coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति मुखर्जीलाई पोखरामा दाल, भात, रोटी तरकारी

पोखरा- भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज मध्यान्ह पोखरा आउँदैछन्। मुखर्जीको आगमनलाई भव्य र सभ्य बनाउन यहाँ तयारी पुरा भएको छ।

मुखर्जी दिउँसो पौने १ बजे जनकपुरबाट पोखरा आउनेछन् । उनी आज नै दिउँसो ४ बजे पोखराबाट काठमाडौं फर्कनेछन्। जनकपुरबाट बुद्ध एयरको चार्टर जहाज चढेर मुखर्जी पोखरा आउनेछन् । उनी पोखरामा तीनघण्टा जति बस्ने छन् र त्यसपछि सिधै काठमाडौं फर्कनेछन्।

तीनघण्टाको अवधिमा मुखर्जीले केहीबेर यहाँको पाँचतारे होटल पोखरा ग्राण्डमा आराम गर्नेछन् । पोखरा विमानस्थलबाट सिधै होटल जाने र होटलमा आरामपछि मुखर्जी भारतीय पेन्सनक्याम्प पुग्नेछन् । मुखर्जीले पोखरा ग्राण्डमै लञ्च खानेछन् । होटल स्रोतका अनुसार मुखर्जीको खाना होटलकै सेफले तयार पार्नेछन् । दिउँसो एकबजे लञ्चको समय दिइएको छ । भारतीय दूतावाससँग सल्लाह गरेर नेपाली र भारतीय खाना (मिक्स) तयार पारेको होटल स्रोतले बताएको छ। 

‘दालभात, रोटी तरकारी नै उहाँको (राष्ट्रपतिको) मुख्य खाना हो,’ स्रोले भन्यो, ‘नेपाली र भारतीय मिक्स खाना छ ।’ मुखर्जी सहित करिब १ सय जनाका लागि होटलमा खाना तयार पारिनेछ । होटलको १३५ नम्बरको सुइट रुममा बसेर मुखर्जीले खाना खानेछन् ।

खानापछि मुखर्जी केहीबेर आराम गरेर पेन्सनक्याम्प प्रस्थान गर्नेछन् । पेन्सनक्याम्पमा अवकासप्राप्त भारतीय गोरखा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको क्याम्पले बताएको छ । पेन्सनक्याम्पबाट बाहिरिएपछि मुखर्जी पृथ्वीचोक हुँदै विमानस्थल आउने व्यवस्था मिलाईएको छ ।

मुखर्जीले सम्बोधन गर्ने पेन्सन क्याम्पमा करिब १० हजार पूर्व भारतीय गोरखा सैनिकका लागि बस्ने व्यवस्था मिलाईएको छ । त्यसबाहेक सम्बोधनस्थलको तयारी भईसकेको पेन्सनक्याम्पका अधिकारीले बताए । ‘तयारी पुरा भएको छ । रातदिन खटेर काम फत्ते गरेका छौं,’ पेन्सनक्याम्पका एकजना उच्च अधिकारीले भने । क्याम्पमा सहभागि हुनका लागि पूर्व भारतीय सैनिकलाई निमन्त्रणा गरिएको छ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार मुखर्जीको सवारीको बेला विमानस्थल देखि होटल, होटलदेखि पेन्सन क्याम्पसम्मको बाटोमा अरु सवारी चलाउन रोक लगाइनेछ । ‘अरुतिर गाडी चल्छन् । तर, राष्ट्रपतिको सवारीका बेला केही समय बाटोमा अरु गाडी रोकिनेछन्’ उनले भने । मुखर्जीको स्वागतार्थ सवारी गुड्ने सडकमा स्वागतद्वार बनाइएको छ ।

खुशी छ पोखरा

गत चैतमा पोखरामा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठकमा सहभागि हुन आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराज त्यो बेला पोखराको मौसम र खुलेको हिमाल देखेर निकै खुशी भएकी थिइन् ।

खुलेको हिमालको सुन्दर दृष्य देख्ने अवसर आज पोखरा आउँदा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि पाउनेछन । किनकी केहीदिनदेखि तुँवालोले ढाकिएको माछापुच्छ्रे  र अन्नपूर्ण हिमश्रृंखला बुधबारदेखि निकै नै खुलेको छ । बिहानैदेखि मुस्कुराइरहेको हिमालले तीनदिनदेखि पोखरामा रौनक थपिरहेको छ । त्यसैले बाटोबाटो र घरको छतबाट हासिरहेको हिमालको दृश्य कैद गर्ने धेरै देखिन्थे ।

‘साच्चै मौसम राम्रोसँग खुलेको छ । पोखराले पहिलोपटक यति ठूला पाहुना पाउँदैछ,’ स्वागत उपसमिति संयोजक गणेशबहादुर श्रेष्ठले भने, ‘पोखराले इतिहासमै पहिलोपटक विशिष्ट पाहुना पाउन लागेकोमा हिमाल पनि हासिरहेको छ ।’ यतिधेरैदिन हुस्सुले ढाकिएको हिमाल तीनदिनदेखि खुल्नुले मुखर्जीको आगमनले खुशी तुल्याए जस्तो लागिरहेको छ,’ उनले भने ।

श्रेष्ठले भने झै पोखरामा कुनैपनि मुलुकका राष्ट्राध्यक्ष आउन थालेको यो नै पहिलो पटक हो ।  यसअघि केही उच्च पदाधिकारी पोखरा आएपनि राष्ट्रप्रमुख नै आएका थिएनन् । त्यसैले पनि पोखराले यो पटक खुशी मनाउन जरुरी रहेको श्रेष्ठको भनाई छ । ‘हामी त खुशी छौं । सिंगो पोखरा खुशी छ । त्यसमा हिमाल पनि खुशी भएको छ,’ उनले भने ।

 

 

 

 

प्रकाशित: १९ कार्तिक २०७३ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App