नारायणी नदीमा क्रुज सिप चलाउन निर्माण प्रक्रिया अघि बढाइएको छ। आगामी दसैंअगाडि नै सञ्चालन गर्ने योजनासहित राइनो वाटर इन्टरटेनमेन्ट कम्पनीले सो क्रुज चलाउन लागेको हो। भरतपुर महानगरपालिका–१६ को काभ्रेघाटमा स्टेसन निर्माण गर्ने र क्रुजको पूर्वाधार तयार गर्ने काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए।

ज्ञानेश्वर सामुदायिक वनको जमिनमा क्रुज स्टेसन निर्माण गरी सञ्चालन गर्न २० वर्षको सम्झौता गरिएको छ। दुई वर्ष लगाएर नारायणीमा क्रुज सञ्चालनको सम्भाव्यता अध्ययन गरेपछि मात्र क्रुज निर्माणको काम थालिएको उनले बताए। उनका अनुसार क्रुज सिप निर्माण सुरु गर्नुअघि नारायणी नदीको जलप्रवाहको मापन, प्रकोप चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन गरिसकिएको छ।

क्रुज सिप निर्माण सुरु गर्नुअघि नारायणीको जलप्रवाहको मापन, प्रकोप चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन गरिसकिएको छ।

एक पटकमा करीब दुई सयजनालाई सेवा दिने गरी दुईतलाको क्रुज निर्माण हुँदै छ। क्रुजको एक सय फिट लम्बाइ र २५ फिट चौडाइको हुने प्रबन्ध निर्देशक कँडेलले बताए। ‘हामीले क्रुजलाई तीन सिफ्टमा सञ्चालन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘बिहान ब्रेकफास्ट खाँदै नदीमा सयर गर्न चाहनेले ब्रेक फास्ट क्रुज, अपराह्न खाना खाँदै रमाउन लन्च क्रुज र साँझमा डिनर क्रुज सञ्चालन हुनेछ।’ प्रत्येक पटकको क्रुजको अवधि करीब तीन घण्टाको हुने उनी बताउँछन्।

गत फागुन अन्तिमबाट क्रुजको पूर्वाधार तयार गर्न सुरु गरिएको हो। नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा पानीजहाज निर्माणमा सहभागी भारतीय कम्पनी ग्रान्डडुअर मरिन इन्टरनेसनलले नारायणी किनारमै क्रुज निर्माण गरिरहेको छ। क्रुज निर्माण गरेर सञ्चालन गर्ने तयारीसम्म करीब ३५ करोड रुपैयाँ लागत लाग्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए। क्रुज स्टेसन निर्माण गरिएको क्षेत्रमा नदी नियन्त्रण तथा तटबन्ध गर्न प्रदेश ३ सरकारबाट ९५ लाख रुपैयाँ लिएर तटबन्धको काम भइसकेको छ। नेपालले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरेको छ। पर्यटन वर्षअघि नै सञ्चालनमा आउने क्रुजका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिने उनी बताउँछन्।

प्रकाशित: ५ श्रावण २०७६ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App