७ वैशाख २०८१ शुक्रबार
अन्य

'म अघि बढ्छुः असल नागरिक उत्पादन गर्ने ब्याड'

प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले  मंगलबार विराटनगरमा एउटा भव्य कार्यक्रम आयोजना गरेर 'म अघि बढ्छु' कार्यक्रमको शुभारम्भ गरेको छ। स्थानीय, प्रदेश र संघीय सरकारहरुले ठूला विकास आयोजनामा मात्रै चासो देखाइरहेका बेला प्रदेश सरकारले भने किशोरकिशोरी लक्षित योजना सुरु गरेको छ। यस कार्यक्रमका परिकल्पनाकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की हुन्। तर, उनी यसलाई स्वीकार गर्दैनन्। 'यो प्रदेश सरकारको सामूहिक प्रयासको उपज हो' भन्ने मन्त्री कार्कीसँग यही कार्यक्रमको सेरोफेरोमा रहेर नागरिकका लागि राजु अधिकारीले गरेको संक्षिप्त कुराकानी–

सगरमाथा टिन्स क्लब भनेको के हो ?

सगरमाथा टिन्स क्लब भनेको खासगरी स्कुलमा पढ्दैगरेका किशोर–किशोरी (टिनएजर) समूहका नानीबाबुहरूलाई एउटा क्लबमा आबद्ध गर्ने र त्यसमार्फत उनीहरुलाई विभिन्न रचनात्मक अभियानमा लाग्न प्रेरित गर्ने  कार्यक्रम हो। यो प्रदेशका ९ देखि १२ कक्षा (माध्यमिक तह) का करिब २ हजार स्कुलमा पढ्ने  विद्यार्थीको क्बल हुनेछ यो। विश्वको सर्वोच्च शिखर यही प्रदेशमा भएको हुनाले यसको नामे सगरमाथा टिन्स क्लब राखिएको हो। 'म अघि बढ्छु' भन्ने नाराले यो क्लब बनाइन्छ। टिनेजरका लागि यो एउटा एम्बिसन हो। म अघि बढ्छु, म माथि जान्छु भन्ने सोचसहितका विद्यार्थी यसमा आबद्ध हुन्छन्। यो खुला प्रकारको क्लबको माध्यमबाट हामी उनीहरूलाई स्वचेतना, स्वयंसेवी, आफ्नो व्यक्तिगत जीवनप्रति आशावादी बनाउने, सफल बनाउने, सफल बन्न प्रेरणा दिने, उनीहरूका अघिका तमाम सम्भावना देखाइदिने र उनीहरूकै माध्यमबाट समाजमा भएका तमाम सामाजिक अपराध, संगठित अपराध, राजनीतिक विपद्, सडक दुर्घटनालगायतका नकारात्मकखालका गतिविधि घटाउने उद्देश्य हो। त्यो उमेरका मानिसमा लागूपदार्थ दुव्र्यसनीको ठूलो असर हुनसक्छ। त्यसविरुद्धको अभियानका रूपमा पनि यसलाई स्वयंसचेतता उत्पन्न गराउने अभियान हो यो।

'म अघि बढ्छु' भन्ने नारासँग यो अभियानको तादात्म्य के हो ?

समाजमा अहिले धेरै मानिस डिप्रेसनको शिकार भएका घटना तपाइँले पनि सुनिरहनुभएको छ। मानिस आफैंसँग भएका सम्भावना पत्ता नलगाएर, चेतना अभावले, शिक्षा र अन्य अवसर भएन भन्ने सोचाइले यो अवस्थामा पुग्दैछन्। गरिबीको रेखामूनि रहेको परिवारका बालबालिकाले पनि विद्यालय छाड्ने, पढ्न नपाउने, आफूले रोजेका विषय पनि पढ्न नपाउनेजस्ता समस्याले मासिनलाई डिप्रेसनमा लैजाँदैछ। देशव्यापी रूपमै हेर्दा पनि यो अवस्थाले आत्महत्यासम्मको अवस्थामा पुर्‍याएको घटना हामी सुन्छौं। त्यसैले हरेक मानिसलाई प्रोत्साहन गर्नुपर्छ, हरेक मानिसलाई उचित बाटो देखाइदिनुपर्छ, म अघि बढ्छु, म सफल हुन्छु, मेरो काम सफल हुन्छ, मेरो अध्ययन सफल हुन्छ, म मात्र होइन, म समाजलाई नै सकारात्मकखालको वातावरण दिन सक्छु भन्नेखालको सोच व्यक्तिमा विकास गरौं भन्ने हो।

जहाँ कार्यक्रम पुर्‍याइँदैछ, त्यहाँका विद्यालय, नागरिक समाज र स्थानीय तहहरूसँग चाहिँ यो अभियानको समन्वय कसरी अघि बढ्छ ?

