७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिटिइभिटीको कामप्रति विष्णु पौडेलको असन्तुष्टि

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन्। महासचिव पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिइभिटीको काम चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका हुन्।

सिटिइभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो काम कार्वाहीलाई अघि बढाउन पनि सिटिईभीटीलाई सचेत गराए। उनले सिटिइभिटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सिटिइभिटीले मुलुकको राष्ट्रिय आवश्यक्ता अनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जरुरी रहेको पनि बताए। उनले शिक्षालाई जीवन उपयोगी बनाएर मात्रै मुलुकको समृद्धि सम्भव हुने भएकाले त्यसमा गम्भीर भएर सोच्न पनि सिटिइभिटीका पदाधिकारीहरुको ध्यानाकर्षण गराए।

प्रकाशित: ३ श्रावण २०७६ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App