coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘फुटबल टोली लिन माल्दिभ्स नै पुग्यौं’

काठमाडौं– नेपाल अहिले घरेलु मेदानमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी जुटिरहेको छ। पटक पटक साग आयोजनाको मिति सर्दै यसपटक मंसिर १५ देखि २४ गते गर्ने उद्देश्यका साथ सरकार लागि परिरहे पनि नेपाली खेलकुदकर्मी र समर्थकहरू भने यसपटक हुन्छ भन्नेमा अझै द्विविधामा छन्।

यद्यपि, खेलकुदको उच्च तय समालिरहेका व्यक्तिहरू भने जुनसुकै हालतमा साग आयोजना गरेरै छोड्ने भन्दै तयारीमा लागे पनि आवश्यक भौतिक पूर्वाधारको निर्माणले भने अपेक्षाकृत नतिजा दिन नसक्दा द्धिविधा हुने स्वभाविक पनि हो। नेपाली खेलकुदका लागि समयमै ठूलो प्रतियोगिताका नहुने पहिलो घटना भने होइन। यसअघि पनि यस्ता अवस्था सिर्जना भएका छन्। तर, कुशल व्यवस्थापनका कारण भने कयौं पटक नहुने भनिएका खेल आयोजनाहरूले सम्पन्न पनि भएका उदाहरणहरू छन्।

सन् १९८४ सेम्टेम्बरको पहिलो दक्षिण एसियाली खेलकुद (साग) नेपालमै सम्पन्न भएको थियो। वर्णानुक्रमअनुसार पहिलो संस्करण आयोजनाको प्रस्ताव बंगलादेशलाई गरियो। तर, बंगलादेशले प्रतियोगिता आयोजनामा इच्छा नदेखाएपछि भारतलाई पनि आयोजनाको प्रस्ताव गरिएको थियो। भारतबाट पनि समेत सकारात्मक जवाफ आएन।

त्यससँगै पहिलो संस्करणकै साग आयोजना हुने नहुने र यसको भविष्य नै संकटमा पर्ने देखिएपछि  अन्तत् नेपालले नै आयोजनाको जिम्मेवारी लियो। तर, प्रतियोगिता आयोजनाका लागि नेपालसँग पर्याप्त संरचना थिएन, तर पनि सम्मन्न भए। नेपालसाग एउटा मात्र रंगशाला थियो। यद्यपि, पुलिस र आर्मीको मैदानमा समेत खेलहरू आयोजना भएका थिए।
पहिलो संस्करणको सागमा फुटबल, एथ्लेटिक्स, पौडी, बक्सिङ र भारोत्तोलन गरि ५ खेललाई समावेश गरिएको थियो। फुटबलतर्पm कम्तीमा ४ वटा टोली नपुग्ने भएपछि नेपाली प्रतिनिधि माल्दिभ्सको टोलीलाई जसरी पनि सागमा सहभागी गराउने लक्ष्यका साथ त्यतर्फ प्रस्थान गरेका थिए। जसको नेतृत्व तत्कालीन अखिल नेपाल फुटबल संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य कमल थापाले गरे।

थापा र तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य दीपक बोहोराले माल्दिभ्सको राष्ट्रपतिर्ला मनाउँदै नेपालले नै प्रतियोगिताको लागि सम्पुर्ण खर्च व्यहोर्ने सर्तमा टोलीलाई नेपाल ल्याउन सफल भए। उनै कमल थापाले खेलाडी जीवनका साथै कुशल व्यवस्थापनबाटै पनि राजनीतिमा उचाइ बनाए। सधैं चर्चामा रहिरहने थापा राजनीति जीवनमा पनि कहिले आक्रामक तथा कहिले रक्षात्मक भूमिकामा बसिरहे।

राजनीतिमा उनले गर्ने गरेको त्यो शैली खेल जीवनको पनि प्रभाव हो। फुटबलबाटै नेपाली खेलकुदको व्यवस्थापन जोडिएका थापा पाका उमेर पनि टेनिस सक्रिय बन्दै नेपाली राजनीतिज्ञका लागि पनि उदाहरण बनिरहेका छन्। नेपाली भेट्रान्स टेनिसतर्पm सफल खेलाडी थापाले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सफल हुँदै आएका छन्।
उनले भारत, भुटान र थाइल्यान्डमा गएर विभिन्न प्रतियोगितामा समेत पदक जितिरहेका छन्। जुन निकै व्यस्तताका बावजुद पनि इच्छाशक्ति भएमा समय व्यवस्थापन कठिन छैन भन्नेको राम्रो उदाहरण पनि हो।

