८ वैशाख २०८१ शनिबार
समाज

कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

पत्रकार समेलनमा जासुसी पेन क्यामरा सार्वजनिक गर्दै जेलर राजेन्द्र बोहरा। तस्बिर : नागरिक

बझाङ - जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ। ६ महिनाअघिको विषयलाई लिएर कैदीहरूबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो। जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले शुक्रबार पत्रकार समेलनमा जानकारी गराए।

जबरर्जस्ती करणीको आरोपमा अदालतले थापालाई दोषी ठह¥याएको छ। उनी २०७५ मंसिर २५ गते बर्दिया जिल्लाबाट सरुवा भएर बझाङ कारागारमा आएका हुन्। कागारभित्र कैदीले मदिरा र चरेससमेत सेवन गर्ने गरेको सन्दर्भबारे उठाइएको प्रश्नको जवाफ दिँदै जेलर बोहराले भने, ‘घटना ६ महिनापहिलेको हो, त्यतिबेलाका नाइके चौकीदार र सुरक्षाकर्मीको कमजोरीका कारण यस्तो घटना भएको हो। अहिले तिनीहरू जेलमुक्त भइसकेका छन्। प्रहरी इन्चार्ज गणेश विकलगायत १५ सुरक्षाकर्मीलाई एकैपटक कारबाहीस्वरूप सरुवा गरिसकेका छौं।’

अहिले जेलभित्र कुनै किसिमको गलत क्रियाकलाप हुने नगरेको बोहराको भनाइ छ। ‘मैले ड्युटी र सुरक्षाबारे प्रहरी इन्चार्जसँग कुरा गर्ने हो, सिपाहीसँग होइन। उनीहरूले के गरे भन्ने त देखि नै सकियो। विश्वास गर्नु मेरो कम्जोरी भयो,’ उनले भने, ‘प्रहरीले हरेक कुरामा निगरानी नराखेका कारण जेलभित्र भिडियो रेर्कड गर्ने जासुसी पेन क्यामरा भेटियो।’ ६ महिना पहिलेको कुरा सार्वजनिक भएपछि कैदीकैदीबीच विवाद बढ्दै जाँदा पेन क्यामराबारे हल्ला चलेपछि चेकजाँच गरिएको र पेन क्यामरा भेटिएको उनले स्पष्ट पारे।

क्यामरा कसले कहाँबाट कसरी भिœयायो भन्नेबारे कैदी थापाले केही बोल्न मानेनन्। जिल्ला कारागारमाका गतिबिधिबारे गृह मन्त्रालयबाट पत्र पाएलगत्तै आफूले कारागारामा पुगेर घटनाको खोजीनिती गर्दै जेलर र इन्चार्जसहित १५ जनाको सरुवाका लागि सिफारिस गरिएको प्रजिअ सुरेश सुनारले बताए। उनका अनुसार ६ महिनापहिलेको घटनाबारे वैशाखमा थाहा पाइएको थियो। ‘कैदीले मोबाइलसमेत साथमा राख्न पाउँदैनन्, जासुसी क्यामरा कसरी लगियो भन्नेबारे खोजी हुँदैछ,’ उनले भने, ‘जोकोही भए पनि कडा कारबाही हुन्छ।’ बाहिरी सुरक्षा दिने मूल जिम्मेवारी भएकाले भित्र कसले के गरेका छन् भन्ने खासै थाहा नपाइने गरेको उनले सुनाए। ‘भिडियो गर्ने र रेर्कड गरी बाहिर पठाउने पेन क्यामराबारे आफूलाई समेत केही थाहा थिएन। मैले समेत सुरुमा पेन नै हो भन्ने सोचको थिएँ, ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर भित्र लगेको हुन सक्छ,’ निमित्त प्रहरी प्रमुख नैनबहादुर साउदले भने, ‘अब कडाइ गरिन्छ। कैदीका साथमा दुईवटा मोबाइल तीनवटा सिम भेटिएका छन्।’ कैदीले मोबाइल राख्न नपाइने भएकाले प्रहरीको सामुन्ने मात्र कैदीलाई फोन गर्न दिइने उनको भनाइ छ।

प्रकाशित: ४ श्रावण २०७६ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App