हाम्रो सरकारले नै लक्ष्य राखेको छ, आउँदो २ वर्षभित्र विद्यालय जाने उमेरसमूहका सबै बालबालिका विद्यालय पुगेका हुनेछन्। विद्यालय छाड्ने दर घटाएर शून्य बनाउने हो। बिहान एउटा विद्यार्थी विद्यालय आउँछ, बेलुका घर जान्छ। उसले घरमा स्वभावैले आफूले सिकेका कुराबाट प्रभाव पार्ने त भइहाल्छ। आमाबुबालाई, दाजु, भाइ, दिदीबहिनी, साथीभाइ सबैलाई त्यो विद्यार्थीले आफूले सिकेका कुराहरू सिकाउन सक्छ। त्यो उमेर यस्तो हो कि, मैले आफ्नो त्यो उमेर पनि सम्झिएँ, म आफूले सिकेका कुराहरू आफूमा मात्र सीमित गर्दैनथें। त्यो उमेर नै अरूलाई आफूले सिकेका कुराहरू बाँड्ने हो।  

कक्षा ९ देखि १२ कक्षाका विद्यार्थी उच्च शिक्षाको तयारीमा पनि हुन्छन्, यो अभियानले पढाइमा बाधा गर्दैन ? कसरी यो अभियान सञ्चालन गर्ने अवधारणा ल्याउनुभएको हो  ?

यो  अर्को महत्वपूर्ण पक्ष हो। त्यो उमेरका विद्यार्थीसँग समय छोटो हुन्छ। हामी यसका माध्यमबाट उनीहरूलाई आर्थिक बोझ, समयको बोझ कुनै हुन दिँदैनौं। यसका लागि अन्य क्लबहरूमा जस्तो बेग्लै पोसाक, बेग्लै झोला आदि सामग्रीतिर जाँदैनौं। यसका लागि बेग्लै बैठक गर्नुपर्ने समय धेरै चाहिने नै होइन। हप्तामा एकचोटी एक पिरियड मात्रै यसको विषयमा अनौपचारिक पढाइ हुन्छ। विद्यालयका खेलशिक्षक, रेडक्रसका संरक्षक शिक्षक वा अन्य कोही शिक्षकले यसबारे कक्षा लिने हो। शिक्षकले हप्तामा ४ पिरियड (कक्षा ९, १०, ११ र १२ लाई १–१ पिरियड) पढाउने हो। सगरमाथा टिन्स क्लब के हो, हामीले के सिक्ने भन्नेजस्ता कुराहरू सिकाएर विद्यार्थीको मुड पनि फ्रेस बनाउने हो। हप्तामा १ पिरियड पढेर विद्यार्थीलाई जीवनमा नैतिकवान् हुन, परिवार, समाज र देशका लागि आफूजस्तै नैतिकवान् बन्न प्रेरणा दिन पनि सिकाउने अभियान हो यो। यो उमेर जे सिक्यो, त्यही टिप्ने बेला हो। उदाहरणका लागि, २०७२ सालको भूकम्प आएका बेला स्कुलको आँगनमा खेलिरहेका बालबालिकासमेत विद्यालय भवनभित्र पसेर टेबुलमुनि पसेका कारण निधन भयो भन्ने हामीले सुन्यौं। बालबालिकालाई आफू बाहिर भएका बेला भूकम्प आयो भने टेबुलमुनि पस्नुपर्दैन भन्ने पनि सिकाउनुपर्छ। हामीले यस्तै, प्राकृतिक प्रकोप, सडक दुर्घटना आदिबाट कसरी बच्ने–बचाउने, कसरी पढेर असल व्यक्ति बन्ने, जीवनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा पनि अत्यन्तै अनौपचारिक तरिकाले पढाइन्छ यो अभियानमा। विद्यालयले ती विद्यार्थीलाई महिनामा १ दिन कहिले वृद्धाश्रम लैजान्छ, कहिले ट्राफिक नियम सिकाउन लैजाला, कहिले अन्य सामाजिक र उदाहरणीय काम देखाउन लैजाला। कुनै न कुनै रूपले शिक्षा दिने हो, व्यवहारिक शिक्षा। यसको अर्को पाटो पनि छ, समाजमा विभिन्न क्षेत्रमा सफल बनेका व्यक्तित्वलाई ३–३ महिनमा १ पटक विद्यालयमै पुर्‍याएर उनीहरूका कुरा सुनाउने, ती सफल व्यक्ति कसरी सफल बने भन्ने उनीहरूकै मुखबाट विद्यार्थीले सुन्न पाउने अवसर पनि छ यसमा। जस्तै, आँखा विशेषज्ञ सन्दुक रुइत एक उदाहरण बन्न सक्नुहुन्छ। उहाँ कसरी त्यहाँसम्म पुग्नुभयो भन्ने विद्यार्थीले सिके भने आफू पनि त्यस्तै व्यक्ति बन्ने अठोटले पढ्न सक्छन्। प्रहरीका आइजिपी, सेना प्रमुख, विनोद चौधरी कसरी त्यहाँसम्म पुगे भन्नेबारे विद्यार्थीले उनीहरूकै मुखबाट सुनून् भन्ने हाम्रो लक्ष्य हो। यस्ता व्यक्तिको सूची बनाउँछौं। विद्यालयले उनीहरूलाई बोलाउँछ। विद्यालयलाई व्ययभार पर्दैन। बरु, हाम्रो तर्फबाट सबै विद्यार्थीलाई 'सगरमाथा टिन्स क्लब' लेखिएको एउटा ब्याच चाहिँ वितरण गर्छौं। क्लबको सदस्य हुन पनि पैसा तिर्नुपर्दैन, प्रतिबद्धता चाहिँ चाहिन्छ।

