coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समाजवादी–राजपा एकताका लागि गुपचुप कुरा मिलाउँदै

काठमाडौं - समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीरकण प्रक्रिया भित्रभित्रै धेरै अघि बढेको छ। तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी सबैलाई चकित पारेजस्तै समाजवादी र राजपाबीच जतिसक्दो चाँडो एकीकरण गरी चकित पारेर देखाउन दुवै पार्टीका नेताहरूले औपचारिक–अनौपचारिक वार्ता अघि बढाएका छन्।

राजपाका वरिष्ठ उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लले समाजादी पार्टी र राजपाबीच एकीकरणका लागि औपचारिक–अनौपचारिक वार्ता र छलफल पटकपटक भइरहेको बताउँदै जतिसक्दो चाँडो टुंगो लगाउने तयारी भएको बताए। उनले भने, ‘अहिले बाढीपीडित उद्धारको काममा नेताहरू मधेसमा व्यस्त हुनु भएको छ। बाढी पहिरोको मौसम सकिएपछि एकीकरण प्रक्रिया पुनः अघि बढ्छ।’ बाढीपीडित क्षेत्रमा नेताहरू व्यस्त भएकोले विगत ८÷१० देखि वार्ता प्रक्रिया रोकिएको उनले जनाए।
दुई पार्टीबीच एकीकरण प्रक्रिया अघि बढेको समाजवादी पार्टीका महासचिव रामसाह यादवले पनि बताए। ‘दुइ पार्टीबीच एकीकरण प्रक्रिया औपचारिक–अनौपचारिक रूपमा अघि बढेको छ। यसका लागि विभिन्न तहमा छलफल भइहेको छ,’ उनले भने। एकीकरण प्रक्रियाको नेतृत्व गरिरहेका दुवैपक्षका शीर्ष नेताहरू भने एकीकरण प्रक्रियाबारेमा धेरै बोल्न चाहन्नन्। राजपाका अध्यक्षमण्डलका एक सदस्य भन्छन्, ‘अहिले सबै कुरा बाहिर ल्याउने हो भने एकता भाँड्न सुरु हुन्छ। हुन लागेको एकता पनि बिग्रन्छ। त्यसैले यसबारेमा केही नभनांै।’

मिल्न बाँकी विषय
-निर्वाचन प्रणाली
-शासकीय स्वरूप
-संगठनात्मक संचरना

आगामी कात्तिक अन्तिम साता राजपाको महाधिवेशनको तिथि तय गरिएको छ। महाधिवेशनपछि राजपा एकल नेतृत्वमा जाँदैछ। एकल नेतृत्वमा गए राजपाको अध्यक्षमा महन्थ ठाकुर या राजेन्द्र महतोमध्ये एकजना हुने करिब निश्चित छ।’ समाजवादी पार्टीका एक नेता भन्छन, ‘अहिले नै राजपासँग पार्टी एकीकरण गरे एकीकृत पार्टीमा नेता व्यवस्थापन गर्न गाह्रो हुन्छ। महाधिवेशनपछि राजपा एकल नेतृत्वमा गयो भने एकीकृत पार्टीमा ४ या ३ सदस्यीय अध्यक्ष राखी एकीकरण गर्न सजिलो हुन्छ।’

यद्यपि राजपाका वरिष्ठ उपाध्यक्ष शुक्लले भने संगठनात्मक संचरचनाको विषयलाई अन्तिममा टुंग्याउने गरी वार्ता अघि बढिरहेको बताए। उनले भने, ‘नेता व्यवस्थापन गर्ने विषय त्यति ठूलो होइन। यसका लागि ३÷४ वटा विकल्प छन्।’ उनका अनुसार निर्वाचन प्रणाली, शासकीय स्वरूप र संगठनात्मक संचरनाको विषयलाई अन्तिममा टुंग्याउने सहमति भएको छ। निर्वाचन प्रणालीको मुद्दाामा राजपाले मिश्रित निर्वाचण प्रणाली मानेको छ भने समाजवादी पार्टीले पूर्ण समाजवादी निर्वाचन प्रणाली भन्दै आएको छ। यसैगरी शासकीय स्वरूपमा समाजावादी पार्टीले कार्यकारी राष्ट्रपतिको मुद्दा अघि सारेको छ भने राजपाले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको मान्यता राखेको छ। सैद्धान्ति विषयलाई कसरी मिलाउने भन्नेबारे अहिले कुराकानी अघि नबढेको महासचिव यादवले बताए। उनले भने, ‘अहिले अरू विषयमा कुराकानी भइरहेको छ। अरू विषय टुंगिए सैद्धान्तिक विषय पनि टुंगिन्छ।’

राजपा स्रोतका अनुसार समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राजपाका नेता महन्थ ठाकुरबीच छुट्टै कुराकानी भएको छ। यसैगरी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेता राजेन्द्र महतोले पनि पटकपटक कुराकानी अघि बढाएका छन्। दुवै पार्टीले वार्ता टोली पनि गठन गरेका छन्। समाजवादी पार्टीले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तथा राजपाले राजेन्द्र महताको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन्। वार्ता टोलीका सदस्यहरूलाई बेवास्ता गरी दुइ पार्टीका शिर्ष नेताहरूले आफू –आफूमा वार्ता गरिरहेको गुनासो वार्ता टोलीका एक सदस्यले बताए। स्रोतका अनुसार आफू र यादवबीच भएका कुराकानीबारे महतोले ठाकुरलााई मात्रै ब्रिफिङ गरेका छन्। यस विषयमा उक्त पार्टीका अध्यक्षमण्डलका अन्य सदस्यलाई समेत जानकारी छैन।’ यसैगरी ठाकुर र भट्टराईबीच भएको कुराकानी यादव र महतोबाहेक अरूलाई जानकारी गराइएको छैन।

राजपाका नेताहरू दुई पार्टीबीच एकीकरण घोषणाअघि नै समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेका छन्। समाजवादी पार्टीका नेताहरूले पार्टी एकीकरणका सवालमा सरकार छाड्ने÷नछाड्ने विषय त्यति ठूलो नभएको बताउँछन्। समाजवादी पार्टीका अर्का एक नेता भन्छन्, ‘पार्टी एकीकरण गर्ने भए सरकार छाड्ने÷नछाड्ने विषय त्यति ठूलो विषय नै होइन। यसलाई उहाँहरू(राजपाका नेता)सर्त राख्नुपर्ने आवश्यकता छैन।’ स्रोतका अनुसार राजपाका केही नेताहरू समाजवादी पार्टीसँग एकीकरण गरी राजपा पनि सत्तारुढ पार्टी हुनुपर्ने चाहना राखेका छन् तर यसबारेमा खुलेर बोल्न चाहन्नन्। राजपाका एक वरिष्ठ नेताका अनुसार समाजवादी पार्टी र राजपावीच एकता भएमा एकीकृत पार्टीले लोकतान्त्रिक सिद्धान्त अबलम्वन गर्ने सहमति करिब करिब भएको छ। ती नेता भन्छन्, ‘एकीकरणपछि एकीकृतले पार्टी कम्युनिज्म सिद्धान्त नअपनाउने सहमति पनि भएको छ।’ यसमा दुवै पक्षका नेताहरूले सहमति जनाएको पनि ती नेताले दाबी गरे।

प्रकाशित: २ श्रावण २०७६ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App