खेलाडी जीवन

कुनै जमानाका फुटबलका सफल रक्षक थापाको राजनीतिसँगै खेलकुदमा पनि गहिरो नाता छ। उनी नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष हुन्। यद्यपि, उनको कप्तानीमा नेपाली राष्ट्रिय टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्ने अवसर नपाउँदा उनको फुटबल करियरले पनि आशाअनुरूप सफलता पाउन सकेन।

हेटौंडामा सानै उमेरदेखि फुटबल खेलेका थापाको खेल जीवनले अमृत साइन्स क्याम्पसमा पढ्न थाल्दा उचाइ लियो। कलेज जीवनमा हरेक खेलका प्रतियोगितामा भाग लिएर सफल प्रदर्शन गर्ने उनले तत्कालीन नारायणी अञ्चलबाट राष्ट्रिय प्रतियोगिता पनि जिते। क्लब फुटबलमा तत्कालीन महारथी संकटाको जर्सी लगाएर उनले सहिद स्मारक लिगका साथै त्रिभुवन च्यालेञ्ज सिल्डलगायत थुप्रै प्रतिष्ठित प्रतियोगिताको उपाधि जिते।

संकटाबाट करिब तीन वर्ष खेलेपछि सन् १९७९ मा सन्यास लिएर उनले लगातार आठ वर्ष एन्फा अध्यक्षको पद सम्हाले। एन्फा अध्यक्ष र राखेप बोर्ड सदस्यका रूपमा आफूले गरेका कामप्रति उनलाई अझै गर्व लाग्ने गर्दछ। ‘एन्फालाई संस्थागत रूपमा विकास गर्ने काम गरें। जिल्लाजिल्लामा संगठन विस्तार पनि गरें,’ थापाले भने,‘स्थगित प्रतियोगिताहरू संचालन गर्ने तथा रोकिएका अन्तर्राष्ट्रिय सहभागिता पनि मेरै पालामा भए। सधैं घाटामा जाने सहिद स्मारक लिगलाई हामीले पहिलो पटक नाफामा लगेका थियौं। विदेशी प्रशिक्षकसमेत ल्याएर स्तरीय प्रशिक्षणको व्यवस्था ग-यौं।’

नेपालमै भएको पहिलो सागमा फुटबल, एथ्लेटिक्स, पौडी, बक्सिङ र भारोत्तोलन गरि ५ खेललाई समावेश गरिएको थियो। तर, फुटबलमा कम्तीमा ४ वटा टोली नपुग्ने आशंका बढेसँगै समस्यामा परेको नेपाली टोली माल्दिभ्सलाई जसरी पनि सहभागी गराउन त्यसतर्फ प्रस्थान गरेको थियो। जसको नेतृत्व तत्कालीन अखिल नेपाल फुटबल संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य कमल थापाले माल्दिभ्सको राष्ट्रपतिलाई मनाउँदै अन्तत् माल्दिभ्स टोलीलाई ल्याउन सफल भए।

वि.सं.२०४५ फागुन २९ गते त्रिभुवन च्यालेन्ज शिल्डको फाइनलमा हावाहुरी चलेर दर्शकबीच भागदौड हुँदा ८६ जना समर्थकको ज्यान गएपछि उनले नैतिकताको आधारमा अध्यक्ष पदबाट राजीनामा दिएका थिए। ‘त्यो नितान्त एउटा प्राकृतिक दुर्घटना थियो। त्यसमा एन्फाको कुनै हात हुने कुरै थिएन, तर त्यो भयानक दुर्घटनापछि मलाई मेरो नैतिकताले पदमा बसिरहन दिएन,’थापाले स्मरण गरे।

एन्फामा अध्यक्ष हँुदाकै बखत उनले सन् १९८२ देखि लगातार दुई कार्यकाल एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमितिमा निर्वाचित सदस्यका रूपमा पनि काम गरे। राष्ट्रिय खेलकुद परिषद्मा वि.सं. २०३४ देखि लगातार सदस्य रहेका उनले नेपाल ओलम्पिक कमिटीमा पनि सन् १९८४ देखि १९८८ सम्म महासचिवका रूपमा काम गरेका थिए।

