६ वैशाख २०८१ बिहीबार
समाज

‘जिल्लामा निलम्बनको जानकारी छैन’

जनकपुर - महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई मठमन्दिरको जग्गा बिक्री गरेको आरोपमा गुठी संस्थानले निलम्बन गरे पनि त्यसको जानकारी जिल्लामा पठाएको छैन। उनलाई निलम्बन गरिएको औपचारिक जानकारी मठमन्दिरमा नदिनुले संस्थानको नेतृत्वमाथि प्रश्न उठेको छ।

निलम्बन गरेको जानकारी नदिनुले संस्थान महन्तलाई कारबाही प्रक्रिया अघि बढ्न नदिई संरक्षण गर्ने प्रयासमा रहेको आशंका सर्वसाधारण्को छ। ‘महन्तजीलाई गुठी संस्थानले निलम्बन गरेको भन्ने सञ्चारमाध्यमबाट थाहा पायौं,’ संस्थानको महोत्तरी शाखाका एक कर्मचारीले नागरिकसँग भने, ‘निलम्बन कहिले र किन गरेको भन्ने जानकारी हामीलाई दिइएको छैन।’

महन्त जगन्नाथलाई पदबाट निलम्बन गरिसकेपछि उनले धनुषा, महोत्तरी, रुपन्देहीलगायत जिल्लामा बेचेको भनिएको जग्गाको विवरण संकलन गर्न सम्बन्धित जिल्ला शाखा कार्यालयलाई निर्देशन गरेको गुठी संस्थानका प्रशासक नारायण चौधरीको दाबी छ। धनुषा र महोत्तरी शाखाका प्रमुख भने जगन्नाथ र मटिहानी मठको जग्गाको विवरण संकलनबारे केन्द्रबाट अहिलेसम्म कुनै निर्देशन नआएको बताउँछन्। गुठी संस्थान धनुषा शाखाका प्रमुख मनोज शर्माले भने, ‘जग्गाको विवरण संकलन गर्नेबारे केही भनिएको छैन।’ महोत्तरी शाखाका प्रमुख कुलदेवी चौधरीले पनि मटियानी मठबारे अहिलेसम्म केन्द्रबाट कुनै जानकारी माग वा निर्देशन नभएको बताए।

मठको जग्गा किनेका नेताहरुले राजनीतिक शक्तिको प्रयोग गरी महन्तलाई जोगाउन दबाब दिइरहेको स्वयं गुठी संस्थानका मिनराज चौधरीले संकेत गरे। ‘जाबो निलम्बन भएकै भरमा ठूलो भुइँचालो आइसकेको छ’, चौधरीले नागरिकसँग भने, ‘तर, तपाई यति विश्वास गर्नुस् कि भगवानको जग्गा बेच्नेलाई छोडिन्न। उनलाई संरक्षण गर्नेलाई पनि नंग्याउँछौं।’

प्रकाशित: ५ श्रावण २०७६ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App