७ वैशाख २०८१ शुक्रबार
समाज

भरतपुरमा हरियाली प्रवर्द्धन कार्यक्रम

सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रम शुभारम्भ गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल। तस्बिरः नागरिक।

चितवन– भरतपुर महानगरपालिकालाई हरियाली नगर बनाउन निर्वाचन क्षेत्र २ (ख) मा सरसफाइ र हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत स्रोत केन्द्र, सहरी बायोग्यास प्लान्ट, पानी शुद्धीकरण, वृक्षरोपण र फोहोर व्यवस्थापन कार्यक्रमको बुधवार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरेका हुन्।

क्षेत्र २ (ख) मा पर्ने महानगरपालिकाका सातओटा वडा २, ४, ५, ७, १०, ११, १२ मा सो कार्यक्रम सञ्चालन गरिएको छ। प्रदेश सरकारबाट विनियोजित ५० लाख रुपैयाँको बजेट र भरतपुर महानगरको व्यवस्थापनमा कार्यक्रम लागू गरिएको हो। अभियानले घरको फोहोर आफंंै व्यवस्थापन गर्ने बानीको विकास हुनुका साथै महानगरलाई समेत फोहोर व्यवस्थापनमा सहयोग हुने मुख्यमन्त्री पौडेलले बताए। ‘मैले गरेको फोहोर नगरपालिकाले लैजानुपर्छ भन्ने धारणा आममानिसको छ,’ उनले भने, ‘हामी यसबाट मुक्त हुनुपर्छ, मैले गरेको फोहोर मैले नै व्यवस्थापन गर्नुपर्छ भन्ने धारणाको विकास हुनुपर्छ।’

प्रदेशसभा सांसद विजय सुवेदीले सहरीकरण र विकास निर्माणसँगै बढेको प्रदूषण कम गर्न भरतपुरलाई एक नमुना बगैंचा बनाउने अभियान अघि बढाइएको जानकारी दिए। भरतपुरलाई सफा र हरियाली बनाउन महानगरका सातवटा वडाका १४ टोलबाट अभियान थालिएको उनले जानकारी दिए। प्रत्येक घरको फोहोर सड्ने र नसड्ने छुट्याई सड्ने फोहोरबाट बायो ग्यास निकाली खाना पकाउन प्रयोग गरिने र नसड्ने फोहोर प्लास्टिक, फलाम, सिसालगायत वस्तु संकलन गरी टोल विकास संस्थाले टोलभित्रै व्यवस्थान गर्न ठोस फोहोर संकलन केन्द्रमा राख्ने व्यवस्था गरिएको छ।

पहिलो चरणमा यी वडाका ९ स्थानमा बायोग्यास प्लान्ट जडान गरिएको छ। भरतपुर महानगरपालिका–७ दीपज्योति टोलमा ठोस फोहोर संकलन केन्द्र स्थापना गरिएको सरसफाइ तथा हरियाली प्रवद्र्धन समितिका संयोजक केशव रेग्मीले जानकारी दिए। साथै ६ घरमा जलकुम्भी झारबाट पानी शुद्धीकरण गरिएको छ। घरबाट निस्कने फोहोर पानीलाई सानो तलाउमा राखी त्यसमा जलकुम्भी झारबाट पानी शुद्धीकरण सुरु गरिएको हो।

प्राकृतिक रूपमा पानी शुद्धीकरणका लागि जलकुम्भी झारलाई उपयुक्त मानिने गरिएको छ। शुद्धीकरण गरिएको पानी बारीमा प्रयोग गर्न सकिने रेग्मीले बताए। उनका अनुसार सो कार्यक्रमलाई सफल बनाउन यस निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०७५÷७६ मा ६५ हजार फलफूलका बिरुवासमेत रोपिएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App