८ वैशाख २०८१ शनिबार
राजनीति

रमेश लेखकको चेतावनीः सरकार समयमै नसुध्रिए व्यवस्था फेरिने खतरा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता तथा सम्वादको पक्षधर भएकोले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन्। 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले कांग्रेसकै पहलकदमीका कारण माओवादीसँगको वार्ता सफल भएको र मुलुक अहिलेको अवस्थामा रुपान्तरण भएको सुनाए। उनले भने, ‘हाम्रो पार्टी हरहमेशा वार्ता तथा सम्वादको पक्षमा छ। हामी कहिल्यै पनि हत्या, हिंसाको पक्षधर होइनौं। त्यसैले विप्लवसँगपनि सरकारले वार्ता तथा सम्वाद गरोस्।’

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता टोलीका पूर्व संयोजक तथा नेकपाका नेता सोमप्रसाद पाण्डेको कुरा सुन्दा सरकारले अहिलेसम्म वार्ताको लागि विप्लवलाई पत्राचार नै नगरेको सुनाए। विप्लवसँगको वार्ताका सम्बन्धमा सरकार संवेदनशील बन्नुपर्ने उनको भनाई छ। 

उनले वर्तमान सरकारसँग जनता सर्वथा निराश रहेको पनि गुनासो पोखे। उनले भने, ‘यो सरकार कता जाँदैछ? सरकारमा रहेका दलका नेताहरु नै अहिले सर्वथा असन्तुष्ट हुनुहुन्छ।’ उनले सरकारले देश र जनतामा निराशाको बिउ छर्ने काम गरेको आरोप लगाए।

संसदमा प्रस्तुत गरिएका विधेयकहरु एकपछि अर्कोगरि विवादमा मुछिएको पनि उनले सुनाए। नेता लेखकले भने, ‘त्यतिमात्रै होइन, सरकारका निर्णयहरु पनि विवादित बनेका छन्।’ गुठी, मिडिया काउन्सिल, वन विद्येयकलगायतका सबै विधेयकहरु विवादस्पद बनेकोमा उनले गुनासो पोखे। 

लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई जनतालाई गलत सूचना दिएको सुनाए। उनले भने, ‘सरकारमा बसेका सबैभन्दा ठूला मान्छेले जनतालाई ढाँट्ने काम गर्नुभयो।’ सरकारले आफूलाई सुधार नगरे अहिलेको व्यवस्थामाथि नै प्रश्नचिन्ह उठ्नसक्ने पनि उनले खतरा औंल्याए। उनले भने, ‘सरकार समयमै सुध्रियोस्।’

प्रकाशित: १ श्रावण २०७६ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App