६ वैशाख २०८१ बिहीबार
समाज

तस्करी आरोपमा वडाध्यक्षमाथि कुटपिट

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष । तस्बिरः नागरिक

जुम्ला– पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावत न्याय माग्न सदरमुकाम खलंगामा झरेका छन्। लुम गाउँका स्थानीयले अवैध जडीबुटी सेतक चिनी चोरी निकासीमा संलग्न रहेको आरोपमा कुटपिट गरेपछि उनी न्याय माग्न खलंगामा झरेका हुन्।

वडाध्यक्ष रावतले डिल्लीचौर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय जुम्लामा हातपात गरेको र ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन्। उनले आफू असुरक्षित भएको बारेमा गाउँपालिका अध्यक्षलाई फोन मार्फत् जानकारी गराइसकेको बताए। ‘म दोषी ठहरिए खलंगाबाटै जेल जान तयार छु,’ उनले भने, ‘तर जबरजस्ती दोषि ठह¥याउन खोज्नेलाई पनि सजाय हुनुपर्छ।’

के हो घटना ?

गत वैशाखमा बागजाले सामुदायिक वनको ब्लक नम्बर ५ मा अवैध जडीबुटी खिरौलो (सेतक चिनी)बाह्य संकलक र व्यापारीले निकासी गरिरहेको खबर आयो। पहिलो चरणमा सामुदायिक वन उपभोक्ता समिति हेर्न गयो। वन समितिलाई टेरपुच्छर नलगाएपछि प्रहरी परिचालनका लागि हारगुहार गरियो। तर, प्रहरी बीचबाटोमा नपुग्दै वन समितिले व्यापारीलाई पक्रेर लग्यो। गाउँ भेलामार्फत् दण्ड जरिवाना गरेर छाडियो। केही नगद केही उधारो अहिले पनि रहेको वडाध्यक्ष बताउँछन्।  

झन्डै ८–९ सय सय क्विन्टल खिरौलो जफत भयो। खिरौलो जफत हुनेबित्तिकै तीन सय खच्चड र ६० जना मान्छे मुगुदेखि जडीबुटी लिन आउँदैछन् भन्ने खबर वडाध्यक्षले पाए। सूचना प्राप्त भएसँगै प्रहरीलाई उनले खबर गरे। ‘तर, गाउँलेले सुराकी गरेर तस्करीलाई साथ दिए,’ उनले भने। प्रहरी र समिति रित्तै घर फर्किए। लगत्तै दुईचार दिनभित्रै सुकाएको खिरौलो मुगु निकासी भयो।

जफत् गरेको खिरौलो गाउँले युवाले जिम्मेवारी लिएका थिए। सुकाउनेदेखि पकाउनेसम्म। ‘मैले किन खिरौलो त्यो ठाउँमा सुकाउछौँ, त्यो क्षेत्र सुरक्षित छैन। सुरक्षित ठाउँमा सार भनेँ,’ वडाध्यक्ष रावतले भने, ‘नभन्दै सुकेको ८–१० क्विन्टल जडीबुटी लगिएको भेटियो।’

तस्करी कसले ग¥यो भन्ने विषयमा गाउँ भेला डाँकियो। त्यो भेलामा आउनका लागि वडाध्यक्षलाई पनि निमन्त्रणा आयो। शंकास्पद व्यक्ति बोलाउने कार्य भइरहेको थियो। तस्कर को हो भन्ने विषयमा चर्काचर्की बहसनै चल्यो।

एक्कासि वडाध्यक्षनै अवैध सेतक चिनी निकासीमा संलग्न छन भनेर माइकिङ गरियो। ‘म आफू कहाँनिर जोडिएँ भनेर स्पष्टीकरण मागेँ,’ उनले भने, ‘माइक फालेर स्थानीय कालीबहादुर रावल एक्कासि झम्टन आए।’ आफूलाई हातपात र कुटपिट गरेको सुनाउँदै भने, ‘भागेर आफ्नो दाजुको घरमा सुरक्षा मागेँ।’ आफूमाथि पुनः कुटपिट हुन सक्ने भएपछि उनी राति हिँडेरै खलंगा पुगे। ‘हातपात हुनेबित्तिकै प्रहरीलाई सुरक्षाका लागि बोलाएँ, उल्टै सुरक्षाकर्मीलाई समेत काठेपुल नपुग्दै ढुंगामुढा गर्दै एक किलोमिटर पर लखेटिदिए,’ उनले भने। उनी तीन दिनदेखि खलंगामै छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सीताराम रिजाल घटनाको अनुसन्धान भइरहेको बताउँछन्। ‘किन, कसले, कसरी, कुटपिट गरेको हो भन्ने विषयमा जानकारी लिँदैछौं,’ उनले भने, ‘अनुसन्धानपछि कारबाही अघि बढ्छ।’

प्रकाशित: ३ श्रावण २०७६ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App