coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डन्डिफोरले अनुहार बिगार्ला है !

आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ डन्डिफोर । यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ । डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ । तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ ।

चिकित्सकका अनुसार डन्डिफोर दुई प्रकारका हुन्छन् । पहिलो साझा डन्डिफोर अर्थात् उमेरको कारणले आउने, दोस्रो उमेरपछि पनि आउने । पहिलो डन्डिफोर युवा उमेरमा शरीरमा उत्पन्न हुने एन्ड्रोजन जातको हर्मोनको कारणले देखिन्छ । यो हर्मोन केटाकेटी युवा उमेरमा प्रवेश गर्दा बढी उत्पन्न हुने भएकाले डन्डिफोर किशोर तथा युवाअवस्थामा बढी देखिन्छ । उमेरका कारणले आउने डन्डिफोर प्रायः २५ वर्ष कटेपछि आफैं हराएर जान्छ । वंशाणुगत रूपमै डन्डिफोर आउने समस्या भएको अवस्थामा सामान्य व्यक्तिमा भन्दा बढी आउँछ । त्यसैगरी व्यक्तिको छालाको प्रकारमा पनि कति डन्डिफोर आउने भन्ने कुरा भर पर्छ । छाला बढी चिल्लो खाले भए कडा खालको डन्डिफोर आउने र पाक्नेसमेत हुन्छ ।

सामान्य डन्डिफोरलाई नियन्त्रणमा राख्न दिनको दुईपटक फेसवासले अनुहार धुने, चिनी, मैदा तथा आलु, भात, तेलजस्ता खाने कुरा कम खाने र पानी बढी पिउने गर्नुपर्छ ।

दोस्रो उमेर कटेपछि पनि आउने डन्डिफोर हो । यो खालको डन्डिफोर २५ वर्ष कटिसकेपछि जुनसुकै उमेरमा पनि आउँछ । अन्य रोगका लागि प्रयोग भएका खास औषधि, चाया÷पोतो हटाउन प्रयोग गरिने औषधि, हर्मोनको औषधि प्रयोग गरेमा, कुनै प्रयोग गरिरहेको क्रिम नफापेमा, महिलाको अण्डाशयले राम्रोसित काम नगरेमा यो प्रकारको डन्डिफोर आउँछ । चाया÷पोतो हटाउने मलम सिरोइट तथा केही अन्य मलम लगाउँदा छालाको रौंको जरा ब्लक हुन्छ र डन्डिफोर देखा पर्छ ।

डन्डिफोरको उपचार
किशोर अवस्थामा आउने डन्डिफोरका लागि खास उपचार आवश्यक पर्दैन । तर आवश्यकताभन्दा बढी भए चिकित्सकको सल्लाहमा उपचार गर्नु उचित हुन्छ । सामान्य डन्डिफोरलाई नियन्त्रणमा राख्न दिनको दुईपटक फेसवासले अनुहार धुने, चिनी, मैदा तथा आलु, भात, तेलजस्ता खाने कुरा कम खाने र पानी बढी पिउने गर्नुपर्छ । चिनी बढी भएका खानाले रगतमा चिनीको मात्रा बढाउँछन् र डन्डिफोर बढ्ने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा. लैला लामा बताउँछिन् । ‘मैदाबाट बनेका खाना, आलु, भात र चिनीबाट बनेका परिकार कम खानुपर्छ, यसले गर्दा डन्डिफोर फैलिन पाउँदैन,’ डा. लामाले भनिन् ।

दोस्रो प्रकारको डन्डिफोरको उपचारका लागि भने बिरामी आफैंले पहिचान गर्न सक्दैनन् । यसका लागि कुन कारणले आएको भन्ने पत्ता लगाउनुपर्छ । यो पत्ता लगाउने काम छाला रोग विशेषज्ञले मात्र सक्ने भएकाले उमेरपछि पनि डन्डिफोर आइराखे छालारोग विशेषज्ञसँग सल्लाह लिन आवश्यक छ । कुनै पनि डन्डिफोर आएमा निचोर्ने तथा चलाउने गर्न नहुने चिकित्सक सुझाउँछन् । यसो गरे छालामा दाग बस्छ र अनुहारको सुन्दरतामा कमी आउँछ ।

प्रकाशित: ४ श्रावण २०७६ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App