‘हामीले परिषद्मा आउनेबित्तिकै राष्ट्रिय खेलकुद, अन्तर नगर खेलकुदजस्ता महत्वाकांक्षी प्रतियोगिता सुरु ग-यौं। ७५ जिल्लामा कभर्डहल निर्माण भए। अहिले नयाँ भौतिक पूर्वाधार निर्माण गर्ने काम त भएकै छैन। पहिला बनाएका कभर्डहलको संरक्षणसमेत राम्ररी भएका छैनन्। पछिल्ला दुई दशकमा खेलकुद परिषद्मा तीव्र राजनीतिकरण बढिरहेको छ,’ थापाले भने, ‘खेलकुद राजनीतिक भर्ती केन्द्रका रूपमा मात्र सीमित भएका छन्।’ त्यसैले पनि आफू राखेपमा हुँदाको अवधिलाई उनी नेपाली खेलकुदको स्वर्णिम युग दाबी गर्दछन्।

‘दुर्भाग्यवश हाम्रोमा खेलकुदलाई राज्यले प्राथमिकतामा राख्न सकिरहेको छैन। र, लगानी पनि अत्यन्तै कम भएका छन्। तर, पहिलेको तुलनामा अहिले लगानी बढेको छ,’परिषद्मा पहिलो पटक सदस्य हुँदा खेलकुदको कुल बजेट ६ लाख रुपैयाँ भएको स्मरण गर्दै थापाले भने, ‘हामीहरू त्यहाँ रहँदा खेलकुदको बजेट ६ करोड बनायाैं। त्यसबाट पनि खेलकुद प्रतियोगिता तथा भौतिक पूर्वाधार निर्माणका कामहरु भएका नै थिए।’

‘अहिले लगानी त भएको छ, तर त्यसको ठीक ढंगबाट सदुपयोग भए वा नभएको पनि राज्यले हेर्दैन,’ थापाले भने। ‘राज्यले गरेको करोडौं लगानी कर्मचारी र प्रशिक्षकहरूको तलब भत्ता, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको सहभागितामा साथै यहाँ आयोजना हुने केही प्रतियोगितामा खर्च हुनुबाहेक खेलकुदको योजनाबद्ध विकासमा खर्च हुन पाएका छैनन्।’
पञ्चायतको पालामा पनि खेलकुद र खेलकुद परिषद्मा राजनीतिकरण गरियो भन्ने आरोप लाग्ने गरे पनि त्यो निराधार भएको थापाले बताए। ‘त्यतिबेला म राजनीतिक नियुक्ति लिएर खेलकुदमा गएको थिइन्। मेरो आफ्नै खेलकुदको पृष्ठभूमिको कारण परिषद्मा पुगेको थिएँ,’थापाले भने, ‘तर अहिले परिषद् गठन हुँदा पूरा भागबण्डामा हुन्छ। खेलकुद  नबुझेका र सामान्य जानकारीसमेत नभएका मानिस त्यहाँ प्रमुख जिम्मेवारीमा छन्। कसरी सुखद भविष्यको कल्पना गर्ने?’ उनले निराशा पोखे।

थापाले हामीसँग भएको एउटै रंगशाला पनि खेलकुदका लागि भन्दा शोकसभा, राजनीतिक आमसभा, धार्मिक सभा, विश्वविद्यालयका कार्यक्रमका लागि प्रयोग भैरहनु निकै दुःखलाग्दो बताएको बताइ। थापाले आफू सदस्य हँुदा साग, एसियाडलगायत अन्तर्राष्ट्रिय प्रतियोगिता अघि सबै खेलको सम्भाव्यता अध्ययन गरी सबैभन्दा बढी सम्भावना बोकेको खेललाई विशेष महŒव दिने गरेको योजना सुनाए।

‘गहन अध्ययन गरेर मात्र कुन खेललाई कति महत्व दिनेजस्ता निर्णय लिन्थ्याैं। हामीले बक्सिङ र म्याराथनजस्ता व्यक्तिगत इभेन्टमा नेपालको सम्भावना बढी देख्थ्यौं। त्यहीअनुसार तयारी गर्दा सन् १९८६ को एसियाली खेलकुदमा नेपालले बक्सिङमा मात्र ४ पदक जित्यो,’ उनले भने, ‘तर हाल परिस्थिति निकै दयनीय बनिसकेको छ।’