यी काम गर्नलाई प्रदेश, जिल्ला, स्थानीय तह, विद्यालयलगायतमा कस्तो संरचना बनाइएको छ ?

यसको एकखाले संरचनाको अवधारणा तयार गरेर निर्देशिकामसेत बनाइएको छ। यो प्रदेश सरकारकै महत्वको कुरा हो। आन्तरिक मामिला तथा कानुनमन्त्रीको नेतृत्वमा प्रदेशभर अनुगमन गर्ने एउटा तह बन्छ। त्यसमा सामाजिक विकास मन्त्रालय, अर्थ तथा योजना मन्त्रालय र सुरक्षा निकायका प्रमुखहरूसमेत रहन्छन्। आन्तरिक मामिला सचिवको नेतृत्वमा अर्को एउटा कार्यकारी टिम बन्छ। त्यसले सबै कार्यक्रमको सञ्चालन हेर्छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला शिक्षा कार्यालयका प्रमुख सदस्य–सचिव रहेको स्थानीय सामाजिक संघ–संस्थासमेत सम्मिलित समूह बन्छ। त्यो समूहले पनि जिल्लाभर भएका अभियानका कार्यक्रमको अनुगमन गर्छ। स्थानीय तहमा निर्वाचित मेयर वा अध्यक्षको नेतृत्वमा पनि अर्को टिम बन्छ। त्यसमा हरेक विद्यालयका प्रधानाध्यापक, शिक्षक नायक र क्लबका एक छात्र, एक छात्रासमेत सदस्य रहन्छन्। यी समूह–समितिले १ तहको मात्रै रिपोर्टिङ गरे हुन्छ।

अभियानका लागि आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ? स्थानीय तह वा विद्यालयहरूले पनि खर्च गर्नुपर्छ कि ?

