coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कक्षाकोठा क्याम्पसबाट कम्युनिटीमा

१. शैक्षिक संस्थाहरूको भूमिका

वर्तमान समयमा प्राज्ञिक संस्थाहरूको भूमिका ठूलो छ । तर ज्ञानको सर्जक र प्रचारकका रूपमा स्थापित परम्परागत भूमिका आजको सन्दर्भमा अपूर्ण छ । सूचना र सञ्चारको धेरै विकास भइसकेको यो युगमा शैक्षिक संस्थाहरूले —

– प्रदर्शनयोग्य सिर्जनाहरू पनि तयार गर्नुपर्छ, र

– आफूले सिर्जेको ज्ञानको प्रत्यक्ष सदुपयोग गर्न सक्ने क्षमता विकास गर्नुपर्छ ।

 

काठमाडौँ विश्वविद्यालय कक्षाकोठालाई क्याम्पसबाट कम्युनिटीमा लैजाने अगुवाका रूपमा बुझाउन रुचाउँछ । यसरी ज्ञानलाई दिमाग र किताबबाट बाहिर निकाल्न सीपको खाँचो पर्छ । यसका लागि शिक्षक र विद्यार्थी दुवैमा हुनुपर्ने केही गुणहरू —

– व्यक्ति–व्यक्तिबीच सुमधुर सम्बन्ध,

– सामूहिक पद्धतिमा विश्वास,

– स्रोतहरूको कुशल उपयोग,

– दृढता,

० स्थानीय तथा सामयिक परिवेशहरूको ज्ञान, र

– नीतिनिर्माता तथा अन्य सरोकारवालाहरूसँगको सहकार्य हुन् ।

 

यिनै गुणहरूको विकासले मात्र हामी आफ्ना विद्यार्थीहरूलाई परिवर्तनको संवाहकका रूपमा तयार पार्न सक्छौँ ।

अहिले विश्वविद्यालयहरूलाई व्यवस्थित गर्ने र लगानी गर्ने पद्धतिका साथै तिनीहरूप्रतिको समाजको दृष्टिकोणमै परिवर्तन आउनु आवश्यक छ । कार्यान्वयनका क्षेत्रमा कठिन चुनौतीहरू देखिएका छन् । तिनको सामना गर्न धेरै पक्षहरूको संलग्नता बढाउने विधि निर्माण हुनु आवश्यक छ ।

सरकार, दातृ निकाय र अन्य सरोकारवालाहरूले के बुझ्नुपर्ने हुन्छ भने कुनै पनि नवीन कार्य सम्पन्न गर्नका लागि विश्वविद्यालयभन्दा उत्तम संस्था अरू हुन सक्तैन । किनभने —

– विश्वविद्यालय नै विशेषज्ञको समूह भएको अरूभन्दा स्थिर संस्था हो,

– विश्वविद्यालयमा निरन्तरता र दिगोपना दिने तत्वहरू संलग्न हुन्छन्,

– विश्वविद्यालयमा उत्कृष्टता हासिल गर्ने र गराउने संयन्त्रहरू विकसित भएका हुन्छन् ।

विश्वविद्यालयलाई आफ्नो विशेषज्ञताअनुरूप सफलताका आफ्नै ढाँचाहरू तयार गर्न सहयोग हुनुपर्छ । त्यस्ता ढाँचाहरू सानै भए पनि —

– शिक्षणका आदर्श झल्काउने विद्यालयहरू हुन सक्छन्,

– समुदायको सपनाको प्रतीक मानिने साना अस्पतालहरू हुन सक्छन्,

– निमुखाहरूको उत्थान गर्ने परियोजना वा सशक्तीकरण कार्यक्रमहरू हुन सक्छन् ।

 

भारत र अन्य छिमेकी मुलुकहरूसँगको हाम्रो सम्बन्धलाई हेर्दा हाम्रा लागि थुप्रै अवसरहरू व्याप्त छन् । तिनका माध्यमले मुलुकहरूबीचको सम्बन्ध सुदृढ पार्न विश्वविद्यालयहरूले प्रमुख भूमिका निर्वाह गर्न सक्छन् ।

आजको यस शुभ दिनलाई हामीले यसै अर्थमा पनि बुझेका छौँ ।

केही दिनअघि मैले यस क्षेत्रको जलवायु परिवर्तन र विकाससम्बन्धी एउटा कार्यशालामा भाग लिने मौका पाएको थिएँ । त्यहाँ भनिएअनुसार प्रकृतिले हामीलाई कहिल्यै छुट्टिन नसक्ने गरी जोडिदिएको छ । वास्तवमा हामीहरू

– हिमनदीको बहाव,

– नदीको धार,

– हावाको दिशा

– वा हुरीको बाटो परिवर्तन गर्न सक्तैनौँ ।

विहार र बङ्गालमा बाढीको प्रकोप रोक्नका लागि त्यसै ठाउँमा रूख रोपेर हुँदैन, नेपालका पहाडी भूभागमा रूख रोप्नुपर्छ भन्ने सन्देश यसले हामीलाई दिएको छ ।

