सगरमाथाले छेक्न सकेन

उध्रिएको ट्र्याकसुटबाट बसेको माया

शनिबार, ०४ साउन २०७६, ०७ : ५६ नागरिक

 

बेइजिङ -
‘न बोले नि माया लाग्ने रै’छ सान्नानी

दिलको कसम दिलैमा नत्र ज्यान जानी
चाइना कम्पनी...।’

ब्रोसिस ब्यान्डले गाएको यो गीत रबिना राई र शकुन्तला राईको जीवनमा ठ्याक्कै मिल्न जान्छ। सोलुखुम्बुको साबिक कांगेल गाविसकी शकुन्तला र नेचा बतासेकी रबिना काठमाडौं आएर बालुवाटारमा वरिष्ठ लोकगायक कुमार बस्नेतको घरमा ‘टेलरिङ’ (सिलाइ) पसल खोलेर बसेका थिए। उनीहरुको काम राम्रै चलेको थियो। चिनियाँ दूताबासदेखि तीन सय मिटरको दुरीमा टेलरिङ पसल खोलेका शकुन्तला र रबिनाले आखिरमा त्यही दूताबासको मातृभूमि चीनलाई आफ्नो कर्मथलो बनाए।
सन् २००८ मा बालुवाटारमा चिनियाँ दूताबासभित्र नयाँ भवन निर्माणको काम भइरहेको थियो। भवन निर्माणमा थुप्रै चिनियाँ कार्यरत थिए। दूताबासको नयाँ भवन बनाउन खटिएका चिनियाँँद्वय स खाइमिन र चियाङ छु एक दिन उध्रिएको ट्र्याकसुट बनाउन शकुन्तला र रबिनाको सिलाइ पसल गए। उनीहरुले हातको इसाराले आफ्नो लुगा सिलाइदिन भने। उध्रिएको ट्र्याकसुट सिलाउने काम शकुन्तलाले गरिन्। उनी पुरुषको कपडा सिलाउन निकै सिपालु थिइन्। त्यो ट्र्याकसुट चियाङको थियो।

चियाङले कपडा सिलाउँदा लिइने नाप टिप्ने कपीमा आफ्नो मोबाइल नम्बर लेखेछन्। दिउँसो रबिनाले त्यो मोबाइल नम्बरमा त्यत्तिकै डायल गरिन्। चियाङले फोन उठाए। के भन्ने के भन्ने भयो रबिनालाई। किनभने फोन उठाउने मान्छे नेपाली र अंग्रेजी नजान्ने अनि रबिनालाई चिनियाँ नआउने। उनलाई कसैले तीनवटा चिनियाँ शब्द सिकाएको थियो। उनले हत्त न पत्त ती तीनवटा शब्द बोलिन्। उनले भनेकी थिइन् ‘ओ आई नी’। त्यसको अर्थ के हुन्छ उनलाई थाहा थिएन। उताबाट चियाङले केके फतफताइरहे। साँझ फेरि चियाङ सिलाइ पसलमा पुगे र भने, ‘ओ ये आई नी।’ रबिनाले भनेका तीनवटा शब्दमा चियाङले एउटा शब्द थपेर भने। तै पनि रबिनालाई त्यसको अर्थ थाहा भएन।
एक दिन रबिनाले कुनै चिनियाँ भाषा जानेको नेपालीलाई ‘ओ आई नी’ भनेको के हो भनेर सोधिन्। त्यो नेपालीले अर्थ भनेपछि रबिना छाँगाबाट खसेजस्तो भइन्। त्यसको अर्थ त ‘आई लभ यु’ पो हुँदोरहेछ। अनि‘ ओ ये आई नी’ को अर्थचाहिँ ‘आई लभ यू टू’ हुँदोरहेछ। त्यसपछि रबिना र शकुन्तला मरिमरी हाँस्न थाले। उनीहरुले बुझ्दै नबुझी प्रयोग गरेको शब्दले ती चिनियाँ त दिनैपिच्छे टेलरिङ पसल धाउन थालेछन्। पसलामा आउने चिनियाँलाई रबिना र शकुन्तलाले नेपाली भाषा सिकाउन थाले। ‘नमस्ते, सन्चै छ, भोक लाग्यो, गर्मी भयो, खाजा खाने, राम्रो छ’ यस्तैयस्तै शब्द सिकाउँथे उनीहरु ती चिनियाँलाई। पसलमा रबिनाकी दिदीकी छोरी पनि आउँथिन्। उनी भरखर प्लस टू पढ्दै थिइन्। रबिनाले चियाङलाई हातको हाउभाउले जिस्क्याउँदै भन्थिन्, ‘यो मेरी दिदीको छोरी हो। तिमी यसलाई बिहे गर। मेरी दिदीको छोरी बिहे गरेपछि मलाई सासू भन्नुपर्छ। अनि मलाई पनि औंठी किनिदिनुपर्छ तिमीले।’ चियाङ त्यतिबेला निकै युवा देखिन्थे। उनले लामो कपाल पनि पालेका थिए। रबिनाले जिस्क्याउँदै भन्थिन, ‘तिमीहको जोडी पनि मिल्छ।’

