coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले खोज्न मिल्ने गरी डेटाबेसहरूमा संग्रहित भइसकेका छन्।

चर्चित राजनीतिज्ञदेखि ख्यातिप्राप्त व्यक्तित्व र सर्वसाधारण मानिसका नम्बरहरू उनीहरूको नाम लेखेर खोज्न सकिन्छ। नम्बरहरू त्यसरी सजिलै पाउन सकिने अवस्थाप्रति डेटा निगरानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। अवैधरूपमा गरिने ‘स्प्याम कल’लाई रोक्ने क्षमता भएका भनिएका फोन एपहरूले नै नम्बर संकलन र तिनको डेटाबेस भण्डारण गरेर राखेका छन्।

ती एपहरूले नचिनेको नम्बरबाट आएका फोन कलहरू चिन्ने सुविधा दिन्छन्। तिनले प्रयोगकर्तालाई थाहै नदिई उनीहरूको नम्बर संकलन गरेका हुन सक्छन्। जडान गर्ने क्रममा ट्रियुकलर, सिंकमी र सिएम सेक्युरिटी जस्ता एपले प्रयोगकर्ताहरूलाई आफ्ना फोन नम्बर अपलोड गर्न अनुरोध गर्छन्।

नम्बरको चाङ

प्रयोगकर्ताहरूलाई त्यसो गराउने क्रममा उनीहरूसँग नम्बरहरूको भण्डार बढ्दै जान्छ। सन् २०१६ को उत्तराद्र्धमा एउटा एपले आफूसँग त्यसरी जम्मा पारिएका दुई अर्ब नम्बरहरू भएको र अर्कोले आफूले एक अर्ब नम्बरहरू जम्मा पारिसकेको दाबी गरेका थिए। नम्बरहरू लेखेर ती कसका हुन् भनेर खोज्न सकिन्छ। तर, नाम लेखेर त्यो व्यक्तिको नम्बर खोज्ने सुविधा दिइएको छैन। त्यस्तो खोजी एपको वेबसाइटमा गएर पनि गर्न सकिन्छ। फ्याक्ट्वायर नामक अनुसन्धानात्मक पत्रकारिता गर्ने एक संस्थाले यो विषयलाई बाहिर ल्याएको छ। उसले हङ्कङ्का प्रमुख सांसदहरूका नम्बरहरू ती एपमा फेला पारेको थियो।

बिबिसीले गरेको अनुसन्धानको क्रममा युकेका पूर्वप्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, यातायात मन्त्री क्रस ग्रेलिङ, ओलिम्पक डाइभर टम डेली र संग्रहित निर्माता पिट वाटरम्यानका नम्बरहरू ती एपमा उपलब्ध भएको फेला परे। खोजी सुरु गर्नु अघि नै बिबिसीसँग उनीहरूका नम्बर थिए। हङ्कङ्स्थित फ्याक्ट्वायरसँग सांसदका नम्बरहरू थिए। अधिकांश नम्बरहरू फोन प्रयोगकर्ताको जानकारीबिनै संग्रहित भएको पाइयो।

‘छक्याउने खालको एप’

फर्गुसनले त्यो एप एकदमै छक्याउने खालको भएको बताउँदै त्यसको सञ्चालकले डेटा सुरक्षासम्बन्धी नियमहरू मिचेको हुनसक्ने बताए।

उनले भने, ‘कुनै पनि डेटा वा तथ्यांक कुनै निश्चित वा तोकिएको र वैध प्रयोजनका लागि मात्र संकलन गर्न सकिन्छ। र, त्यसलाई आवश्यक परेको भन्दा लामो समयसम्म राख्न मिल्दैन। तथ्यांक जोसँग सम्बन्धित छ उसको स्वीकृतिमा मात्र सङ्ग्रह गर्न सकिन्छ।’ त्यसमाथि अहिले डेटाको सुरक्षाको विषयमा पनि चिन्ताहरू व्यक्त भइरहेका छन्।

सन् २०१३मा ट्रियुकलरले साइबर हमलामा आफ्नो डेटा चोरी भएको तर, संवेदनशील विवरण नचुहिएको बताएको थियो। ट्रियुकलरले बिबिसीलाई बताएअनुसार उसले प्रयोकर्ताका तथ्यांक सुरक्षितरूपमा स्विडेनमा संग्रह गरिएको छ। कुनै बाह्य संघसंस्थालाई त्यो विवरण नदिइएको बताउँदै उसले एउटा वक्तव्यमा भनेको छ, ‘ट्रियुकलरले स्विडेन वा पूरै इयूमा डेटा सुरक्षासम्बन्धी कानुनविरुद्ध काम गरेको छैन।’ सेक्युरिटी ब्लगर ग्राहम क्ललीको नम्बर पनि एउटा एपमा पुगिसकेको छ। उनको विचारमा सबै व्यक्ति आफ्ना के कस्ता जानकारी वा डेटा अरूलाई उपलब्ध गराउने हो भन्ने विषयमा निकै चनाखो हुन आवश्यक छ।

‘यदि तपाईँ आफ्नो एड्रेसबुक अप्लोड गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो मात्रै होइन त्यो एड्रेसबुकमा भएका सबैको गोपनीयतालाई जोखिममा पार्दै हुनुहुन्छ।’ अधिकांश एपहरूले आफ्ना शर्तहरूमा प्रयोकर्तालाई नम्बर धनीहरूको अनुमति लिएर मात्रै उनीहरूका नम्बर साट्न अनुमति लिनुपर्ने उल्लेख गरेका हुन्छन्।

अहिले सिएम सेक्युरिटीले नम्बर कसको हो भनेर पछि हेर्न मिल्ने ‘रिभर्स लुकअफ’को सुविधा स्थगन गरेको छ। यस्ता सबै एप सञ्चालकहरूको भनाइमा आफ्ना नम्बरहरू साट्न नचाहने व्यक्तिहरूले एप प्रयोग नगर्न सक्ने सुविधा खुल्लै राखिएको छ। बिबिसी

प्रकाशित: ३ श्रावण २०७६ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App