फुटबलमा बुट थन्क्याएपछि थापाले केही समय स्क्वासको -याकेट पनि समाते। सन् १९८१ देखि उनले स्क्वास खेल्न थालेका थिए। सुरु गरेको केही वर्षमै उनी राष्ट्रिय स्तरका खुला प्रतियोगितामा सेमिफाइनलसम्मको यात्रा तय गर्न भए। राजनीतिक जीवनमा व्यस्त हुँदा पनि लगावको अर्को पाटोको रूपमा अँगालिरहेको टेनिस भने उनले सन् १९८८ मा परराष्ट्रमन्त्री हुँदा खेल्न सुरु गरेका थिए। नेपालस्थित विदेशी राजदुतहरू टेनिस खेल्ने भएकाले उनले सम्बन्ध सुधार गर्न टेनिसलाई रणनीतिका रूपमा उपयोग गरेका थिए। अन्य विधाका खेलाडी भएको कारण उनलाई टेनिसमा जम्न खासै समय लागेन।

‘फुटबल र स्क्वास खेल्ने भएकाले मलाई टेनिसमा पिकअप निकै सहज भयो। राजनीतिक व्यस्तताका बावजुद पनि सम्भव भएसम्म हरेक दिन बिहान नियमित रूपमा एकदेखि डेढ घन्टासम्म टेनिस खेलमा खर्चेकै कारण हालसम्म फिट छु,’ थापाले भने, ‘टेनिसमा लागेको एक वर्षमै मैले भेट्रान्सतर्फ प्रथम स्थान हात पार्न सफल भएँ। त्यसपछि अहिलेसम्म टेनिसमै सक्रिय छु।’ नेपालमा आयोजना हुने भेट्रान्सतर्फ प्रतियोगिताहरू नछुटाउने गरेको थापाको भनाई छ।

खेलकुद मन्त्रालयको नेतृत्व नसम्हाल्नु बाध्यता

विद्यार्थी कालका तिक्ष्ण थापा वि.सं.२०२५ सालमा १३ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी दाजु नेत्रबहादुरसँगै इन्जिनियर बन्ने लक्ष्यका साथ काठमाडौं आएका थिए। त्यसपछि अमृत साइन्स क्याम्पसमा पढ्दै गर्दा खेलकुदका क्रियाकलापले उनलाई कलेज राजनीतिमा प्रवेश गरायो।

कलेज भर्ना भएको दुई वर्ष नबित्दै राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका उनले पछि दुवै दाजुभाइ एउटै पेसामा नलाग्ने निधो गरेर डाक्टर बन्ने लक्ष्य लिएर फेरि पढाइ सुरु गरे। त्यतिखेर एक वर्ष दोहो-याउँदा एकीकृत नेकपा माओवादीका पूर्वनेता बाबुराम भट्टराई र वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका सहपाठी बने।

‘म राम्रो विद्यार्थी थिए। डाक्टर हुने लक्ष्य थियो। बाबुराम भट्टराई र उपेन्द्र देवकोटा मेरा सहपाठी हुन्। खेलकुदले पनि मलाई यहाँसम्म ल्याउन मद्दत ग-यो।’ पञ्चायत, शाही काल र गणतन्त्र स्थापनापछिको समयमा पनि सरकारको जिम्मेवारी लिएका थापा हाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षसमेत हुन्।

खेल पृष्ठभूमिबाट आएकोले आफू अन्य राजनीतिज्ञको तुलनामा ‘स्पोर्ट्सम्यानसिप स्पिरिट’ भएको उनी दाबी गर्छन्। विभिन्न खेलका खेलाडी तथा खेलकुदका संघसंस्थाको प्रशासक भइसकेका थापा थुप्रै पटक सरकारको शक्तिशाली मन्त्री हुँदासमेत खेलकुदका लागि भने योगदान गर्नबाट भने चुके। उनी सरकारमा रहँदा कहिल्यै खेलकुदलाई केही दिने काम भने गरेनन्।

‘मैले सरकारमा रहँदा खेलकुदलाई प्राथमिकता दिन र उल्लेखनीय केही गर्न सकिनँ। त्यो मेरो बाध्यता थियो,’थापाले पटकपटक सरकारमा जाँदाको क्षण सम्झँदै भने, ‘सरकारमा सहभागी हुँदा पार्टीको नेतृत्व गर्दै जान्थे। अझै भन्नुपर्दा खासमा मसँग खेलकुदका लागि कसैले त्यस्तो प्रस्ताव पनि ल्याएनन्। म आफैंले पनि ध्यान दिन सकिनँ।’

प्रकाशित: ४ श्रावण २०७६ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App