coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतीय कारण देखाउँदै तरकारीमा ब्रम्हलुट

पोखरा - सर्वसाधारणको भान्सामा दिनहुँ पाक्ने तरकारीको मूल्य यतिबेला अकासिएको छ। भारतीय तरकारी विषादीका कारण आउन नपाएको र स्थानीय उत्पादन कम भएको बहाना देखाएर व्यापारीले तरकारीको मूल्य एकाएक बढाएका छन्। तरकारीको भाउ किन महंगो भनेर सोध्दा धेरै व्यापारीले एउटैखाले जवाफ दिन्छन– स्वदेशी उत्पादन कम छ, भारतीय तरकारी बजारमा आउन पाएको छैन। आपूर्ति कम हुन्छ, तर, माग बढी हुँदा मूल्य निकै अकासिएको छ।

व्यापारीका अनुसार पोहोर यो बेला भन्दा अहिले तरकारीको मूल्य करिब सतप्रतिशत महंगो छ। तरकारीको मूल्य अकासिएपछि उपभोक्ताको भान्सा पनि महंगिएको छ। कम आयस्रोत हुने र दैनिक ज्यालादारीमा काम गर्ने वर्गका लागि अहिलेको भान्सा निकै नै महंगो बनेको छ। व्यापारीले भारतीय उत्पादन आउन नपाएकाले नै यतिबेला तरकारीको मूल्य बढेको तर्क उपभोक्तासामु पेस गर्दै आएका छन्।

तरकारी तथा फलफूलका खुद्रा व्यापारी दीपक श्रेष्ठका अनुसार यो पटक तरकारी निकै महंगो छ। उनले पोहोर यो बेलाको दाँजोमा अहिले तरकारीको मूल्य करिब दोब्बरले बढेको बताए। उत्पादन कम, तर, माग बढी भएकाले यो बेला तरकारीको मूल्य अकासिएको उनले बताए। ‘पोहोरभन्दा अहिले यो बेला तरकारीको मूल्य झन्डै दोब्बरले महंगो छ। स्थानीय उत्पादन निकै कम छ, तर माग बढी छ,’ उनले भने, ‘यो पटक मौसमले पनि साथ दिएन। पूर्वी तराइतिरबाट त तरकारी आउनै सक्दैन।’
उनका अनुसार अहिले पोखरामा घिरौलाको खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ छ। भिन्डीको एक सय, घिउसिमीको एक सय ६०, बोडीको एक सय ४० रुपैयाँ मूल्य छ। त्यस्तै लौकाको प्रतिकिलो मूल्य ८०, बन्दा ६०, काउली एक सय, मुला ८० र गोलभेडाको मूल्य एक सय २० रुपैयाँ पर्छ। कतिपय व्यापारीले त यो भन्दा पनि बढी मूल्यमा तरकारी बेच्दै आएका छन्।

श्रेष्ठका अनुसार यतिबेला भारतबाट आउने लौका, ठूलो गोलभेडा, बोडी, सिमीलगायत तरकारी हुन्। तर ती कुनै पनि उत्पादन अहिले भित्रिएको छैन। ‘भारतबाट आउँदा मूल्य कम पर्दथ्यो, तर, यो पटक आएको छैन,’ उनले भने, ‘स्वदेशी उत्पादन नहुँदाको मार यो पटक परेको हो। आगामी दिनमा यो मूल्य अझै बढ्ने पक्का छ।’
कृषि उपज बजार व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद बास्तोला तरकारीभन्दा मासु सस्तो हुने अवस्था आउन थालेको बताउँछन्। भारतीय तरकारी नआएको र स्वदेशी उत्पादन प्रयाप्त नहुँदा मूल्यवृद्धि अकासिएको उनले बताए। ‘भन्सारबाटै तरकारी भित्रिएको छैन। फलफूल पनि आएको छैन। आएको तरकारी पनि अनेक

निहुँमा केही दिन भन्सारमा रोकिन्छ, अनि त्यही कुहिन्छ,’ बास्तोलाले भने, ‘केही गरी नेपाल भित्रिए पनि यहाँसम्म आउँदा कुहिएर खेर जान्छ।’ उनले कम आयस्रोत हुने उपभोक्ताले तरकारी खानै नसक्ने अवस्था रहेको बताए। ‘तरकारी महंगो हुनुमा पहिलो कारण भारतीय आयात रोकिनु हो। दोस्रो कारण तराईतिर डुबान भएर पनि उत्पादन आउन पाएन,’ बास्तोलाले भने, ‘तरकारीको उत्पादनमा एक दिनकै अवरोधले पनि क्षति पु¥याउँछ।’ भारतबाट आयात नगरी तरकारीले धान्दै नधान्ने उनले बताए। विशेषगरी पोखराका होटलमा खपत हुने तरकारी अहिले कम भएको उनले बताए। ‘माग बढी छ, स्थानीय उत्पादन कम छ,’ उनले भने, ‘उत्पादन पर्याप्त हुन्थ्यो भने यो अवस्था आउने थिएन।’

