७ वैशाख २०८१ शुक्रबार
अर्थ

वर्षासँगै रोपाइँ गर्न भ्याइनभ्याइ

पर्साको अलौं कोन्हियामा रोपाइँको तयारी गर्दै किसान। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - साताभरको मुसलधारे झरीसँगै आएको बाढी सकियो। अब किसानलाई खेतको रोपाइँ गर्न भ्याइनभ्याइ छ। खेतको माटो रोपाइँका लागि चाहिएजस्तो गलेर मलिलो भएको छ। बाढीको पानी खेतबाट फर्केपछि मौकाको लाभ लिँदै किसानले तीव्र गतिमा रोपाइँ बढाएका छन्। पर्साको सिबर्वाका किसान लालदेव राउत कुर्मीका अनुसारधेरैका लागि वर्षा बिपत्ती बनेर आएको छ भने कसैका लागि धान खेतीको शुभ साबित हुँदैछ।

हुन पनि यो वर्ष ‘आदरा’ अर्थात असार १५ को दिनसमेत पानी परेन। किसान चिन्तामा थिए। वीरगन्ज श्रीपुरस्थित कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा असार १५ सम्म १५ प्रतिशत रोपाइँ पनि भएको थिएन। मौसमले साथ नदिँदा यसपालि धानखेती पछाडि पर्ने चिन्तामा डुबेका किसान यतिखेर हर्षित छन्। असार ३१ सम्ममा पर्सामा ७० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामकिशोर प्रसाद पटेलले बताए। खेत रोपाइँका लागि तयार भएपछि हलो–गोरु र ट्याक्टर लिएर किसान खेतमा ‘माना’ हाल्न ब्यस्त छन्। वर्षासँगै किसानमा ‘मुरी’ फल्ने आश पलाएको छ। ‘यसपालि धेरै ढिलो भयो रोपाइँ भन्न मिल्दैन, तिलावे नदी पूर्व मात्र खेत अलिक खाली छ। त्यसयता रोपाइँ सिकिनै लागेको छ,’ पटेलले भने, ‘असार मसान्तभित्र सकिन अनुमान गरिएको रोपाइँ एक हप्ता अझ चल्ला।’

‘यही हो, समय किसानले माटोमा घुँडा धसेर काम गर्ने,’ खेतमा काम गर्दै भेंटिएका पर्सा बिन्दवासनीका रामाधार प्रसादले भने, ‘करिब हप्ता–दश दिन जति अझ किसानलाई अझ फुर्सद हुँदैन। त्यसपछि रोपाइँ सकिन्छ। धानको खेत तयार गर्नका लागि माटो घामले राम्ररी सुकेको हुनुपर्ने उनको भनाइ छ। ‘जोताइ गरेर खुकुलो भएको माटोमा घाम लाग्यो भने झारपात सुकेर नष्ट हुन्छ, त्यसपछि माटोलाई मसिनो पारेर चाहिने जति बिउ हाल्ने हो,’ पर्साको छिपहरमाई ५ जयमंगलापुरका किसान हलिम मियाँच्ले भने, ‘यो वर्ष बिडमा चाहिने बेला ठिक्कको पानी परेर बिउ पनि बेलैमा हुर्केको छ।’ उनका अनुसार बिउ हुर्केको भएर किसानले पानीको फाइदा उठाउन भ्याएका हुन्। जेठको अन्तिम साता परेको पानीले बिउ हाल्न किसानले भ्याएका थिए।

नयाँ पुस्ता विदेशिएको वा सहर बजारतिर सरेकाले गाउँमा खेती किसानीको काम गर्ने मान्छेको संख्या घटेपछि कृषिकर्म जोगाइराख्न गाउँमा श्रम सापटी सुरु भएको पर्साको जिराभवानी गाउँपालिका–३ नयकाटोलाका किसान रामेश्वर पंजियारले बताए। ‘एउटाले अर्काको खेतमा काम गरिदिएबापत त्यो अर्को व्यक्तिले आएर फेरि पहिलोको खेतमा काम गरेर हिसाब बराबर गर्ने चलन गाउँमा चलेको छ,’ पंजियारले नागरिकसित भने, ‘यसले किसानलाई खेतीपाती गर्न बल मिलेको छ।’ उनका अनुसार यसरी एकअर्कालाई सघाउँदै किसानलाई रोपाइँ सिध्याउने चटारो छ।

कृषि ज्ञान केन्द्रको रेकर्डअनुसार पर्सामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ। जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये एक तिहाइ भू–भाग मात्र गण्डक पूर्वी नहरसँग जोडिएका छन्। उसै पनि भारतबाट पानी नै ढिलो आउने नहरका अधिकांश तरसरी (कुलो) मिचेर संरचना नै मेटाइएका छन्। कतिपय ठाउँमा सार्वजनिक रुपमै नहर पुरेर सडकको रुपमा प्रयोगमा ल्याइएको छ। यसले नहर सञ्जालबाट जोडिएका खेतमध्ये ठूलो हिस्सा सिँचाइ प्रणालीबाट अलग्गिएका छन्। अझै पनि आकासे पानीको भर छ यहाँका धेरै किसानलाई।

प्रकाशित: २ श्रावण २०७६ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App