८ वैशाख २०८१ शनिबार
समाज

पर्सामा डुबेर थप एक बालकको मृत्यु

वीरगन्ज– पर्सामा बाढीमा डुबेर थप एक बालकको मृत्यु भएको छ। यसअघि पनि १४ बर्षमुनिका २ बालकको यसपालिको मुसलधारे पानीले ल्याएको बाढीमा डुबेर मृत्यु भएको थियो। तीन बालक र एक जना बयस्क गरी बगेर र डुबेर मृत्यु हुनेका संख्या पर्सामा ४ पुगेको छ। 

मंगलबार खेतमा धान रोप्न गएकी आमालाई पछ्याउँदै हिँडेका वीरगन्ज वडा नम्बर २८ घर भएका कृष्णा ठाकुरका ५ बर्षिय छोरा अकलेश ठाकुरको भेंडहा खोलामा डुबेको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डुबेर बेहोस भएका बालकलाई उपचारका लागि वीरगन्जतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। पोष्टमार्टमपछि शव अभिभावकको जिम्मा लगाइएको जनाइएको छ। 

यसअघि दुई बालकले बाढीमा बगेर ज्यान गुमाउनु परेको थियो। पार्सागढी वडा नम्बर १ मनवास्थित खोलाबाट बाढीमा आउने काठ दाउरा निकाल्न गएकामध्ये १० बर्षे निखिल पटेललाई गत शुक्रवार खोलाले बगाएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार उद्धार गरेर वीरगन्जस्थित गण्डक अस्पतालमा पुर्याउदा त्यहाँका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए। 

त्यस्तै वीरगन्ज १८ भवानीपुर घर भई हाल वीरगन्ज २३ रामगढवा टोल बस्ने रामनारायण पटेलको छोरा करिब वर्ष १४ बर्षका अनिष पटेल शनिवार बाढीमा बगेर हराएका थिए। आइतबाट बजरंग सिनेमा हल नजिक खेतमा हिलोमा लथपथिएको अवस्थामा उनको शव भेंटिएको थियो। 

त्यस्तै गत सोमबार बिहान वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका ५० वर्षीय दुर्गा साह तुराहा मृत भेटिएका छन्। आइतबार राती घर नजिकै पिसाब फेर्न निस्केको बेला सिर्सिया नदीमा खसेर हराएका थिए। उनको शव सोमवार बिहान सिर्सिया नदीमै भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए। 

प्रकाशित: १ श्रावण २०७६ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App