हामी क्षेत्रीय चुनौतीहरूसँग पनि एक्लै लड्न सक्तैनौँ ।

महात्मा गान्धीबाट प्रेरित डा. मार्टिन लुथर किङले भनेझैँ — ‘हामीले कि त दाजुभाइजस्तो मिलेर बस्न सिक्नुपर्छ, कि त पटमूर्खहरूजस्तो लडेर नासिनुपर्छ ।’

– यस कुरामा हामी पूर्ण सचेत बनौँ,

– प्राकृतिक, सांस्कृतिक, राजनीतिक, सामाजिक, आर्थिक र वैज्ञानिक अवसर र चुनौतीहरू चिन्न र सामना गर्नमा सहकार्य गरौँ,

– यी चुनौतीहरूको सामना संयुक्त रूपमा गरौँ ।

शिक्षाको उद्देश्यको उचित प्रदर्शन नै हाम्रो शिक्षण पद्धतिको मूल लक्ष्य र आधार बन्नुपर्छ । यस विषयलाई अझ गान्धीजीले प्रस्ट शब्दमा भनेका छन् —

‘नागरिकको जीवनका प्रत्येक क्षण उपयोगी भएर बितून् भन्ने सिद्धान्तलाई जोड दिने शिक्षा नै शिक्षाको सबैभन्दा उत्तम रूप हो ।’

२. शिक्षामा उत्कृष्टताको प्रतिबद्धता

अघिल्लो शताब्दीमा हामीले धेरै सफलता हासिल ग¥यौँ । अब हामीले ठोस प्रमाण, नीति–नियम, उचित वातावरण निर्माण र कार्यान्वयनको प्रतिबद्धताका माध्यमले चुनौतीहरूको सामना गर्नु आवश्यक छ । हामीसँग यसका लागि प्रशस्त अवसरहरू छन् । विश्वविद्यालयहरू राष्ट्रका लागि राम्रा प्रयोगशाला हुन् । हामीले निर्धारण गरेका विषयबाट प्रत्येक व्यक्तिले केही न केही सिक्ने अवसर पाउँछ ।

हामी ऐतिहासिक भेदभाव र शोषणबाट मुक्त न्यायपूर्ण व्यवहार भोग्न चाहन्छौँ । शिक्षाले —

– मानिसका बीच भेदभाव सिर्जना गर्नु हुँदैन,

– सीमित समुदायहरू पछाडि छोडिनु हुँदैन ।

– सीमान्तकृत समुदायको उत्थान गर्नका लागि के गर्ने भन्ने कुरा बताउनैपर्छ ।

 

यसर्थ हामीले आफैँसँग प्रश्न गर्नुपर्ने भएको छ — हामीले विकट र दुर्गम ठाउँका तर प्रशस्त सम्भावना बोकेका गरिब विद्यार्थीका लागि सहरमा बस्ने विद्यार्थीले पाउने बराबरको अवसर सिर्जना गर्नमा कत्तिको सक्रियता देखाएका छौँ ?

अब हामी यस्तो प्रणाली निर्माण गर्नतिर लागौँ, जसले —

– गुणस्तरको ग्यारेन्टी गरोस्,

– उत्कृष्टताको खोजी गर्न सकोस्,

– सराहना गर्ने, स्वीकार गर्ने र आभारी रहने संस्कारलाई प्रोत्साहित गर्न सकोस् ।

यस्तो प्रणालीको विकासले विश्वविद्यालयलाई नयाँ उचाइमा लैजान मद्दत गर्नेछ ।

हामी विश्वविद्यालयहरूलाई कट्टरवाद, राजनीतिक संलग्नता, व्यक्तिगत आग्रह र क्षणिक लाभका साङ्लाहरूले बाँधेर पछाडि नतानौँ । यसका लागि सरकार, समुदाय, विद्यार्थी, कर्मचारी, प्राध्यापक, दातृ निकाय, आलोचक जस्ता सरोकारवालाहरूको उत्तिकै प्रतिबद्धता आवश्यक छ ।

– यो विषय भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित होइन । यो त हाम्रो मानसिकतामा परिवर्तन आउनुपर्छ भन्ने विषय हो ।

– यो विषय हामीले के पाउँछौँ भन्ने पनि होइन, अरूलाई के दिन सक्छौँ भनी आफैँलाई चुनौती दिने सोच हो ।

३. संस्थागत सहकार्य

यहाँ उल्लेख गरिएका दुवै कुराहरूमा नवीन योजना, वृहत् संयोजन र सहकार्य हुनु आवश्यक छ । हामी दुवै छिमेकी मुलुकले धेरै कुराहरू आदानप्रदान गरिरहेका हुनाले यसबाट आपसी सहकार्य गर्न सम्भव छ भन्ने देखिएको छ ।

