१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनकपुरमा दुई वटा धर्मशाला र चक्रपथ बनाउने मुखर्जीको घोषणा

जनकपुर- भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई शुक्रबार जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। नेपाल भ्रमणमा गत बुधबार आएका मुखर्जीले शुक्रबार जनकपुर पुगेर जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। सोही अवसरमा जनकपुर उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुइटेलले जनकपुरवासीको तर्फबाट मुखर्जीलाई नागरिक अभिनन्दन गरेका हुन्।

नेपाली, मैथिली र अंग्रेजी भाषामा तयार पारिएको अभिनन्दन पत्रमा जनकपुर, मिथिला र नेपालको भारतका अयोध्यालगायत सहरबीचको आन्तरिक सम्बन्ध, राम र सीताबीचको वैवाहिक घटनाक्रम तथा दुई देशबीचको पारस्परिक सम्बन्धको वारेमा उल्लेख गरिएको छ।

यस अघि नेपाल सरकारका उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जानकी मन्दिर परिसरमा मुखर्जीलाई स्वागत गरेका थिए। दिउँसो ११:३७ बजे जनकपुर विमानस्थलमा आइपुगेका मुखर्जी १३:२७ बजे पोखराकालागि उडेका छन्। उनको स्वागतको लागि उपप्रधान एंव गृहमन्त्री निधिसमेत सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही र क्षेत्रीय प्रशासक विनोद केसीलगायत जनकपुरमा उपस्थित थिए ।

जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थयात्रीहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक निर्माण गर्ने घोषणा गरेका छन् । ‘नेपाल र भारतबीचको अटुट सम्बन्ध त छँदैछ साथै जनकपुरले पनि भारतको विभिन्न धर्मस्थललाई धार्मिक आस्थासँग जोडेकाले भारत सरकारले यो क्षेत्रको विकासमा गम्भिर छ र हुनुपर्छ’ १३ मिनेट लामो भाषणमा उनले भने, ‘जनकपुरमा दुईवटा धर्मशाला र परिक्रमा सडक भारत सरकारले निर्माण गर्ने घोषणा गर्न पाउँदा हर्षित छु ।’

यो क्षेत्रको सडक, विद्युत, औद्योगिक क्षेत्रलगायत अन्य विकासका कार्यमा पनि भारत सरकारले निरन्तर सहयोग जारी राख्ने उनले आश्वासन दिए ।

 

प्रकाशित: १९ कार्तिक २०७३ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App