चियाङ पसलमा गएपछि रबिनाको छेउमा बस्थे। उनले रबिनाकी भतिजी (दिदीकी छोरी) हैन रबिनालाई मन पराउँदारहेछन् भन्ने कुरा बिस्तारै थाहा हुँदै गयो। दूताबासभित्र चिनियाँ कामदारलाई बिहानै ब्रेकफास्टसँगै उसिनेको अन्डा पनि दिइँदोरहेछ। त्यो उसिनेको अन्डा चियाङले सधैं गोजीमा बोकेर टेलरिङ पसलमा ल्याएर रबिनाको छेउमा छोड्थे। त्यो अन्डा नेपाली बजारमा पाइनेजस्तो सेतो नभएर कालो हुन्थ्यो। बिहानै चियाङ लमकलमक गर्दै टेलरिङ पसलतिर आएपछि साथीहरुले रबिनालाई ‘तेरो कालो अन्डा आयो’ भन्दै जिस्क्याउँथे पनि।
रबिनाभन्दा शकुन्तला ४ वर्ष कान्छी थिइन्। चियाङभन्दा स छ वर्ष जेठा थिए। चियाङले पहिलेदेखि नै रबिनालाई मन पराइसकेका थिए। बानी पनि परस्पर विरोधी थियो। रबिना गम्भीर स्वभावकी तर चियाङ अलिक चन्चले। यता शकुन्तला एकदमै चन्चले तर स ज्यादै गम्भीर। शकुन्तला र सबीच उमेरका हिसाबले १० वर्षको फरक थियो भने रबिना र चियाङबीच जम्मा ६ महिनाको मात्र फरक थियो। उनीहरुबीचमा बुझिने भाषा थिएन। आँखाको सार र सांकेतिक रुपमा उनीहरु कुराकानी गर्थे। हाउभाउले जिस्कँदाजिस्कँदै उनीहरुबीच प्रेम बस्यो।

