८ वैशाख २०८१ शनिबार
समाज

‘प्यान’ अनिवार्य नीतिको विरोध गर्दै नेपालगन्ज बजार बन्द

सरकारको अव्यवहारिक नीति, नियमको विरोधस्वरुप बुधबार नेपालगन्जमा प्रदर्शन गर्दै उद्योगी, व्यवसायी। तस्बिरः नागरिक

नेपालगन्ज– सरकारले लागू गर्न लागेको नीति, नियम ‘अव्यवहारिक’ भएको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्। आन्दोलनस्वरुप उनीहरूले बुधबार नेपालगन्जको व्यापार, व्यवसाय बन्द गराएका छन्।

नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा उद्योग, व्यवसाय बन्द गरिएको हो। संघको आन्दोलनका कारण यहाँको व्यापार, व्यवसाय ठप्प भएको छ। संघको अगुवाइमा बिहान उद्योगी, व्यवसायीहरू बजार बन्द गराउँदै हिँडेका थिए।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को साउन महिनाबाट नयाँ नीति, नियम लागू गर्दैछ। उद्योगी, व्यवसायीले एक हजारभन्दा माथि ज्याला भुक्तानी गर्नु परेमा सम्बन्धित ज्यालादारी कामदारको प्यान नम्बर आवश्यक पर्ने प्रावधान अव्यवहारिक रहेको भन्दै खारेजी गर्नुपर्ने माग गरेका छन्।

यस्तै ढुवानीमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर, न्यूनतम आधारभूत खाद्य वस्तुहरूमा लगाइएको मूल्य अभिवृद्धि कर र अग्रिम आयकर, बैंक खातामार्पmत् पारिश्रमिक तत्काल गर्न भुक्तानी गर्नुपर्ने व्यवस्था, सामाजिक सुरक्षा कोषका प्रावधानलगायत नीति खारेज गर्नुपर्ने उनीहरूको माग छ।

आन्दोलनअन्तर्गत यसअघि उद्योगी, व्यवसायीले हातमा कालोपट्टी बाँध्नुका साथै संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालय नेपालगन्जमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो। उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सरकारले अव्यवहारिक नीति, नियम लादेका कारण उद्योग, व्यवसाय क्षेत्र बढी मर्कामा पर्ने निश्चित रहेको बताएका छन्। ‘सरकारलाई कर बुझाएरै हामीले उद्योगी, व्यवसाय चलाएका छौं,’ उनले भने, ‘अहिले सरकारले हामीलाई नै थला पार्ने गरी नीति, नियम लागू गर्दैछ, यसको घोर विरोधमा हामी छौं, सरकारले चाँडै निर्णयलाई सच्याउने काम गर्नुपर्छ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले अव्यवहारिक नीति, नियमबारे देशभरका उद्योगी, व्यवसायी असन्तुष्ट रहेको बताए। ‘नेपालगन्जबाट यो आन्दोलनको सुरुवात भएको छ, अब देशभरका उद्योगी, व्यवसायी सडकमा उत्रिने अवस्था आउँछ,’ उनले भने, ‘सरकारलाई बेलैमा नीति, नियम सच्याउन सुझाव र दबाब दिइरहेका छौं।’

प्रकाशित: १ श्रावण २०७६ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App