यसको खर्च सबै प्रदेश सरकारले बेहोर्ने हो। आर्थिक वर्ष २०७५/०७६ मा यसका लागि २ करोड रुपैयाँ बजेट थियो। आर्थिक वर्ष २०७६/०७७ मा करिब ६ करोड रुपैयाँ छ। तालिम, अभ्यास, प्रचारलगायतको तयारीमा केही खर्च भयो होला। सगरमाथा टिन्स क्लब प्रदेशका १ सय ४० विद्यालयमा बन्छ। हामीले विद्यालयलाई ५ हजार रुपैयाँ बीउ पुँजी पनि दिन्छौं। त्यसको अलग्गै खाता बन्छ। हामीले कसैलाई अहिले आर्थिक भार नबोकाउने योजना बनाएका छौं। तर, अरू कसैले त्यो खातामा इच्छाअनुसार सहयोग रकम जम्मा गर्न सक्छ। बाँकी खर्च एक वर्षको उपलब्धि, प्रभावकारितालगायतलाई हेरेर व्यवस्थापन गर्दै जानेछौं।

अहिले स्थानीयदेखि संघीय तहसम्मका सरकार भौतिक पूर्वाधार जस्तै, बाटाघाटा, भवन, पैनी, नहरलगायतको विकासलाई मात्रै विकासको नाम दिएर त्यतै लागेको देखिन्छ, १ नम्बर प्रदेश सरकारले चाहिँ यो अवधारणा कसरी ल्यायो ? यसको रचनागर्भ के हो ?

यो प्रदेश सरकारकै कार्यक्रम हो। विकासका दुईवटा पाटा छन्। एउटा भौतिक संरचनाको विकास अर्को मानवीय चेतना वा मानवीय संशाधन विकास। मानवलाई सकारात्मक दिशातर्फ लैजाने विकास ज्यादै ठूलो हो। अहिले हामीले पुलपुलेसा, बाटोघाटो, पाटीपौवाजीता विकासलाई सूचनक मानिआएका छौं, हाम्रोजस्तो मुलुकका लागि यो पनि विकासको एउटा पाटो हो। तर, हामीले बनाएका संरचना कस्तो हुनुपर्छ, हामीले बनाएका संरचनाले के काम गर्छन्, हामी मानवको उत्तरदायित्व के हो, नागरिक समाज, व्यक्तिको भूमिका के हुन्छ भन्नेमा हामी स्वयं सचेत भएनौं भने त्यो विकासले केही अर्थ राख्दैन। हामीसँग ट्राफिक रुल त छ, ट्राफिक संकेत छन्, ट्राफिक प्रहरीले सिटी फुक्छन् तर मानिसमा चेतना भएन भने त्यसोको अर्थ हुँदैन। म सडक दुर्घटनाबाट बँच्न मैले यी नियम पालना गर्नुपर्छ भन्नेमा सचेत हुने हो भने त त्यो नियमले पनि अर्थ राख्छ नि। हामीले चलाएको अभियान सफ्टवेयर पार्ट हो। बाटाघाटा आदित्यादीलाई हार्डवेयर मानौं। जब मान्छेमा सकारात्मक सोच र गतिविधिको भावना आउँदैन, तबसम्म अन्य कामले अर्थ राख्दैन। विश्वलाई हेरौं न, विकसित मुलुकहरूमा पनि काम त भएका छन् तर बम बनाउने, बन्दुक पड्काउने, अशान्ति फैलाउनेजस्ता कामले कतिपय देश तहसनहस भइसकेका छन्। ती देशको हालत बिग्रिसकेको छ। भौतिक विकास सँगसँगै मानवीय चेतना, संवेदना र नैतिकताको विकास हुनुपर्छ। र, अझ हाम्रोजस्तो देशमा त अहिलेसम्म त्यस्तो ठूलो आपराधिक काम धेरै छैनन्, बढ्दोक्रममा चाहिँ छ। सहरीकरण, सूचना, सञ्चारको विकासले अहिले केही नकारात्मक परिणाम पनि दिइरहेको छ। बाबुले सम्पत्तिका लागि आफ्नै छोराको हत्या गरेको, छोरीले यौनेच्छा तृप्तिका लागि आमाको हत्या गरेको, आमाले नसोधी भैंसी बेचिन् भनेर छोराले हत्या गरेकोजस्ता घटना पनि आइरहेका छन्। यो अवस्था हेर्दा हामी कस्तो समाजतिर जाँदैछौं भन्ने सोच्ने बेला आएको छ। त्यसैले हामीले अहिल्यैदेखि केही गर्नुपर्छ भनेर दीर्घकालीन सोचका साथ यो अभियान सञ्चालन गर्दैछौं। समाज उल्टो गतिमा बग्नुहुँदैन। यस्ता घटनाबाट किशोरावस्थादेखि नै नियन्त्रण गर्न र सचेत बनाउने अभियानको उद्देश्य हो। एउटा किशोरावस्थाको व्यक्ति बाँकी ६०–७० वर्षभन्दा बढी बाँच्छ। उसले आफ्नो जीवन सकारात्मक सोचेर र सकारात्मक काम गरेर बिताओस्, समाजमा उसले योगदान गर्न सकोस् भन्ने हो।

