coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाग्मती किनारमा छाक टार्न धौधौ

स्थानीय विद्यालयको एउटै कोठालाई गोठ र भान्सा बनाउन बाध्य सर्लाही महिनाथपुरका डुबानपीडित। तस्बिरः टंक/नागरिक

सर्लाही– ‘चार दिन भोकभोकै परियो, तीन दिनदेखि दुई किलो चिउराले टारिरहेका छौं,’ यो दुःखेसो हो, बाग्मती नदीको तटबन्घमा त्रिपाल टाँगेर बसिरहेकी सर्लाही धनकौल गाउँपालिका–३, ढापटोलकी कलावती पासवानको। बुधबार नागरिकसँग दुःखेसो गर्दै उनले थपिन्, ‘घरमा भएका सबै अनाजहरू भिजेर नास भइहाल्यो, बिहीबारदेखि चार दिनसम्म जलमग्न भएकाले कतै जान सकिएन, भोकभोकै बस्यौं, सोमबार गाउँपालिकाले दुई पोका चाउचाउ दिएपछि सास आयो, अहिले पनि त्यही चिउराले टारिरहेका छौं। चामल किन्न पैसा छैन, छाक टार्नै समस्या छ।’

ढापटोलका ६२ परिवार गत बिहीबारदेखि बाग्मतीको तटबन्धमा त्रिपाल तथा प्लास्टिक टाँगेर आश्रय लिइरहेका छन्। अझै पनि उनीहरू तटबन्धमै त्रिपाल टाँगेको अस्थायी टहरामै बसिरहेका छन्। जताततै डुबान भएपछि आइतबारसम्म कतै जान नसकिएको र घरमा भएको खाद्यान्नसमेत डुबेर नष्ट भएपछि अधिकतर परिवारको बिजोग भएको स्थानीय जशोदियादेवीले गुनासो गरिन्। ‘सोमबार बल्ल गाउँपालिकाले प्रतिपरिवार दुई किलो चिउरा र चाउचाउ दिएपछि भोक टार्न पायौं, अब कति दिन यसरी बिताउनुपर्ने हो ?,’ जशोदियादेवीले भनिन्, ‘हामी त चित्त बुझाउन सक्छौं, केटाकेटीलाई खुवाउन र सुताउन निकै गाह्रो भइरहेको छ।’

चिसो भुइँमै खाना र सुताइ

मनुष्मारा र बाग्मती नदीको बाढी पसेर चार दिनसम्म सम्पर्क–विच्छेद भएको धनकौल गाउँपालिका–४, महिनाथपुरका केही बासिन्दा बुधबारबाट भने आ–आफ्नो घर सफाइ गर्ने तरखर गर्दैछन्। त्यहाँ पाँच सय २७ घरमा डुबानबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायव निरीक्षक मोहनबहादुर कटुवालले जानकारी दिए।

‘घरमा भएको चार क्विन्टल चामल, एक क्विन्टल रहरको दाललगायत खानेकुरा सबै पानीले डुबायो,’ बुधबार बिहान भुइँ चिसै रहेको घर सरसफाइ गरेर खाना पकाउने सुरसार गर्दै गरेकी सुगापति यादवले भनिन्, ‘आज पसलबाट उधारोमा एक बोरा चामल ल्याएर खाना पकाउन थाल्दै छु।’ डुबान घटेर पानी सुकेपछि त्यहाँका कतिपय बासिन्दा भने भुइँँ चिसो भए पनि बुधबारबाटै घर सरसफाइ गरेर सर्ने सुरसार गर्दै छन्। कतिपयको घर अझै डुबानमै रहेकाले स्थानीय विद्यालय तथा छिमेकीको घरमा शरण लिइरहेका छन्।

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह चार दिनपछि पीडित परिवारलाई एक–एक थान त्रिपाल, दुई किलो चिउरा, दुई पोका चाउचाउ र दालमोट वितरण गरिएको बताउँछन्। ‘तीन–चार दिनसम्म त चारैतिर डुबानले केही गर्नै सकिएन,’ अध्यक्ष साहले भने, ‘सोमबारबाट वितरणको काम सुरु गरेका छौं।’ स्थानीय तहमार्फत राहत वितरणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए।

स्थानीय विद्यालयमा आश्रय लिइरहेका महिनाथपुरका डुबानपीडितहरू एउटै कोठामा पशु–चौपायासँगै खाने र सुत्ने गरिरहेका छन्। ठाउँ अभावले स्थानीय आधारभूत विद्यालयको एउटै कोठामा गाईगोरु बाँध्ने र खाना पकाउन बाध्य भएका छन्। ‘के गर्नु बिहीबार साँझ घर लडिहाल्यो,’ महिनाथपुरका राजदेव रायले भने, ‘अनि छेउको विद्यालयको एउटै कोठामा गाईगोरु पनि बाँधेको छु, यही कोठामै खाना पकाएर खाने र सुत्ने गरिरहेका छौं।’

दाउरा नहुँदा शव बगाइयो

बसबरिया गाउँपालिका–२ की ४६ वर्षीय नथुनी ठाकुरको असार २८ गते साँझ मृत्यु भयो। घर डुबानमा पर्न थालेपछि हतारहतार सामान ओसार्ने क्रममा दम बढेर ठाकुरको मृत्यु भएको वडाध्यक्ष लालचन्द्र गिरीले जानकारी दिए। ‘पहिलादेखि नै दमको रोगी भएकाले औषधि सेवन गरिरहेका थिए, हतारहतार सामान ओसार्ने क्रममा दम बढेर मृत्यु भयो,’ गिरीले भने, ‘दुई दिनसम्म डुबान नघटेपछि शवलाई बाग्मतीकै भेलमा बगाइदियौं।’ चारैतिर डुबान भएको र जलाउने दाउरासमेत नभएपछि शवलाई भेलमा बगाउनुको विकल्प नभएको वडाध्यक्ष गिरीले बताए।

सर्लाहीमा बाढी एवं डुबानमा परेर एक बालकको मृत्युसहित २४ सय घर पूर्ण रुपले क्षति हुँदा ११ हजार सर्वसाधारण विस्थापित भएका प्रजिअ राउतले जानकारी दिए। घरनजिकै जमेको पानीमा डुबेर गत सोमबार कौडेना गाउँपालिका–५ का दुई वर्षीय ऐयान खानको मृत्यु भएको हो। त्यस्तै पाँच हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण आइपुगेको प्रजिअ राउतले बताए। प्रजिअ राउतका अनुसार बिहीबारसम्म क्षतिको पूर्ण विवरण संकलन भइसक्ने अपेक्षा छ।

प्रकाशित: २ श्रावण २०७६ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App