७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘भारतीय जासुस’सम्बन्धी मुद्दा पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश

हेग – अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसललाई पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ। पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको सैनिक अदालतले सन् २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

भारतले उनीमाथि लागेका आरोप खण्डन गर्नै संयुक्त राष्ट्रसंघको अदालतको ढोका ढक्ढक्याएको थियो। जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै हस्तक्षेप गर्न भारतले आइसिजेमा निवेदन दिएको थियो। जाधवमाथिको फैसला पुनरावलोकन गर्न आइसिजेले पाकिस्तानलाई आदेश दिए पनि उनलाई रिहा गरेर घर पठाइदिन भारतले गरेको अनुरोध भने उसले अस्वीकार गरेको छ। बलोचिस्तानमा विद्रोह मच्चिएको छ र इस्लामाबादले त्यसमा भारतको हात रहेको दाबी गर्दै आएको छ।
कुलभूषण जाधव व्यापारको सिलसिलामा इरानमा रहेका बेला उनलाई अपहरण गरी पाकिस्तान पु¥याइएको भारतको आरोप रहेको छ। आइसिजेको बुधबारको आदेशले दुई आणविक शक्ति सम्पन्न दुई देशबीच तनाव बढ्ने आशंका व्यक्त गरिएको छ। संयुक्त राष्ट्रसंघको अदालत आइसिजेका आदेश सदस्य राष्ट्रका लागि बाध्यकारी भए पनि त्यस्ता आदेश लागू गराउने अधिकार भने ऊसँग रहेको छैन।

जाधव पक्राउ भएलगत्तै पाकिस्तानले उनले जासुसी गरेको आरोप स्वीकार गरेको भिडियो सार्वजनिक गरेको थियो। तर भारतले त्यो दबाबमा बनाइएको भिडियो भन्दै पाकिस्तानी कदमको विरोध गर्दै आएको छ। सन् २०१७ को अप्रिलमा पाकिस्तानमा जाधवलाई मृत्युदण्ड सुनाइएको थियो। त्यसपछि भारतले त्यसबारे आइसिजेमा मुद्दा हाल्यो। आइसिजेले मुद्दामा फैसला नहुञ्जेल सो सजाय कार्यान्वयन नगर्न पाकिस्तानलाई भनेको थियो।

भारतले जाधवसँग आफ्ना कूटनीतिज्ञहरूको पहुँच नदिलाएर पाकिस्तानले भियना सन्धिको उल्लंघन गरेको आरोप लगाउने गरेको छ। पाकिस्तानले भने जाधव अवैध रूपमा छिरेका जासुस भएकाले उनको हकमा त्यस्ता पहुँच लागु नहुने तर्क प्रस्तुत गर्दै आइरहेको छ।

राष्ट्रहरुबीचको झगडा अन्तर्राष्ट्रिय कानुन बमोजिम समाधान गर्न आदेश दिनसक्ने गरि अन्तर्राष्ट्रिय अदालत आइसिजे सन् १९४५ मा गठन भएको थियो। यसको कार्यालय नेदरल्यान्ड्सको हेगमा रहेको छ। योभन्दा अघि सन् १९९९ मा पनि भारत र पाकिस्तानबीचको मुद्दा आइसिजेमा पुगेको थियो। त्यतिखेर भारतले आफ्नो नौसैनिक विमान खसाल्दा १६ जनाको ज्यान गएको भन्दै पाकिस्तानले विरोध गरेर मुद्दा हालेको थियो। तर उक्त मुद्दामा भने आफ्नो क्षेत्राधिकार नलाग्ने भन्दै आइसिजेले कुनै कारबाही गरेको थिएन।


मुम्बई हमलाका आरोपित हाफिज सइद पक्राउ
भारतको मुम्बई हमलाका आरोपित लस्कर–ए–तइबाका हाफिज सइद पक्राउ परेका छन्।
पाकिस्तानी अधिकारीहरुले सइदलाई पक्राउ गरेका हुन्। अमेरिका र भारतले सइदलाई सन् २००८ को मुम्बई हमला गराउने संगठनको नाइकेका रूपमा लिने  गरेका छन्।
पाकिस्तान सरकारका एक प्रवक्ताले सइदलाई प्रतिबन्धित संठनका निम्ति कोष जम्मा गरेको अभियोगमा हिरासतमा लिइएको जानकारी दिएका छन्। सइदले सन् १९९० को दशकमा पाकिस्तान आधारित लस्कर–ए–तइबा नामक एक संगठन स्थापना गरेका थिए। उनी पाकिस्तानमा खुला रूपमै बस्दै आएका छन्। तर मुम्बई हमलापछि भने पाकिस्तानले उनलाई बेलाबखत नजरबन्दमा राख्ने गरेको छ।

मुम्बई हमलामा एक सय ६० जना मारिएका थिए। भारत र अमेरिकाले मुम्बई हमलामा सइदलाई जिम्मेवार मान्ने गरेको भए पनि उनले भने सो हमलामा आफ्नो संलग्नता अस्वीकार गर्ने गरेका छन्। सइदलाई पाकिस्तानको लाहोर सहरबाट पक्राउ गरिएको बताइएको छ। पक्राउपछि उनलाई लाहोरको कोट लखपत जेलमा पठाइएको छ। अधिकारीहरुका अनुसार उनलाई ३० दिनपछि अदालतमा पेश गरिनेछ।

 

प्रकाशित: २ श्रावण २०७६ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App