८ वैशाख २०८१ शनिबार
अन्य

बेलायत अनुभव

काठमाडौ आएपछि पुस्तक  पढ्ने बानी लागेको छ। पढेको विषयलाई लेखिन्छ। यही मेसोमा भावेश भुमरी अर्थात् जुद्धबहादुर पुनमगरको नियात्रा ‘भिसाको रङ’ पढ्ने मौका मिल्यो। अनामनगरको फुपूको ग्रीन टि हाउसमा चिया पिउदै गर्दा इलामका गीतकार एवं रेडियोकर्मी तुलसी बस्नेतले यो पुस्तक उपहार दिए। ‘पढ्नुस्’ भन्दै दिएको यो नियात्रा संग्रह मैले पनि पढेंं। पुस्तकमा लेखकको अढाई महिनाको बेलायत भ्रमण र उनका अनुभूति समेटिएको छ। पुस्तकमा हरेक दिन कसरी बिते भनेर मात्र छैन। बेलायतको यात्रामा पाउने दुःख, इमिग्रेसनमा नेपालीलाई गर्ने व्यवहार, बेलायतमा नेपाली भाषा, संस्कृति र साहित्यप्रतिको मोह र बेलायतको महत्वपूर्ण विषयमा जानकारी समेटिएको छ।

३५ शीर्षकमा अढाई महिनाको यात्रालाई इतिवृतान्त प्रस्तुत गर्नु आफैमा मुस्किल काम हो। तर, भावेशले ती हरेक दिनका घटनालाई कुनै काल्पनिक कथा जसरी उनेका छन्। बेलायतमा नेपाली साहित्यमा संघर्ष गरिरहेका स्रष्टालाई दिएको सम्मान र बेलायतमा बस्ने नेपालीहरूले कला, संस्कृति र साहित्यका लागि गरेको कामको जानकारीले राष्ट्र र राष्ट्रियताप्रति एकताको भाव झल्काउँछ।

गीतकार भावेश भुमरीले अढाई महिनाको बेलायत यात्रा समेटेर पुस्तक लेखेका हुन्।

बेलायतमा बसेर नेपाली संस्कृतिलाई भुलेका छैनन्। बेलायतमा मनाउने मगर संस्कतिको भूमे पर्व होस् या साकेला होस्। यी सबै संस्कार र संस्कृतिप्रति बेलायती नेपाली सचेत रहेको देखाउँछ। पुस्तकको ४५ औं पृष्ठमा ईखमान पुनले रक्सी पिउनुभन्दा अगाडि गिलासको रक्सीमा पात चोबेर छर्किंदै कूल र पितृका नाममा चढाएको विषयले नेपाली संस्कृतिको झल्को दिन्छ। यसरी चढाउने मगर र किरात संस्कार हो। बेलायतमा बसेर खोटाङ, तनहुँ समाजको कार्यक्रम, आफ्नै गीत र कविताको ‘भवेश भुमरी’ एकल प्रस्तुति साँझ, विश्व साहित्य महासंघको गीत लेखन गोष्ठी र दोस्रो विश्व नेपाली साहित्य सम्मेलन लगायत कार्यक्रमको जानकारी समेत पुस्तकमा छ।

यसका साथै बेलायतको क्यान्टवरी कथिड्रल, मेडस्टोन टाउनपार्क, अक्सफोर्ड संग्रहालय, साहित्यकार चाल्र्स डिकेन्स पढेको स्कुल र बसेको घर, समुद्री किनारको रोमान्स, ब्लुम्सबरीको विट्रीस म्युजियम, डार्विन सेन्टर अर्थात् विज्ञान संग्रहालय, शेक्सपियरको जन्मघर, मेडस्टोन लिड्स क्यासल, डोभर क्यासल, थेम्सरिभरको टावर अफ लण्डन लगायतका विषयमा समेत पुस्तकमा जानकारी पाइन्छ।

प्रकाशित: ४ श्रावण २०७६ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App