४ वैशाख २०८१ मंगलबार
समाज

अपहरणको नाटक गरेर साधुको भेषमा घुम्ने व्यक्ति पक्राउ

रौतहट– आर्थिक कारोबार बिग्रेपछि अपहरणकाे नाटक गरेर साधुकाे भेषमा घुम्ने रौतहटको कटहरियाका व्यावसायी श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेकाे छ।  कारोबार बिग्रेपछि लेनदेन गर्न नसकी अचानक वेपत्ता भएको व्यापारी साहलाई भारतीय प्रहरीसमेतको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो।

कटहरिया नगरपालिका ७ बगहीका ३६ वर्षीय साह गरुडामा हिसाब किताब गरी काठमाडौँ जान्छु भनी गत वैशाख १७ मा निस्केका थिए। गरुडामा रहेको लक्ष्मण कोल्ड स्टोरमा आफ्नो बाइक, मोबाइल, नेपाली नागरिकताको प्रमाणपत्र, पैसा झिक्ने एटिएम लगायतका सामानहरु राखी सम्पर्क साँझ करिब पाँच बजेदेखि सम्पर्कविहीन भएका थिए।  साहका पिता जियालाल साहले त्यसको भोलिपल्ट प्रहरीलाई जानकारी गराएका थिए। लक्ष्मण कोल्ड स्टोरमा साहका सामानहरु फेला परेपछि साहका आफन्तहरुले कोल्ड स्टोरका संचालक रामकुमार चौधरीविरुद्ध अपहरण गरी हत्या गरेको आशंका गर्दै अपहरण तथा कर्तव्य ज्यान मुदा पनि दर्ता गराएका थिए। प्रहरीले चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो भने व्यापारीहरुले सत्यतथ्य सार्वजनिक गर्न सडक बन्द र आन्दोलनसमेत गरेका थिए।
 
घटना पेंचिलो बनेपछि प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान व्युरोबाट प्रहरी नायब उपरीक्षक तथा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोलीले गहन अनुसन्धान गरेको थियो। प्रहरीले अनुसन्धानको क्रममा तीन दर्जनभन्दा बढीलाई बोलाएर सोधपुछ गरेको थियो भने प्रहरीको स्रोत साधनको ठूलो प्रयोग पनि भएको थियो। साहलाई खोज्न प्रहरीको अनुसन्धान टोली भारतीय प्रहरीको सहयोगमा भारतको हरिद्वार तथा मुम्बईसम्म पुगेको थियो।

मुम्बईमा साधुको भेषमा रहेको जानकारी पाउनासाथ मुम्बई पुगेको प्रहरीको टोलीले त्यहाँ साहलाई फेला पार्न सकेन। साह त्यहाँबाट हरिद्वार पुगेका थिए। हरिद्वारमा चौकीदारको काम समेत गरेका साहलाई त्यहाँबाट भागी भैरहवाको सीमानजिक भारतमै लुकिछिपी साधुको भेषमा रहेको सूचना प्राप्त भएको थियो। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले साहलाई साधुको भेषमा गत मंगलवार भारतबाटै पक्राउ गरेको थियाे। बिहीवार बिहान नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटमा साहलाई साधुकै भेषमा सार्वजनिक गरेको छ।

संचारकर्मीसामु साहले आर्थिक कारोबार लथालिंग भएपछि तनाव खप्न नसकेर सम्पर्कविहीन भएको बताएका छन्। साह कटहरियामा तराई इन्टरप्राइजेज खोलेर आइएमइ संचालन गर्दै आएका थिए भने काठमाडौँमा बाजुरा इन्टरप्राइजेज संचालन गरेर बसेका थिए।

साहको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीनकुमार कार्कीले जानकारी गराएका छन्।

प्रकाशित: २ श्रावण २०७६ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App