८ वैशाख २०८१ शनिबार
राजनीति

‘सार्वजनिक जग्गा अतिक्रमण हुन दिन्नौं’

फाइल तस्बिर ।

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन्।

उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गरेका छन्। सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सह्य नहुने उनको भनाइ छ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहँँेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भए पनि त्यसलाई सरकारले कारबाही गरेरै छाड्ने चेतावनी पनि दिए। त्यस अवसरमा उनले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाहरूसँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दाबी गरे। उनले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्षभित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रदेश सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नम्बर ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रदेश पूर्वाक्षेत्र विकास कोषको बजेट पनि काठमाडौं क्षेत्र नम्बर ५ को सम्पदा पुनर्निर्माणको काममा खर्च गर्ने योजना सुनाए।

प्रदेश ३ को सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाहरुको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको उनले बताए।

प्रकाशित: ४ श्रावण २०७६ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App