थोक र खुद्रा व्यापारीबीचको मूल्य निर्धारण गर्ने निकायको बेवास्ताले पनि उपभोक्ता बढी मारमा परेको उनको भनाइ छ। थोक बजारमा किनेको तरकारीको मूल्यमा बढीमा २० प्रतिशत बढाएर खुद्रा व्यापारीले बेच्न पाउने नियम हो। तर त्यो वृद्धिदर सतप्रतिशतसम्म हुने गरेको छ। यसमा अनुगमनको अभाव रहेको उनले बताए। ‘थोकको दोब्बर मूल्यमा खुद्रामा बिक्री हुने गरेको छ। यो रोक्ने कोही छैन। मापन नै भएको छैन,’ उनले भने, ‘आवाज मात्र उठ्ने गरेको छ। तर, प्रशासनले बेवास्ता गरेको छ। तरकारीको मूल्य अझै बढ्नेवाला छ। उपभोक्ता नै सबैभन्दा बढी मारमा पर्ने हुन्।’

समितिका किसान प्रतिनिधि चित्रनाथ पौडेलले तरकारीको भाउ बढ्दा पनि उपभोक्ता र किसान नै बढी मारमा पर्ने गरेको बताए। उनका अनुसार किसानसँग सस्तोमा किनेर बीचका केही व्यापारीले थोकमा बिक्री गर्छन्। थोकबाट पनि खुद्रामा कारोबार हुँदै उपभोक्ताको भान्सासम्म पुग्दा सर्वसाधारणमा नै मारमा पर्ने उनले बताए। ‘किसानले थोक बजारमा बिक्री गर्नुभन्दा पनि थोकमा किनेर खुद्रामा बेच्दा बढी नाफा लिने गरेका छन्। थोक र खुद्राबीचको नाफाको दूरी बढी छ,’ पौडेलले भने, ‘यसलाई व्यवस्थित गर्न सकेको खण्डमा मात्र उपभोक्तालाई राहत हुन्छ। नत्र उपभोक्ता र किसान सधैं मारमा पर्छन्।’ किसान र थोक बिक्रेताबीचको अन्तर पनि बढीमा २० प्रतिशत हुने गरे पनि थोकबाट खुद्रामा जाँदाको अन्तर बढी हुने गरेको उनले बताए। थोकबाट खुद्रामा जाँदा २० प्रतिशत नाफा बढाउन पाउने भए पनि खुद्रा व्यापारीले सतप्रतिशतसम्म बढाउने गरेको उनले बताए।

कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक रुपा दाहालले पनि अबका केही दिनपछि तरकारी अझै महंगो हुने बताइन्। उनले पनि थोक र खुद्रा व्यापारीबीचको दूरीले यो अवस्था आउको बताइन्। ‘थोकमा किनेको तरकारी २० प्रतिशतसम्म नाफा बढाएर बेच्न पाइन्छ। तर, यहाँ खुद्रा व्यापारीले सतप्रतिशतसम्म बढाउने गरेका छन्,’ दाहालले भनिन्, ‘थोक र खुद्राबीचको अन्तर रोक्न नसकेसम्म यो अवस्था आउँछ। यसको मारमा अन्ततः उपभोक्ता पर्छन्।’

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला थोक र खुद्राबीचको मार्जिन अधिक भएकाले यो अवस्था आएको बताए। व्यापारीले भारतीय आयातलाई देखाएर मूल्य वृद्धिको निहुँ बनाए पनि यो वास्तविकता नरहेको उनले बताए। तरकारीको मूल्य अकासिनुमा भारतीय आयात रोकिनु एउटा कारण भए पनि त्यो भन्दा महŒवपूर्ण व्यवसायीको गलत नियत बढी भएको कोइरालाले बताए। उनका अनुसार पोखराको स्थानीय उत्पादनले २५ प्रतिशत माग धान्छ। बाँकी ७५ प्रतिशत पनि स्वदेशी उत्पादनले धान्छ। तर, व्यापारीले भारतीय कारण बनाएर स्वदेशी उत्पादनमा पनि मूल्य बढाएको उनले बताए। ‘स्वदेशी उत्पादन नै पोखरा भिœयाउँछन, तर, भारतबाट आउन नपाउँदा अभाव भएको भनेर मूल्य बढाउँछन्,’ उनले भने, ‘भारतीय उत्पादन आउन नपाउँदा केही मूल्य बढे पनि त्यो पहिलो कारण होइन।’

‘कानुनी कारवाहीको पक्ष कमजोर हुँदा यो अवस्था आएको हो,’ कोइरालाले भने, ‘कानुनले तोकेभन्दा बढी नाफा खान नपाउने अवस्था आउनुपर्छ। बजार अनुगमन गर्ने अधिकार स्थानीय तह र प्रदेश तहलाई दिए पनि त्यो खालको संरचना तयार नहुँदा यो अवस्था आएको हो।’ व्यापारीले कानुनी संरचना कमजोर भएको बेला पारेर उपभोक्ता ठगेको उनले बताए। अनुचित लाभ लिने मनसाय भएका व्यवसायीले यो अवस्था ल्याएको मञ्च अध्यक्ष कोइरालाको भनाइ छ।

उत्पादन    किसानको मूल्य     थोक मूल्य    खुद्रा मूल्य
घिरौला           ४०                    ६०            ८०
भिन्डी             ४५                   ६०           १००
घिउसिमी         ८५                  १२०          १६०
बोडी               ६५                  १२०         १४०
लौका               ४०                  ६०           ८०
बन्दा    –                                ५०            ६०
काउली    –                              ९०          १००
मुला    –                                  ४५         ८०
गोलभेडा          ८०                     ११०       १२०

 

प्रकाशित: २ श्रावण २०७६ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App