शकुन्तला र रबिनाले एकदिन दुवै चिनियाँलाई भने, ‘हामीलाई साँच्चै माया गर्ने भए बिहे गर्नुपर्छ।’ चिनियाँले हुन्छ भन्ने संकेत गरेपछि रबिना र शकुन्तलाले विभिन्न संकेतबाट सिन्दुर, पोते, चुरा, मंगलसूत्र, औंठी नभइ बिहे हुँदैन भनेर किन्न लगाए। अनि चारजना सुटुक्क बूढानीलकन्ठ मन्दिरमा गए। त्यतिन्जेलसम्म शकुन्तला र रबिनाले चिनियाँसँग प्रेम गरेको र बिहे गर्ने भनेर आफन्त र घरपरिवारमा भनेका थिएनन्। कुनै चिनेको मान्छे नभेटियोस् भनेर उनीहरु अलिक टाढाको स्थान बूढानीलकन्ठ मन्दिरमा पुगेका थिए। बाहुन बाजेलाई दक्षिणा दिएर ‘ल चाँडोचाँडो मन्त्र भन्नु’ भनेर बिहेको तारतम्य मिलाउँदै थिए। मन्दिरको दर्शन गर्न लाममा उभिएकी शकुन्तलाकी छेमा (सानीमा) नाता पर्नेलाई दुवैले देखे। सातोपुत्लो उड्यो। छेमाबाट छलिँदै उनीहरुले चाँडचाँडो बिहे सकाए। चिनियाँले गलामा मंगलसूत्र लगाइदिए। सिउँदोमा सिन्दुर भरिदिए। औंलामा औंठी लगाइदिए। ‘टापटिप’ बिहे सकेर उनीहरु त्यहाँबाट फर्किए र त्यो राति ठमेलको होटलमा बसे। घरका मान्छेलाई चाहिँ रबिनाले शकुन्तलाको घर जाने भनेकी थिइन् भने शकुन्तलाले रबिनाको घर जाने भनेर ढाँटेका रहेछन्। सिउँदो भरिएपछि उनीहरुमा केही आँट आइसकेको थियो।
उनीहरुले ठमेलकै होटलमा सुहागरात पनि मनाए। भावना र मनसँगै अब त उनीहरुको शरीर पनि एकअर्कामा साटिइसकेको थियो। उनीहरुमा आपसी दिलको भाषा बुझ्न न कुनै लिपि चाहियो न कुनै सुझबुझ नै। उनीहरुको मायामा न कुनै जात तगारो बन्यो न धर्म। बिहे गरेर केही दिनपछि नै चाँडै लिन आउने भनेर चिनियाँ युवा स्वदेश फर्किए। चीनको आन्हुई प्रान्तका सलाई ल्हासास्थित नेपाली महावाणिज्य दूताबासले भिसा दिएन। उनी पहिले नै पर्यटन भिसामा ६ महिना नेपाल बसिसकेका थिए। चियाङचाहिँ नेपाल बसेको छ महिना भएको थिएन। त्यसैले उनले मात्र भिसा पाए। सले नेपाल जान अर्को वर्षसम्म कुर्नुपर्ने भयो। भरखर अक्टोबर लाग्दै थियो। अझै तीन महिना कुर्न उनी तयार थिएनन्। सले चियाङलाई रबिनासँगै शकुन्तलालाई पनि लिएर आउन भने र आफू तिब्बतबाट आन्हुइ फर्किए।

रबिना र शकुन्तलाले पनि सोलुखुम्बुमा गएर पासपोर्ट बनाए। गाविसमा गएर अबिवाहित रहेको प्रमाणपत्र पनि झिके। उनीहरुले घरमा आफ्ना बाबुआमासँग अनुमति मागे। उनीहरुले भने, ‘एकपटक चीन जाने हो। मिलेमा उतै बिहे गरेर बस्ने हो नभए केही दिन घुमेर फर्किने।’
विश्वको सर्वोच्च शिखर सगरमाथाको दक्षिणी काखका लोभलाग्दा मुनाहरु पासपोर्ट बनाएर पर्यटन भिसामा सन् २००८ को अक्टोबरमा चीनतिर उडे। शकुन्तला त चन्चले थिइन्। उनलाई खासै केही फरक परेन तर रबिना सारै गम्भीर। त्यसमाथि उनी नेपालमै चियाङबाट गर्भवती भइसकेकी थिइन्। शकुन्तला र रबिनाले चीनमा आएपछि बिहे दर्ता गराए। अनि सुरु भयो नयाँ जीवन। भाषा फरक, भूगोल फरक, संस्कृति फरक, जीवनशैली फरक, समाज फरक। चियाङ र स दुवै आन्हुई प्रान्तमा भए पनि एकको घरबाट अर्काकोमा जान बसमा तीन घन्टा लाग्थ्यो। नेपालबाटै हिँड्दा रबिना धरधरी रोइरहेकी थिइन्। चीन आएपछि त उनको सबैभन्दा नजिकको साथी नै आँशु बन्यो। घरपरिवारले राम्रो माया र सम्मान गरे पनि उनी नेपाललाई धेरै ‘मिस’ गर्थिन्। धन्न उनको घरमा अन्तर्राष्ट्रिय फोन गर्ने सुविधा थियो। उनी नेपालमा रहेका आफन्तलाई नियमित फोन गर्थिन्। एक महिनापछि रबिनाका ससुरा आत्तिँदै घर आए। लामोलामो जिब्रो निकालेर उनी केके भन्दै कराउँदै थिए। रबिनाले केही पनि बुझिनन्। भएछ के भने सधैं महिनाको एक सयदेखि डेढ सय चिनियाँ युआन उठ्ने टेलिफोनको महसुल दुई हजार तीन सय अर्थात् ३७ हजार नेपाली रुपैयाँबराबर उठेछ। त्यसपछि त रबिनाको आफन्तसँग टेलिफोनमा हुने कुराकानी पनि कम भयो।