तर, नेपालको राजनीति अस्थिर छ, अस्थिर राजनीतिकै कारण युवा, किशोर–किशोरी निरास पनि छन्। गलत राजनीतिक संस्कारकै कारण समाजमा अपराधका घटना हुन गरेका छन्। त्यसले देशको भविष्यलाई अनिश्चितातिर धकेलेकाले युवा, किशोर–किशोरी निरास भएका होइनन् र ?

म १२ वर्षको हुँदा कतै पढेको थिएँ– एउटा व्यक्तिलाई १ तल्ला माथि उठाउनुभन्दा सय व्यक्तिलाई १ इन्च माथि उठाउनु उत्तम हो। यो भनाइ अहिले पनि बिर्सेको छैन। हामीले किशोर–किशोरलाई राजनीति के हो, राजनीतिले के गर्छ, कसरी असल राजनीतिको अभ्यास गर्ने भन्ने पनि सिकाउनुपर्छ। राजनीति गर्न सिकाउनुपर्छ तर कुनै पार्टीमा लाग्न प्रेरित गर्ने होइन। राजनीति र पार्टी अलग हो। राजनीतिले देशलाई कहिल्यै गलत बाटोमा लाँदैन। हामीले विद्यालयमा पढ्ने उमेरमा समाजमा अहिलेजस्तो आपराधिक घटना हुँदैनथे। त्यतिबेलाको उत्पादन अहिले राजनीतिको सफल बाटोमा छन्। अहिले केही फटाहा, चोरी–डकैती, तस्करी गर्नेहरू कुनै पार्टीमा लागे भन्दैमा राजनीति नै गलत भयो भन्न मिल्छ र ! बर्खाका बेला खोलामा धमिलो पानी आयो भनेर खोलाको सधैंको असली रूप त्यही हो भन्न मिल्दैन। बाढी आएका बेला राजनीति पनि धमिलो हुन्छ। तर, राजनीतिको असली रूप त्यो होइन। खोलाको जस्तै कञ्चन हुन्छ। समाज राजनीतिले चल्यो भने त्यो सकारात्मक हुन्छ तर अपराधलाई राजनीतिकरण गरियो भने त्यो गलत हो। समाजलाई नैतिक बाटोमा हिँडाउने प्रयासमा प्रदेश सरकारको सामूहिक सोचको उपज हो यो अभियान। असल नागरिक उत्पादन गर्ने ब्याड हो यो।

प्रदेश सरकारले चाहिँ ती टिनेजरबाट के आशा गरेको छ त ?

यो एउटा अभियान हो। राज्यले व्यापार गर्दैन। हामीले लगानी ग¥यौं भन्दैमा त्यहाँबाट अहिलेको अहिल्यै प्रतिफल आओस् भनेको होइन। असल नागरिक उत्पादन गर्ने, समाजलाई असल बाटोमा लैजाने, समाजलाई अनुशासित बनाउने, समाजमा भइरहेका अपराधका घटना कम गर्न सघाउने, प्राकृतिक प्रकोपको क्षति कम गर्ने र बच्न सिकाउनेजस्ता कुरा यो अभियानले ल्याउन खोजेको हो। यो अभियानलाई अभिभावक, विद्यार्थी, सरकारी निकायलगायत सबैले महŒव बुझेर सहयोग गर्नुभयो भने यो सरकारको अवधि सकिँदा समाज सुधार भएको विवरणसमेत पेश गर्न सक्छौं।

प्रकाशित: १ श्रावण २०७६ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App