७ वैशाख २०८१ शुक्रबार
समाज

हेलिकोप्टरबाट अनुगमन, बाढीपीडित आक्रोशित

मदन ठाकुर/ जितेन्द्रकुमार झा

रौतहट/राजविराज - पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, राजपा अध्यक्षमण्डल संयोजक अनिलकुमार झा, संघ र प्रदेशका सांसदलगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।

हेलिकोप्टरबाट आएको सरकारी टोली सदरमुकाम गौरस्थित नेपाली सेनाको इन्द्र बक्स गणमा ओर्लिएको थियो। सरकारी टोली बाढीले बितन्डा मच्याएको छैटौं दिन बुधबार बिहान साढे १० बजे सेनाको हेलिप्याडमा ओर्लिएको थियो। टोलीमा संघीय संसद् विकास समितिका सभापति कल्याणी खड्का, सांसद प्रभु साहसमेत थिए। जम्बो सरकारी टोली स्थलगत रुपमा अनुगमन गर्न आए पनि सुरक्षा निकायका पदाधिकारीसँग कुरा गरेर हेलिकोप्टर चढेर फर्केपछि बाढीपीडित आक्रोशित बनेका छन्।

‘शीर्ष नेता सम्मिलित सरकारी टोली सुरक्षा निकायका पदाधिकारीसँग कुरा गरेर फर्किनु थियो भने नआएको भए हुन्थ्यो। फोनबाट पनि जानकारी लिन सकिन्थ्यो ? राज्यको सम्पति दुरुपयोग गरेर हेलिकोप्टर चढ्ने तर पीडितलाई नभेट्ने नेता कसरी जनप्रिय ?’

‘शीर्ष नेता सम्मिलित सरकारी टोली सुरक्षा निकायका पदाधिकारीसँग कुरा गरेर फर्किनु थियो भने नआएको भए हुन्थ्यो। फोनबाट पनि जानकारी लिन सकिन्थ्यो ? राज्यको सम्पति दुरुपयोग गरेर हेलिकोप्टर चढ्ने तर पीडितलाई नभेट्ने नेता कसरी जनप्रिय ?’ गौर ६ का सदानन्द झाले आक्रोश पोखे। दुर्गा भगवती १ का श्यामनारायण झाले पनि नेता–मन्त्रीको रबैयाप्रति आक्रोश पोखे। ‘वरिष्ठ नेता नेपालसहित गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री यादवहरु के गर्न आए ?’ उनले भने, ‘के हेलिकोप्टर चढ्ने रहरमात्रै छ मन्त्रीमा, जनताको पीडासँग कुनै सरोकार छैन ?’ नागरिक समाजका सचिव विजयकिशोर झाले पूर्वप्रधानमन्त्री नेपाल डुबानमा परेको आफ्नै घरसमेत हेर्न नआउँदा आफूहरुले लेखेर राखेको ज्ञापनपत्र बुझाउन नपाएको बताए।

संघीय सरकारका मन्त्री र सांसदको टोलीले हेलिकोप्टरबाट अनुगमन गरी सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएको छ। टोलीले रौतहटका बाढी प्रभावित गाउँहरूको अवस्था हेलिकोप्टरबाटै अनुगमन गरेको थियो। हेलिकोप्टर अनुगमनपछि नेपाली सेनाको पुरेन्वास्थित इन्द्र बक्स गणमा ओर्लिएर टोलीले सुरक्षा निकायका प्रमुखसहित अन्य सरोकारवाला निकायका प्रमुखलाई बोलाएर जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएको थियो। बाढीबाट गौर र बन्जरहा अत्यधिक प्रभावित भएको जानकारी आफूले केन्द्रीय टोलीलाई गराएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। पूर्वप्रधानमन्त्री नेपालले बाढीबाट रौतहटलाई जोगाउन सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन्। पूर्व बगमती र पश्चिम बकैयाको बाढीले विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकाले सरकार गम्भीर भएर लाग्न जरुरी रहेको उनले औंल्याए।

पूर्वप्रधानमन्त्री र बहालवाला मन्त्रीहरुसहितको जम्बो टोलीले बुधबार प्रदेश २ का बाढीपीडित विभिन्न क्षेत्रको अनुगमन गरेको छ।