चीन आएको ६ महिनापछि सन् २००९ अप्रिलमा रबिनाले छोरी जन्माइन्। त्यसपछि सन् २०१३ मा छोरा जन्माइन्। छोरीको नाम चियाङ रुई सुया र छोराको नाम चियाङ रुई सियाङ राखिएको छ। उनका दुई जेठाजु छन्। उनीहरु पहिलेदेखि नै छुट्टै बस्दै आएका थिए। रबिना सन् २०१५ सम्म सासूससुरासँग बसिन्। त्यसपछि उनको परिवार पनि छुट्टै बस्न थाल्यो। सासूससुरा पनि कमाउन सक्ने भएकाले उनीहरु पनि छुट्टै बस्छन्। चिनियाँ नयाँ वर्षमा भेला हुँदा नेपालमा दसैं मनाएको सम्झना रबिनालाई आउँछ। अहिले त उनी फेसबुक, युट्युब चलाउँछिन् र नेपालको न्यास्रो मेट्छिन्। तर, तीज, दसैं, तिहारजस्ता चाडमा युट्युब हेरेर रुन भने उनले अझै छाडेकी छैनन्।
शकुन्तलाका पति स पनि परिवारका कान्छो छोरा हुन्। उनका एक दाजु, एक दिदी र एक बहिनी छन्। शकुन्तलाले पहिले सोच्ने गर्थिन् बिहे गरेपछि सासूससुरा नभए पनि हुन्थ्यो। सासूससुरा भनेको सारै झन्झटिला र झ्याउ लाग्ने हुन्छन् भन्ने कुराले उनको मनमा बास गरेको थियो। तर, उनका सासूससुरा सारै असल थिए। उनले दुई वर्ष पनि राम्रोसँग सासूससुरासँग बस्न पाइनन्। उनकी सासूको मृत्यु हुँदा उनी तीन महिनाकी सुत्केरी थिइन्। सासूको मृत्युपछि उनलाई ससुराले सारै हेरचाह गरे। एक वर्षपछि ससुराको पनि मृत्यु भयो। शकुन्तला भन्छिन्, ‘मलाई त सासूससुराको भारा लाग्छ। मैले उहाँहरुलाई भनेजस्तो सहयोग र हेरचाह गर्नै पाइँन।’ शकुन्तलाका लागि चीन भरिपूर्ण छ। सासूससुरासँग लामो समय बस्न नपाएकोमा उनलाई पछुतो छ।

