coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुढीगंगा नदी थुनिने खतरा

बाजुरा– जिल्लाको ठूलो बुढीगंगा नदी थुनिने खतरा बढेको छ। बुढीगंगा र त्रिवेणी नगरपालिकाको बीचमा द्धवारीमा नदी थुनिने खतरा बढेको हो। त्रिवेणी नगरपालिका–९ पैमाबाट खसेको पहिरोका कारण नदी थुनिने खतरा बढेको हो। नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो। 

पैमाबाट गएको दशकयता पहिरो बग्ने गरेको छ। पहिरोको झर्ने मात्रा बढेपछि नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगर प्रमुख रामसिंह रावलले बताएका छन्। बर्षा नरोकिएपछि पहिरो नियमित बग्न थालेको छ। 

अघिल्लो वर्षदेखिनै नदी थनिने खतरा बढेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन्। त्रिवेणीको साइडबाट पहिरोले नदीलाई एकतिर पारिसकेको र यतापट्टी पनि पहाड भएकोले बीचमै थुनिन सक्ने न्यौपानेको भनाई छ। 

हामीले सबैतिर खबर गरेका छौं, संघीय सरकारले पूर्व सूचना प्रणाली राख्न र दीगो व्यवस्थापनका लागि केही पहल सुरु गरेको न्यौपानेले बताए। उनका अनुसार तत्कालका लागि भने सचेत हुन सूचना बाहेक अरु केही प्रक्रिया सुरु भइनसकेको बताएका छन्।

उसो त यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारले पनि नियन्त्रण तथा व्यवस्थापनका लागि भनेर १ करोड बजेट विनियोजन गरिएको बताईएको छ। नदी थुनिएसँगै साँफे मार्तडी सडक अवरुद्ध मात्र हुने नभई पूर्ण रुपमा क्षति हुने र ठूलो मात्रामा नोक्सानी हुने अनुमान गरिएको छ। 

पहिरोले पैमाको बस्ती जोखिममा छ भने नदी थनिने बित्तिकै बुढीगंगा नगरपालिका १ अम्कोट र बल्देको बस्ती सार्नु पर्ने अवस्था आउने स्थानीय बताउँछन्। पहिरोले ठूला ढुङ्गा वा पहाड नै खस्ने बित्तिकै नदी थुनिने अवस्थामा छ। 

नदी बग्ने द्धवार साँघुरिदै गएकोले जतिबेला पनि नदी थुनिन सक्ने त्रिवेणी नगर प्रमुख रावलले बताएका छन्। जोखिम बढेपछि सेना, प्रहरीलाई समेत तयारीमा राखेको र स्थानीयलाई समेत सचेत गराइएको प्रशासनले बताएको छ।

पहिरोले नदी एकसाइड च्यापीएसँँगै अम्कोटतिरको पहाडबाट पनि पहरो खस्न थालेको स्थानीय नविन थापाले बताए। नदी थुनिने खतरासँग नजिकै रहेको खेतीयोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा रहेका छन्।
नदी थुनिने खतरासँगै अछाममा पनि उच्च सर्तकता अपनाएको छ। साँफे बगरका स्थानीय पनि त्रसित बनेको साँफेबाट पत्रकार तपेन्द्र कुँवरले बताएका छन्। नदी जतिबेला पनि थुनिने सक्ने अनुमान गरिएको छ। 

नदी थुनिने खतरा सँगै त्यहाँ नजिक आउन जान रोकिएको छ भने झुलंगे पुल गएको वर्ष नै बगिसकेको छ। द्धवारीबाट पैमा गाँउमा जाने बाटो समेत बन्द भएको वर्षदिन बितिसकेको छ। नगरपालिका स्तरबाट पहल गरेर केही गर्न नसकिने त्रिवेणी नगरपालिकाले बताएको छ। 

नदी थुनिन सक्ने खतरा बढेपछि गृह मन्त्रालय सम्म जानकारी गराईसकेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बताए। नदी थुनिने खतरा सँगै बाजुराको ताँप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा छन्। 

प्रकाशित: १ श्रावण २०७६ १४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App