म शैक्षिक सहकार्यको उदाहरण नै दिन चाहन्छु ।

काठमाडौँ विश्वविद्यालयको भौतिक संरचनाको निर्माण र शैक्षिक जनशक्तिको उत्पादनमा हाम्रो मित्रराष्ट्र भारतले पनि सुरुदेखि नै गहिरो अभिरुचिका साथ सघाएको छ । यस विश्वविद्यालयका विभिन्न शैक्षिक विधाहरूमध्ये चिकित्सा शिक्षाको इतिहास पनि भारतको चिकित्सा शिक्षासँग जोडिएको छ । हामीले गर्व गर्ने कुरा के हो भने —

– अहिलेसम्म थुपै्रै भारतीय युवाहरू काठमाडौँ विश्वविद्यालयको डिग्री लिई मेडिकल डाक्टर र विभिन्न विधामा स्नातकोत्तर बनेका छन्,

– मेडिकल कार्यक्रमको प्रारम्भिक दिनहरूमा दर्जनौँ भारतीय प्राध्यापकहरूले हामीलाई साथ दिएकाले महत्वाकाङ्क्षी र असम्भव ठानिएको स्वास्थ्य शिक्षामा परिवर्तन ल्याउन धेरै हदसम्म हामी सफल भएका छौँ ।

हामीले अझ राम्रोसँग सम्पन्न गर्नुपर्ने विषयहरू त अरू पनि छन् । तर अहिलेका लागि हामी —

– आफ्ना अहिलेसम्मका उपलब्धिहरूमा गर्व गरौँ,

– आफ्ना कमजोरी स्वीकार गरौँ, र

– आफूलाई सुधार गर्न सदैव तत्पर बनौँ ।

भारत र नेपालबीच सहकार्य हुन सक्ने थुप्रै अवसरमध्ये यो त एउटा सानो उदाहरण मात्र हो । यस्ता अवसरहरू अरू पनि

छन् । जस्तै —

– समान विषयहरूमा हातेमालो र सहकार्यको साझा मञ्चको निर्माण एवं जलविद्युत आयोजना, समसामयिक कलाकृति, शिक्षानीति, अनुसन्धान आदिजस्ता दुवै देशका साझा महत्वका विषयमा उत्कृष्ट केन्द्रहरू सिर्जना गर्ने उद्देश्य राख्न सकिन्छ ।

आखिर जुन ठाउँमा समस्या छ, समाधान पनि त्यही ठाउँमा भेटिन्छ ।

– धेरै चुनौती रहेका स्थानहरूमा विश्वविद्यालयलाई लैजान सकिन्छ ।

– आजसम्म कायम रहेका व्यक्तिगत तथा व्यावसायिक सम्बन्धहरूलाई सहकार्यका संस्थागत संरचनाहरूमा रूपान्तरित गर्न सकिन्छ । ज्ञान विश्वव्यापी हुने भएकाले भौगोलिक सिमानाभित्र विश्वविद्यालयलाई नबाँधौँ । दुई देशबीचको अटुट सम्बन्ध कागजी सन्धिहरूमा मात्र होइन, मानिसहरूको हृदय र व्यवहारमा आधारित हुन्छ भन्ने बुझौँ ।

– एक–अर्कामा निहित शक्तिहरू उजागर गराउने अवसरको सिर्जना गर्न सकिन्छ । आफूभित्र लुकेको शक्ति बाहिर ल्याउने उत्तम उपाय यही हुनेछ ।

भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीको जीवन र उहाँका उपलब्धिहरूले के सिकाउँछन् भने असम्भव ठानिएको लक्ष्यतिरको यात्रा गर्दा हामीले आलोचनाबाट कहिल्यै विचलित हुनु हुँदैन ।

इतिहास आलोचकहरूले रचेका हुँदैनन् भन्ने सत्य मैले पनि आत्मसात गरेको छु र अभिव्यक्त पनि गर्ने गरेको छु । जोखिम र असफलताको सम्भावना देखेर पनि क्रियाशील रहनेहरूले मात्रै इतिहास रचेका हुन्छन् । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल सानै भए पनि यही कुराका उदाहरण हुन् जस्तो हामीलाई लाग्छ । तसर्थ —

– आवश्यक पर्नेजति समय लिएर मात्र निर्णय गरौँ,

– आफूले गरेको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध बनौँ ।

अन्त्यमा, यस बेला म भारतका पूर्वराष्ट्रपति स्वर्गीय डा. एपीजे अब्दुल कलामको स्मरण गर्न चाहन्छु । उहाँले आठ वर्षअघि काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहको प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो। उहाँ हामी सबैले असीम श्रद्धा र सम्मान गरेका व्यक्तित्व हुनुहुन्छ । उहाँको एउटा भनाइ यहाँ राख्न चाहन्छु —

‘सपना त्यो होइन जुन तिमी निदाएको बेला देख्ने गर्छौं, सपना त त्यो हो जसले तिमीलाई निदाउनै दिँदैन।’

– काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. श्रेष्ठले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई महाविद्यावारिधी प्रदान गरिने समारोहलाई बिहीबार गरेको संवोधनको सम्पादित अंश ।

प्रकाशित: १९ कार्तिक २०७३ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App