चीनमा मान्छे मर्दा अचम्मको चलन। मरेपछि तीन दिनसम्म घरमै शव राखिन्छ। कोही आफन्त भेट्न आउँदा पटका पट्काइन्छ। आफन्त भेट गर्न आउँदा मृतकका परिवारका महिला शव छेउ गएर झुकेर कोकोहोलो स्वर निकालेर रुनुपर्ने रहेछ। सासू मरेकै दिन त शकुन्तला पनि रोइन्। तर तीन दिनसम्म बनावटी रुन खोज्दा उनलाई हाँसो उठ्थ्यो। मान्छे मरेपछि भेट गर्न आएका आफन्तलाई मासुलगायत खुवाउने चलन पनि उनलाई अनौठो लाग्यो। मरेको तेस्रो दिन घरबाट शव निकाल्नासाथ डामडुम ढोका लगाउने चलन छ। यसो गर्दा मरेको मान्छेको आत्मा कहिल्यै पनि फर्केर घरमा आउँदैन र सपनामा पनि देखिँदैन भन्ने चिनियाँ भनाइ छ।
शकुन्तलाले छोराको नाम स चोङनी राखेकी छन्। चिनियाँ चलनअनुसार थर अगाडि लेखिन्छ। उनका पतिको थर स हो। त्यही भएर छोराको नाम अगाडि स र पछाडिचाहिँ चोङनी राखेकी हुन्। चिनियाँ भाषामा ‘चोङ’ भनेको चीन हो भने ‘नी’ भनेको नेपाल हो। उनले चिनियाँ बाबु र नेपाली आमाबाट जन्मिएकाले छोराको नाम स चोङनी राखेकी हुन्। उनका पति स नेपालमा हुँदा अलिअलि नेपाली बोल्थे। अहिले त सबै बिर्सिसकेका छन्। बरु छोरा चोङनीले चाहिँ केही नेपाली शब्द जानेका छन्। शकुन्तलाले नेपालबाट अकबरे खुर्सानी, कोदो, मकै, सिस्नो ल्याएर रोपेकी छन्। उनी भन्छिन्, ‘मेरो करेसाबारीले नै मलाई नेपाल सम्झाउने गर्छ।’

बिहे गरेर चीन आएपछि शकुन्तला तीनपटक नेपाल गइसकेकी छन्। पहिलोपटक सन् २०१३ मा शकुन्तला पति र छोरा लिएर आन्हुईबाट तिब्बतको ल्हासासम्म रेलमा गइन्। त्यहाँबाट गाडीमा खासा तातोपानी हुँदै उनीहरु नेपाल प्रवेश गरे। शकुन्तला पति र छोरालाई लिएर सोलुखुम्बु गइन्। सोलुखुम्बुको गाउँमा निकै हिँड्नुपर्ने र जुका पनि लाग्ने। अप्ठेरो बाटो भएकाले उनका पतिलाई निकै दुःख भयो। तीजमा नेपाल गएकी उनी तिहार मनाएर मात्र फर्किइन्। दोस्रोपटक सन् २०१६ मा उनी छोरा र भान्जाभान्र्जी लिएर फेरि रेल चढेर ल्हासा भई त्यहाँबाट गाडी चढेर केरुङ हुँदै नेपाल गइन्। दोस्रोपटक स्थलमार्ग भएर नेपाल गए पनि नेपालबाट उनीहरू हवाईजहाजमा फर्के। तेस्रोपटक शकुन्तला रबिनालाई लिएर हवाईजहाजबाट गत तिहारमा नेपाल गइन्। रबिना बिहे गरेर चीन आएको १० वर्षपछि पहिलोपटक माइती देश फर्किएकी थिइन्।
शकुन्तला र रबिना अहिले राम्रोसँग चिनियाँ भाषा बुझ्छन्, बोल्छन्। रबिनाले भने नेपाली भाषा बिस्तारै बिर्सिन थालेकी छिन्। उनी नेपाली बोल्दा चिनियाँ भाषा घुसाइहाल्छिन्। उनी भन्छिन्, ‘उध्रिएको ट्र्याकसुटबाट बसेको माया अजम्बरी बन्ने भयो। मैले त त्यो ट्र्याकसुट अझै जतनले राखेकी छु।’ साँच्चै नै रबिना र शकुन्तलाको चिनियाँसँगको वैवाहिक जीवन ‘रफ्फु’ गरेजस्तै प्रगाढ बनेको छ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad