विकटताको नाममा मनपरी

आइतबार, ०५ साउन २०७६, ०७ : १५ नागरिक

कमल खत्री/विष्णु देवकोटा
डोल्पा - काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली। रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय ग¥यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी।
‘गाडी चढेर डोल्पा आउनु भनेको ज्यान जोखिममा हालेर ठगिन आउनु रहेछ,’ सागरले भने, ‘गाडी चालकले मनपरी भाडा उठाउँछन्। भौगोलक रूपमा विकट त्यस्तो ठाउँमा उमेर नपुगेका केटाहरूले डरमर्दो पाराले गाडी कुदाउँछन्। प्रहरीले कुनै रोकटोक गर्दैन।’

जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्मको ९० किलोमिटर यात्रा गर्दा एउटा यात्रुले दुई हजार पाँच सयसम्म तिर्नुपर्छ। होटल र यात्राको खर्चलाई जोड्दा हवाइ सेवाभन्दा महँगो पर्ने गुनासो गर्दै थिए अधिकारी। आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने झन्झटले यात्रा अझ दुःखदायी बनाएको अनुभव थियो उनको।

प्राकृतिक सुन्दरताले वैभवशाली डोल्पा भौगोलिक हिसाबले भने विकट छ। डोल्पाको यही भौगोलिक विकटतालाई त्यहाँ बसेर व्यापार–व्यवसाय सञ्चालन गर्नेहरूले ‘कमाइ खाने भाँडो’ बनाएका छन्।

सरकारले नेपालगन्जबाट डोल्पासम्म सडक सञ्जाल विस्तार गरे पनि बाटोमा बनिरहेको पुलका कारण यात्रीहरूले सास्ती भोगिरहेका छन्। तल्लुबाट डोल्पासम्म पुग्न अहिले सात ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ। प्रत्येक ठाउँमा गाडी परिवर्तन गर्दा चालकले मनपरी भाडा लिने गर्छन्। डोल्पा घुम्न गएका देवेन्द्रले आफ्नो टोलीका एउटा सदस्यले रुकुम पश्चिमको राडीज्युलादेखि तल्लुसम्म चार सय, तल्लुदेखि करपगारसम्म ६ सय, करपगारदेखि खदाङसम्म दुई सय, खदाङ देखि त्रिपुराकोटसम्म चार सय, सुलिगारदेखि जुफालसम्म चार सय भाडा तिरेको बताए। ‘भौगोलक विकटता छ। गाडी चलाउन सहज छैन। तर विकटता छ भन्दैमा यसको फाइदा उठाउँदै मनपरी व्यापार गर्न पाइँदैन,’ विकटताका नाममा ठगी भइरहेको गुनासो गर्दै देवेन्द्रले भने, ‘गाडी कसले चढ्छ ? निम्न वर्गले गाडी चढ्छन्। तर यहाँ त विकटताको नाममा व्यापार गरिरहेका छन् केही व्यापारीले। यसमा सरकारले ध्यान दिएको छैन।’

गत वर्षसम्म डोल्पा पुग्न हवाइ सुविधाको विकल्प थिएन। यस वर्ष नेपाली सेनाले ट्र्याक खनेपछि सडक सञ्जालसँग जोडिएको हो डोल्पा। तर डोल्पाको सडक सञ्जालमा सर्वसाधरणबाट महँगो भाडा असुल्ने गरिएको छ। जिल्ला बाहिरबाट आउने यात्री मात्र होइन। स्थानीय पनि महँगो भाडा तिरेर यात्रा गर्न बाध्य छन्।

घर आँगनबाटै गाडी चढेर नेपालगन्ज पुगिन्छ भन्ने सुनेर त्रिपरासुन्दरी नगरपालिका–१ की सुस्मिता श्रेष्ठ खुसी थिइन्। घर छेउबाट गाडी चडेर नेपालगन्ज पुग्ने उनको सपना थियो। सुस्मिताले डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि आफ्नो सपना पनि पूरा हुने सोचेकी थिइन। गत महिना हवाइ टिकट रद्द गरेर गाडीबाटै पहिलोपटक नेपालगन्ज जाने निधो गरिन्। नेपालगन्जको लागि उनले त्रिपुरासुन्दरी नगरपालिका–१, छलगाडबाट आफ्नो सामान राखेर जिपबाट यात्रा सुरु गरिन्।

जिपको यात्रा गरेको दुई घण्टापछि खदाङ पुगेपछि खलासीले तपाईको यात्रा सकियो झर्नुहोस् भने। पुलपारि अर्को जिप लागेको छ त्यसमा जानुहोस् भनेपछि उनलाई भएभरको सामान बोकेर पुलपाारि जान हम्मेहम्मे भयो। दुई दिनमै नेपालगन्ज पुगिन्छ भन्ने सुनेकी उनी जिप सञ्चालक र जाजरकोट–नेपालगन्ज सञ्चालन हुने ठूला बसहरूले यात्रुहरूको मर्का नबुझेर मनपरी गर्नाले तीन दिनपछि थकाइपूर्ण यात्रा गरेर बल्लतल्ल नेपालगन्ज पुगिन्। नेपालगन्ज जाँदा ६ ठाउँमा जिपहरू फेर्नुप¥यो। सामान बोक्नुपर्ने झमेलाले उनलाई किन हवाइ टिकट रद्द गरेंछु भन्ने कुराले बाटोभरि खुटखुट लाागिरह्यो।

त्रिपुरासुन्दरी नगरपालिका–४, रंगका श्रीकर्ण बोहरा डोल्पादेखि नेपालगन्ज पुग्न सास्तीपूर्ण यात्रा गर्नुपरेको बाध्यता सुनाउँछन्। प्राकृतिक सुन्दरताले वैभवशाली डोल्पा भौगोलिक हिसाबले भने विकट छ। भौगोलिक विकटताले गर्दा यहाँका बासिन्दा सुलभ स्वास्थ्य सेवा, दैनिक उपभोग्य वस्तु र सुलभ यातायातको अभावमा महँगो जीवनशैली बिताउन बाध्य छन्। डोल्पाको यही भौगोलिक विकटतालाई भने त्यहाँ बसेर व्यापार–व्यवसाय सञ्चालन गर्नेहरूले ‘कमाइ खाने भाँडो’ बनाएका छन्।

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला डोल्पा २०७५ मंसिर ४ गते राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। जाजरकोटदेखि डोल्पा सदरमुकाम दुनैसम्म ट्र्याक खुलेर सडक सञ्जालमा जोडिएपछि जाजरकोट–डोल्पा सडकखण्डमा तीन दर्जन जिपहरू सञ्चालनमा छन्। सडक जोडिएर यातायात सुलभ र सस्तो होला भन्ने आशा गरेका डोल्पाली जिपहरूले विकटताको बहाना बनाएर मनपरी चर्को भाडा असुल्न थालेपछि डोल्पाली र डोल्पा आउने जो कोही आजित र क्षुब्ध हुने गरेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका–१ का लोकमान श्रेष्ठले सुरुमा बाटो बनेपछि सस्तो र सुलभ यात्रा गर्न पाइन्छ कि भन्ने लागेको तर मनपरि भाडा र अभद्र व्यवहारले गर्दा सडक यातायातमा झनै दुःख पाइने गरेको बताए। उनले भने, ‘पाँचजनाको सिट क्षमता हुन्छ २५ देखि ३० जनासम्म यात्रु कोचेर कष्टपूर्ण यात्रा गराउँदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन।’ थोत्रा गाडी र अल्लारे उमेरका केटाहरूले चलाउने गरेका मापदण्डविपरीतका जिपले गर्दा सडक दुर्घटना पनि बढ्दो क्रममा हुने गरेको छ। पछिल्लो समय जाजरकोट–डोल्पा सडकखण्डमा ट्राफिक व्यवस्था गरिए पनि फितलो उपस्थिति र मिलोमतोमा ट्राफिकले प्रभावकारी नियमनको काम नगरेका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको ठूलीभेरी नगरपालिका–७ का अमरसिं कठायतले बताए।

उक्त सडकखण्डमा जिप सञ्चालन गर्दै आएका मनराज बोहरा भर्खरै ट्र्याक खोलिएको सडक भएकाले बाटो राम्रो नभएको र लाखौं हालेर किनिएको जिपको मूल्य उठाउन र अप्ठेरो मोडका कारण इन्धनको ढुवानी कठिनाइलगायतले पनि भाडा अलि महँगो हुनु स्वभाविक भएको बताउँछन्। अर्का जिप चालक देवराज शाही पहिला–पहिला बाटोमा जिप हाल्नेले मनपरी चर्को भाडा असुलेर एकै वर्षमा जिपको लगानी उठाउने गरेको भए पनि आजकल धेरै जिपहरू भएकाले लगानी उठ्न पनि समस्या रहेको बताए।

अस्थायी जिल्ला ट्राफिक कार्यालय डोल्पाका इन्चार्ज सई दीपेन्द्र केसी जिल्लामा भर्खरै कार्यालय स्थापना गरिएको र जनशक्ति पनि कम भएकाले सबै ठाउँमा पुग्न सक्ने अवस्था नरहेको बताउँछन्। स्थानीय तहका जनप्रतिनिधिसमेतको उपस्थितिमा जिपहरूको भाडादर तोकिएकाले त्यसमा आफूहरूको कुनै भूमिका नरहने उनले बताए।

