७ वैशाख २०८१ शुक्रबार
राजनीति

उदयपुरमा ४ नगरसहित ८ स्थानीय तह बनाउन सिफारिस

उदयपुर–उदयपुरलाई ४ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति उदयपुर’ को शुक्रबार सम्पन्न अन्तिम बैठकले जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका बनाउने निर्णय गरेको हो ।

साविक त्रियुगा नगरपालिका, पश्चिमको कटारी र बेलटार–बसाहा नगरपालिकालाई केही भूगोल थपेर यथावत राखिने भएको छ । पूर्वी गाविसहरु रामपुर ठोक्शीला, मैनामैनी, बबला र सुुन्दरपुरलाई मिलाएर बेलका नगरपालिका बनाउने प्रस्ताव पारित गरिएको छ । जसको केन्द्र रामपुर ठोक्शीलालाई तोकिएको छ ।

सदरमुकाम रहेको त्रियुगामा दक्षिणी गाविस जोगीदह, उत्तरी गाविसहरु साउने र खाँबु तथा पश्चिमी गाविस चिलाउनेलाई मिलाइएको छ । केन्द्र गाईघाट तोकिएको छ । त्यस्तै पूर्वी बेलटार–बसाहा नगरपालिकामा हडिया, चौदण्डी, सिद्धिपुर र तपेश्वरी गाविसलाई मिलाएर चौदण्डी नगरपालिका प्रस्ताव गरिएको छ । यसको केन्द्र बेलटारलाई नै कायम गर्ने प्रस्ताव गरिएको छ । पश्चिमी गाविसहरु सिरिसे, रिस्कु, लिम्पाटार, सोरुङछविसे, हर्देनी, मयंखु र लेखानी गाविसलाई कटारी नगरपालिकामा थपिएको छ । जसको केन्द्र पनि साविक कटारी बजारलाई तोकिएको छ ।

४ वटा गाउँपालिकाहरुमा जाँते, बलम्ता, बाँसबोटे, ताम्लिछा र बाराहा गाविसलाई मिलाएर बाराहा केन्द्र हुनेगरी कोसी गाउँपालिका प्रस्ताव गरिएको छ । त्यस्तै लाफागाउँ, पोखरी, भुट्टार, आँपटा र रौतालाई मिलाएर भुट्टार केन्द्र रहनेगरी रौतामाई गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावित गाउँपालिकामा उदयपुरगढीमा तावाश्री, पञ्चावती, भलायडाँडा, डुम्रे, बर्रेलाई मिलाएर केन्द्र उदयपुरगढी प्रस्ताव गरिएको छ । रुपाटार, ठानागाउँ, इनामे, लेखगाउँ, ओख्ले र लेखानीलाई मिलाएर रुपाटार केन्द्र हुनेगरी ताप्ली गाउँपालिका प्रस्ताव गरिएको छ ।

तिहारअघि नै सहमति नजिक पुगेको प्राविधिक सहयोग समितिको बैठक निर्णलाई शुक्रबारको सर्वदलीय, सर्वपक्षीय बैठकले अन्तिम रुप दिएको संयोजक तथा स्थानीय विकास अधिकारी गणेश दाहालले बताए । उनका अनुसार सोही बैठकले सबै नगर र गाउँपालिकाको वडा विभाजनसमेत गरेर टुंगो लगाएको छ । ‘आजकै बैठकले स्थानीय तह र वडाको सीमाङ्कनसमेत टुंग्याएको छ’ दाहालले भने ‘रौतामाई गाउपालिकाको विषयमा केन्द्रको विषयमा सामान्य असहमति छ बाँकी सबै कुरा सर्वसम्मत भएको छ ।’ 

रौतामाईको भुट्टार केन्द्र राख्दा छेउ पर्ने भन्दै रौता, पोखरी र आँपटारबासीले असहमति जनाएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार रौता मन्दिरनजिकै पोखरी गाविसको चिसापानीमा केन्द्र राख्दा सबैलाई पायक पर्ने भन्दै उनीहरुले भुट्टार केन्द्रप्रति असहमति जनाएको भए पनि खासै बिबाद नगरी निर्णय टुंग्याइएको छ ।

यसअघिको समितिले राखेको पटक पटकको बैठकमा छलफल भए पनि ९ र ११ वटा स्थानीय तहमा पुनर्संरचना गर्नुपर्ने भन्दै दलहरुले अलग अलग प्रस्ताव गरेपछि ३ वटा खाकासहितको प्रतिबेदन सिफारिस गरेको थियो । ‘गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग’ ले इलालाई आधार मानेर पुनर्संरचना गर्ने पछिल्लो निर्देशन दिएपछि ८ वटा तह बनाउन सर्वदलीय सहमति भएको बैठकमा सहभागी माओबादी इन्चार्ज मोहन खत्रीले बताए ।

प्रकाशित: १९ कार्तिक २०७३ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App