७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरको डोलेश्वरमा श्रावणी मेला शुरु

भक्तपुर– भक्तपुरको केदारनाथको शिर डोलेश्वर मन्दिरमा बुधबारबाट श्रावणी मेला सुरु भएको छ। यस क्रममा विहान स्थानीय पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ।

कलशयात्रापछि मेलाको स्वामी चुडामणि महाराजले औपचारीक रुपमा उद्घाटन गरे। बुधबारदेखि शुरु भएको श्रावणी मेलामा दुई करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको जनाइएको छ।

केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका कोषाध्यक्ष मोहन बल्लले मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने जनाए। ३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाइनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए।

मेलामा श्रावण २ गतेदेखि ५ गतेसम्म श्रीकृष्ण कथामृत, श्रावण ६ गतेदेखि १२ गतेसम्म रामायण कथा, श्रावण १३ गतेदेखि १९ गतेसम्म श्रीमद् भागवत, श्रावण २० गतेदेखि ३० गतेसम्म शिव महापुराण, श्रावण ३१ गतेदेखि भाद्र ६ गतेसम्म नेपाल महात्म्य र भाद्र ६ गते श्रावणी मेलाको समापन हुने समितिले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७६ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App