इलाम– यसवर्षको जसुदा स्मृति युवा प्रतिभा पुरस्कार कवयित्री बालिका थपलियालाई प्रदान गरिएको छ। भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले कवयित्री थपलियालाई पुरस्कृत गरेको हो।
शनिबार सदरमुकाममा आयोजित समारोहमा जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेतलगायतले थपलियालाई पुरस्कृत गरे। त्यस अवसरमा पुरस्कृत कवयित्री थपलियाले इलामकी कवयित्री जसुदा खाकीले देखेको सपना पूरा गर्न प्रयास गर्ने बताइन्।
सामाजिक विकृति–विसंगतिविरुद्ध चेत खुलाउनेखालको साहित्य सिर्जना गर्ने थपलियाले आफ्नै बुबाबाट साहित्य क्षेत्रमा लाग्ने प्रेरणा मिलेको सुनाइन्। ‘बुबा कवि हुनुहुन्थ्यो, घरमा साहित्यिकलगायतका धेरै पुस्तकको पुस्तकालयजस्तै भएकाले पनि मलाई साहित्यप्रति रुचि बढ्यो,’ उनले भनिन्, ‘साहित्य सिर्जना मेरो रुचिको क्षेत्र हो।’ इलामको चमैता गाउँमा बसोबास गरिरहेकी थपलिया गाउँमै सामाजिक काममा क्रियाशील छिन्। ‘यसपटक भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले ज्यादै उपयुक्त सर्जकलाई पुरस्कार अर्पण गरेको अनुभूत भएको छ,’ साहित्यकार प्रकाश थाम्सुहाङले भने, ‘कवयित्री बालिका गाउँमा बसेर साहित्य सिर्जना अनवरत लागिरहनुभएको छ।’
समिति अध्यक्ष विमल वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका कवि–कवयित्रीले आफ्ना रचना सुनाएका थिए।
प्रकाशित: ४ श्रावण २०७६ ०९:५२ शनिबार