टोलीमा रहेका गृहमन्त्री थापाले उद्धार कार्य लगभग सकिएको बताए। उनले भने, ‘उद्धारको काम सकिएकाले अब सरकार पुनर्निर्माणतिर लागेको छ।’ स्वास्थ्यमन्त्री यादवले बाढी प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सकहरूको टोली पठाइने बताए। रौटहटमा बाढी, पहिरो र डुबानबाट ७० हजार परिवार प्रभावित भएका छन्। ज्लिामा बाढीबाट नौजनाको ज्यान गएको छ भने दुई जना बेपता छन्।

सरकारी टोलीले सप्तरीका बाढी प्रभावित क्षेत्रको पनि अवलोकन गरेको छ। टोलीले तिलाठी कोइलाडी गाउँपालिकाको स्थलगत अनुगमन गर्नुका साथै पीडितको गुनासो सुनेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए। तिलाठी कोइलाडी गाउँपालिका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव निर्वाचित भएको क्षेत्रअन्तर्गत पर्छ। स्रोतका अनुसार सरकारी टोली सप्तरी आउने पूर्वनिर्धारित कार्यक्रम थिएन। पूर्वप्रधानमन्त्री नेपालको गृह जिल्लाको अवस्था बुझ्ना आएको उक्त टोली उपप्रधानमन्त्री यादवकै विषेश पहलमा सप्तरी पनि आएको हो। गृहमन्त्री थापाले बाढीबाट हुने क्षति न्यूनीकरण तथा स्थायी समाधानका लागि आफूले हरसम्भव पहल गर्ने आश्वासन दिएका छन्।

सरकारी उदासीनताले बाढीपीडित मारमा : देउवा
नेपाली कांग्रेसका सभापतिसहितको टोलीले रौतहटका बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको छ। टोलीले बाढीपीडित लक्ष्मीपुर, गंगापिपरालगायत क्षेत्रको स्थलगत अवलोकन गरेको छ। अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा देउवाले सरकारले समयमा राहत उपलब्ध नगराउँदा बाढीपीडित मारमा परेको बताए।
बागमती नदीको बाँध फुटेर डुबानमा परेको गढीमाई नगरपालिकाको लक्ष्मीपुर क्षेत्र निरीक्षण गर्दै दुर्गा भगवतीको गंगापिपरा पुगेका सभापति देउवाले पत्रकार सम्मेलन गरी सरकारले पीडितलाई राहत उपलब्ध गराउन नसकेको भन्दै आलोचना गरे। ‘यतिबेला तराई÷मधेसका जनता बाढीमा डुबेका छन्। उनीहरूलाई सहयोग गर्नुपर्ने प्रस्ताव हामीले संसद्मा लग्दा सता पक्षले संसद् बैठक स्थगित गरेर गैरजिम्मेवजारी काम गरेको छ। प्राकृतिक प्रकोपमा परेका जनताप्रति सरकार अलिकति पनि संवेदशील देखिएन।’

भारतले सीमाक्षेत्रमा बाँधेको बाँधका कारण रौतहट डुबानमा परेको विषयमा सरकारले जबाफ दिनुपर्ने देउवाले बताए। सीमावर्ती क्षेत्रमा भारतीय बाँधका कारण देशको भूभाग डुबिरहँदा पनि सरकारले कूटनीतिक पहल नगरेको भन्दै देउवाले चिन्ता व्यक्त गरे।
सरकारमा रहेका मधेसकेन्द्रित दलले पनि मधेसका जनताको भावनमाथि अघात पु¥याएको र जनतालाई मधेसका नाममा धोका दिएको आरोप देउवाले लगाए। बाढीपीडित ६ दिनदेखि भोकभोकै र अनिँदो रहदा पनि सरकारमा रहेका मधेसकेन्द्रित दलले कुनै वास्ता नगरेको देउवाको आरोप थियो।

बाढीपीडितहरुका लागि कांग्रेसका संघीय सासदले पाँच दिन र प्रदेश सांसदलदले १० दिनबराबरको तलब दिने घोषणा गरेको जानकारी पनि देउवाले गराए। उनले अब बस्ने प्रतिनिधिसभा बैठकमा बाढीपीडितको पुनस्र्थापना र राहतका लागि आबाज उठाउने पनि देउवाले बताए। देउवासहितको कांग्रेस टोलीले बाढी प्रभावित गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको १, २, र ५ वडा तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरेको छ।

प्रकाशित: २ श्रावण २०७६ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App