८ वैशाख २०८१ शनिबार
समाज

पाइपबाटै आयो डिजेल भारतबाट नेपाल

पाइपलाइनबाट आएको डिजेल देखाउँदै भारतीय आयल निगमका एस के नन्दी र नेपाल आयल निगमका प्रदीप यादव। तस्बिरः नागरिक

बारा– भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पटना हुँदै डिजेल आपूर्ति गरिएको छ।

पाइपलाइनको परीक्षण सफल भएपछि अमलेखगन्ज डिपोमा पुगेका भारतीय आयल निगमका सहायक प्रबन्धक तथा पटना पाइपलाइन प्रमुख एस के नन्दीले नेपाल र भारत देशको बीचमा धेरै महत्वको काम भएको बताएका छन्।

पाइपलाइनको निर्माण र सफल परीक्षणले दुवै देशबीच रहेको आर्थिक सम्बन्धलाई यसले थप उचाइमा पु-याएको बताए। परीक्षण सफल भएपछि त्यसको बारेमा दुवै देशका सरकार प्रमुखलाई जानकारी गराउने र दुवै देशका सरकारहरूले संयुक्तरूपमा गर्ने उद्घाटनपछि मात्रै यसबाट पहिलो चरणमा डिजेल आपूर्ति गर्न सुरु गरिने नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख तथा पाइपलाइन आयोजना प्रबन्धन प्रदीप यादवले बताए।

पाइपलाइनको सफल परीक्षण गर्नका लागि बिहीबार रातभरि भारत र नेपालका पदाधिकारीहरू जाग्राम बसेर काममा खटिएको र शुक्रबार बिहान मात्रै पाइपबाट डिजेल आएको यादवले बताए।

मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइनमा लाग्ने पाँच अर्ब १८ करोड रकम खर्च भएको आयोजनाका अधिकारीहरूले बताएका छन्।

सफल परीक्षण गरिएको पाइपलाइनबाट प्रतिघण्टा तीनदेखि तीन सय ५० सय केएलसम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने बताइएको छ।

२०७१ साउनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा आपूर्ति गरिने पेट्रोलियम पदार्थका लागि इन्डियन आयल निगमले अनुदानमा पाइपलाइन बनाइदिने घोषणा गरेका थिए।

मोदीले नेपाल भ्रमणको क्रममा घोषणा गरेपछि ३० महिनाभित्र पेट्रोलियम पाइपलाइन निर्माण गर्ने गरी  २४ अगस्त २०१५ मा (लगभग दुई वर्ष ८ महिनाअघि) नेपाल सरकारका तर्फबाट तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतको तर्फबाट  पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले रक्सौल–आमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता गरेका थिए।

सुरुमा रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्न सम्झौता गरिए पनि अहिले रक्सौलभन्दा २८ किलोमिटर दक्षिण रहेको मोतिहारीबाट पेट्रोलियम पाइपलाइन निर्माण गरिएको छ।

प्रकाशित: ३ श्रावण २०७६ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App