coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय ‘डोसा किङ’को मृत्यु

नयाँ दिल्ली –विश्वभरि शाखा रहेको भारतीय रेस्टुराँ कम्पनी ‘सरवण भवन’का मालिक पी राजगोपालको ७२ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको छ। आफ्नै एक कर्मचारीको हत्या गरेको अभियोगमा भारतको सर्वोच्च अदालतद्वारा आजीवन कारावासको सजाय सुनाइएका राजगोपाललाई ‘डोसा किङ’ को उपनामबाट पनि चिनिन्छ। अदालतको फैसलापछि उनले गत जुलाई ९ मा अदालतसमक्ष आत्मसमर्पण गरेका थिए। कारावास जीवन बिताइरहेका बेला उनको स्वास्थ्य अवस्था बिग्रिएपछिसरकारी अस्पतालमा भर्ना गरिएको थियो।

आफ्नै एक कर्मचारीकी श्रीमतीलाई मन पराएपछि उनलाई पाउन राजगोपालले ती कर्मचारीको हत्या गरेका थिए। ‘सरवण भवन’ विश्वभरी ८० वटा शाखा रहेका लोकप्रिय भारतीय रेस्टुराँ हो। विश्वभर ‘सरवण भवन’ मा हजारौं कामदार कार्यरत छन्। जेल सजायबाट उन्मुक्ति पाउन सन् २००९ यता उनले कानुनी लडाइँ लडिरहेका थिए। तर स्वास्थ्यको कारण देखाउँदै उनले दायर गरेको अन्तिम अपिललाई पनि अदालतले अस्वीकार गरेको थियो।

उनका रेस्टुराँमा ब्रिक्री गरिने दक्षिण भारतीय परिकार ‘डोसा’ लोकप्रिय बनेपछि उनलाई ‘डोसा किङ’ उपनाम दिइएको थियो। ‘सरवण भवन’का शाखा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क, बेलायतको लन्डन र अस्ट्रेलियाको सिड्नीमा पनि छन्। ज्योतिषीको सल्लाहमा राजगोपालले ती महिलासँग बिहे गर्ने अड्डी कसेका थिए भन्ने समाचार पनि बाहिरिएका थिए। सन् २००३ मा ती महिलालाई आर्थिक प्रलोभन देखाएको, उनको परिवारका सदस्यहरुलाई धम्काएको र भाइलाई आक्रमण गरेको प्रकरणमा पनि राजगोपाल जोडिएका थिए। सन् २००१ मा आफ्ना श्रीमान् बेपत्ता भएपछि ती महिलाले राजगोपालविरुद्ध प्रहरीमा उजुरी दायर गरेकी थिइन्। पछि उनको श्रीमान्को शव जंगलमा फेला परेको थियो र प्रहरीले घाँटी थिचेर उनको हत्या गरिएको पुष्टि गरेको थियो।

सन् २००४ मा एउटा स्थानीय अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्षको सजाय सुनाएको थियो तर चेन्नईस्थित उच्च अदालतले त्यसलाई बढाएर आजीवन जेल सजाय बनाएको थियो। गत मार्चमा भारतको सर्वोच्च अदालतले चेन्नईको अदालतको फैसलालाई सदर गरेको थियो। स्वास्थ्यको कारण देखाउँदै गरेको अन्तिम अपिल पनि अदालतले अस्वीकार गरेपछि उनले चेन्नईस्थित अदालतमा आत्मसमर्पण गरेका थिए।   सर्वोच्च अदालतले उनको अपिल अस्वीकार गरेको नौ दिनपछि राजगोपालको दक्षिण भरतको चेन्नाई सहरस्थित एउटा अस्पतालमा निधन भएको उनको वकिललाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

 

 

प्रकाशित: ३ श्रावण २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App