७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘शीर्ष नेताको रहनसहन सामन्तवादी, राष्ट्रपति सामन्तीयुगको महारानी’

काठमाडौं– सत्तारुढ समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले विप्लव समूहका माग राजनीतिक समस्या भएकोले राजनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिएका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘यो राजनीतिक समस्या भएकोले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ। अहिले नेकपा र डबल नेकपाबीच एक आपसमा सौताकोजस्तो व्यवहार देखिएको छ। यो व्यवहार त्यागेर छिटोभन्दा छिटो समाधान खोज्नुपर्छ।’

सांसदसमेत रहेका सह–अध्यक्ष श्रेष्ठले अहिले परिवर्तित अवस्था भएकोले यो परिवर्तनलाई आत्मसात गरिएको छ कि छैन? भन्ने कुरा मूल प्रश्न भएको सुनाए। उनले भने, ‘पार्टीका नेता त्यसमा पनि उपल्लो तहमा बस्नेहरुको रहनसहन सामन्तवादकोजस्तो छ। राष्ट्रपतिको आतेजाते राजा, महाराजा र महारानीजस्तो छ। गणतन्त्रको राष्ट्रपति सामन्तीयुगको जस्तो महारानी हुनुहँदैन्।’

राष्ट्रपति आलंकारिक भए पनि उनको शैली भने राजर्षी रहेको उनको टिप्पणी छ। उनले भने, ‘तर, अहिले उहाँको शैली सामन्तवादको जस्तो छ। यही कारणले जनविद्रोह जन्मन सक्दछ। अहिले सरकारमा भएकाहरुको शैली पनि नवधनाढ्यजस्तो छ। कम्युनिस्टको नाममा यो गलत शैली हो।’ 

आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा उपप्रधानमन्त्री रहेको र उनले पिछुवा गाडीको सुविधा नलिएको पनि उनले सुनाए। उनले भने, ‘हामी त समाजवादी संस्कृतिको सुरुवात गरौं भनेर लागिपरेका छौं। मुख्य कुरा भनेको नै संस्कार बसाल्ने हो।’ 

उनले नेताले नांगै हिँड्नुपर्छ र साइकल चढ्नुपर्छ भन्ने नभएको पनि सुनाए। श्रेष्ठले थपे, ‘राष्ट्रपतिको निवासमा हेलिप्याड राख्ने कुरा भएको छ। यस्ता कुरामा ध्यान दिनुपर्छ। यही अवस्था रहिरहे प्राप्त उपलब्धि नै गुम्ने खतरा हुन्छ।’

प्रकाशित: १ श्रावण २०७६ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App