coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डी लिज्ट युभेन्ट्समा

रोम – इटालियन सिरी ए विजेता युभेन्ट्सले अयाक्सका डच रक्षक माट्जिस डी लिज्टलाई ७ करोड युरोमा अनुबन्धन गरेको घोषणा गरेको छ। युभेन्टसले १९ वर्षे रक्षक डि लिज्टसँग ५ वर्षको अनुबन्ध गरेको जनाएको छ।

यससँगै उनी युभेन्ट्स भित्रने तेस्रो महँगा खेलाडी बनेका छन्। यसअघि क्लबले २०१८ मा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस महारथी रियाल मड्रिडबाट १० करोड ५० लाख युरो र २०१६ मा अर्जेन्टिनाका गोन्जालो हिग्विनलाई ९ करोड युरोमा अनुबन्धन गरेको थियो।

युवा खेलाडीको बाहुल्य रहेको अयाक्सले सनसनीपूर्ण प्रदर्शन गर्दै गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा पक्का गर्ने क्रममा डि लिज्टले उत्कृष्ट प्रदर्शन गरेका थिए। च्याम्पियन्स लिगमा गरेको उत्कृष्ट प्रदर्शनपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस ला लिगा विजेता बार्सिलोना र फ्रान्सेली लिग वान विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) उनलाई अनुबन्धन गर्न इच्छुक देखिएका थिए। यता अयाक्सकै २२ वर्षे मिडफिल्डर फ्रेन्के डी जोङले भने बार्सिलोनासँग सम्झौता गरिसकेका छन्।

डी लिज्टले अयाक्सबाट १ सय १७ खेलमा सहभागिता जनाउँदै १३ गोल गरेका छन्। उनकै निर्णायक गोलमा टुरिनमा अयाक्सले युभेन्ट्सलाई च्याम्पियन्स लिग क्वार्टरफाइनलमा निराश पारेको थियो।

उनले नेदरल्यान्ड्सबाट १७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।२०१८ मा कप्तानको जिम्मेवारी सम्हालेसँगै उनी क्लब इतिहासकै कान्छा कप्तान बनेका थिए।
डी लिज्टले केही समयअघि रोनाल्डोले आफूलाई युभेन्ट्स आउन प्रस्ताव गरेको बताएका थिए। जुनमा नेदरल्यान्ड्स र पोर्चुगल युइएफए नेसन्स कपको फाइनलमा एकआपसमा भिड्दा रोनाल्डोले उनीसमक्ष इटालियन महारथी आउन आग्रह गरेका थिए। नेसन्स कपको उपाधि पोर्चुगलले जितेको थियो।

 

 

प्रकाशित: ३ श्रावण २०७६ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App