बढ्दै दुर्घटना, २६ को मृत्यु
जिल्ला प्रहरी कार्यालयका अनुसार डोल्पामा २०६९ देखि आन्तरिक रूपमा जिपहरू सञ्चालनमा ल्याइएदेखि हालसम्म ६ पटक सडक दुर्घटना भएको र सबैभन्दा ठूलो घटना २०७५ कात्तिक १९ गते कालागौडामा भएको थियो। कालागौडा सडक–खण्डबाट भेरी नदीमा जिप खस्दा ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म विभिन्न स्थानमा गरेर जाजरकोट–डाल्पा सडकखण्डमा सवारी दुर्घटनामा परी २६ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अवधेष विष्टले बताए।

यसैगरी, डोल्पामा भौगोलिक विकटताकै नाममा ढुवानी समस्या देखाउँदै व्यापारीले एक पोका वाइवाई चाउचाउको मूल्य ५० रूपैयाँ, एक पोका धारा तेलको एक सय ५० रूपैयाँ, २५ केजी जिरा चामलको २६ सय रूपैयाँ र एक केजी चिनीको एक सय ५० रूपैयाँ असुल गर्दै आएका छन्। सडक सञ्जालमा जोडिए पनि जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने भेरी नदीमाथिका विभिन्न १३ स्थानमा मोटरेवल पुल नबनेकाले सिधा यायात नहुँदा विभिन्न सास्ती खेप्नु परिरहेको त्रिपुरासुन्दरी नगरपालिका–२ का टोपबहादुर शाही बताउँछन्।

विकासको पूर्वाधार सडक पहिलो मानिए पनि स्थानीय केही होटल व्यवसायी भने यातायातको सहज पहुँच हुनुपर्ने कुराको विपक्षमा देखिन्छन्। सडक पुगेमा आफूहरूको कमाइ घट्ने र पर्यटकहरू गाउँमा नबस्ने भएकाले सडक गाउँसम्म पु¥याउनु आवश्यक नरहेको बताउँछन् फोक्सुन्डो तालनजिकको रिग्मो गाउँस्थित लामा होटलका सञ्चालक छेवाङ लामा। उनले अहिले गाउँसम्म मोटर नपुगेकाले पर्यटकहरू गाउँमै बस्ने गरेको र खानपान पनि आफूहरू कहाँ हुने भएकाले आम्दानी हुने गरेकोमा तालसम्म बाटो पुगेमा पर्यटकहरू एकैछिनमा पुगेर फर्कने भएकाले आफूहरूको राजीरोटी गुम्ने लामाको भनाइ छ।

१३ पुल बन्न बाँकी
ट्रयाक खुले पनि डोल्पा–जाजरकोट सडकखण्डमा भेरी नदी र विभिन्न खोलामा साना–ठूला गरी १३ वटा मोटरेवल पुल बन्न बाँकी छ। नेपालगन्ज–डोल्पासम्मको सिधा यातायात सञ्चालन गर्न रुकुम पश्चिमको राडीज्युलामा पर्ने भेरी नदी, जाजरकोटको दल्लीस्थित नलगाड, जाजरकोटकै तल्लुबगरस्थित भेरी नदी, करवगाड खोला, खदाङस्थित हरियापानी, चुँगाड खोला र छलगाड खोलामा पुल छैन।

यसैगरी डोल्पामा पर्ने त्रिपुरासुन्दरी नगरपालिका–१, गल्लीगाड र भेरी नदी र ठूलीभेरी नगरपालिका–८, रुपगाड खोलासहित पाँच ठूला र आठ साना गरी १३ वटा पुल निमार्ण गर्नु पर्नेछ। जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने रिम्ना र चिसापानीमा भने पुल निर्माण भइसकेका छन्। भेरी करिडोर नाम दिइएको जाजरकोट–डोल्पा सडक उत्तरी सीमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणी नाका बाँकेको जमुनाहा जोड्ने त्रिदेशीय रणनीतिक महत्वको सडक मानिन्छ।

डोल्पालाई आर्थिक रूपमा बलियो बनाउन पर्यटन, जुडीबुटी मुख्य आधार हुन्। सडक सञ्जाल विस्तारसँगै भौगोलिक विकटताले चिनिने डोल्पा आर्थिक आर्जनमा फड्को मार्ने जिल्ला बन्न सक्छ। तर सञ्जालमा देखिएका विकृति र मनपरीतन्त्रलाई सरकार र सम्बन्धित निकायले रोक्नुपर्ने स्थानीय बताउँछन्।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad