coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सातादेखि मध्यपहाडी राजमार्ग बन्द

सिन्धुली - बाढी र पहिरोको चपेटामा परेर असार २६ गतेदेखि अवरुद्ध मध्यपहाडी राजमार्ग एक साता बित्दा पनि खुल्न सकेको छैन। राजमार्गका विभिन्न स्थानमा ठूल्ठूला पहिरो गएका छन्, जसलाई पन्छाउन अझै समय लाग्ने देखिएको छ। असार २४ गते बेलुकादेखि सोमबारसम्म परेको अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउठाँउमा ठूला पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध हुँदा खोटाङ ओखलढुंगा, सोलुखुम्बुलगायत पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै आवातजावत गर्ने सवारीसाधन चलेका छैनन्। सवारी नचलेपछि यात्रुहरु हिँडेरै यात्रा गर्न बाध्य छन्।

मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी खण्डअन्र्तगत विभिन्न स्थानमा पहिरो खसेको र हालसम्म खुल्न नसकेको स्थानीय गौरव कार्कीले जानकारी दिए। उनका अनुसार मध्यपहाडी राजमार्गस्थित हैबारनजिकै अक्करे भीरमा गएको पहिरो दुई दिन लगाएर बल्ल पन्छाइएको छ। खुर्कोटबाट करिब १७ किलोमिटरसम्म पहिरो पन्छाउने काम भए पनि राजमार्ग एकतर्फी रूपमा खुलाउन अझै दुई दिन लाग्न सक्ने स्थानीयको अनुमान छ।
अविरल वर्षाले मध्यपहाडी राजमार्गअन्र्तगत गोलञ्जोर गाँउपालिका–२ बितिजोर खोलाको पुलमा क्षतिग्रस्त भएकाले सो स्थानमा राजमार्ग ड्राइभर्सन गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष दौलत कार्कीले बताए। पुलको एक भाग पूर्ण रूपमा क्षति भएको छ। पुलको एकातर्फ पिलरको भित्रपट्टि बाढीले खोलेपछि राजमार्ग र पुल छट्टिएको छ। ‘खोलाबाट सडक ड्राइभर्सन गर्ने तयारी भइरहेको छ, पुल बनाउन केही समय अझै लाग्छ,’ उनले भने, ‘निरन्तर खुलाउने प्रयास जारी छ।’

खुर्कोट घुर्मी खण्डको ६० किलोमिटरभित्र विभिन्न स्थानमा ठूला तथा साना पहिरो गएपछि स्थानीय जनप्रतिनिधिसहित सडक रिाजमार्ग खोल्ने प्रयास भने जारी राखेको छ। असार २६ गते मध्यपहाडी राजमार्गमा पहिरो खस्दा दुईवटा गाडीसमेत पुरिएका थिए।
घुर्मीबाट काठमाडौंतर्फ जादै गरेको ना१ज ३७६४ नम्बरको सुमो फिक्कल गाँउपालिकास्थित सोखुखोलामा आएको बाढीको लेदोमा पुरिएको थियो। यस्तै फिक्कल गाँउपालिकाकै बाँदरेखोलामा आएको बाढी र लेदोका कारण एउटा ट्रक पुरिनुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो।

गाँउपालिकाको डोजर लगाएर केही स्थानमा पहिरो पन्छाउने काम गरिएको फिक्कल गाँउपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले बताइन्। सोखुखोला, नवलपुर, पञ्चकन्यालगायत स्थानमा खसेको ठूला पहिरोका कारण राजमार्ग खुल्न नसकेको उल्लेख गर्दै सुनुवारले भनिन्, ‘हामी पहिरो पन्छाएर सकेसम्म छिटो खुलाउन चार दिनदेखि प्रयास गरिरहेकै छौं। ‘वर्षा रोकिनेबित्तिकै पहिरो पन्छाउन थालेका थियौं तर वर्षा थपिएसँगै पहिरोपनि थपियो,’ उनले भनिन्, ‘अहिले वर्षा रोकिएकाले दुई दिनभित्र पहिरो हटाइसक्छौं भन्ने अपेक्षा छ।’

घुर्मीबाट फिक्कल गाँउपालिकामा पर्ने राजमार्गसम्म आउने क्षेत्रमा समेत धेरै स्थानमा पहिरो भएको छ। जिल्ला ट्रफिक प्रहरी प्रमुख सई विष्णु बस्नेतका अनुसार पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग खुलाउन प्रयास भइरहेको छ। लगातारको वर्षाले मध्यपहाडी राजमार्ग र विपी राजमार्ग अवरुद्ध भएको थियो। विपी राजमार्गमा भने पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App