सुर्खेत– भेरीगंगा नगरपालिकालाई तीन वर्षभित्र खरको छानोमुक्त बनाइने भएको छ। चालू आर्थिक वर्षदेखि नगरपालिकाले ‘खरको छानो हटाउँ, कर्कटपाता लगाउँ’ अभियानको सुरुवात गरेको छ।
‘यो कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा दुई सय खरको छाना भएका घरधुरीलाई जस्तापातामा ल्याइनेछ,’ उपमेयर रेणु आचार्यले भनिन्, ‘अबको तीन वर्षभित्र भेरीगंगालाई खरको छानामुक्त घोषणा गर्छौं।’
खरको छानो हटाउने अभियानका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि ४० लाख रुपैयाँ छुट्याएको छ। नगरपालिकाले माध्यामिक तहका विद्यालयका अध्ययनरत किशोरीहरूलाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ।
नगरपालिकाले भ्रुण हत्या रोक्नका लागि चालू आर्थिक वर्षमा पनि ‘छोरी लक्ष्मी बचत खाता’लाई निरन्तरता दिएको छ। यो कार्यक्रम अन्र्तगत छोरी जन्मने वित्तिकै नगरपालिकाले बैंक खाता खोलेर तीन हजार रुपैयाँ छोरीका नाममा जम्मा गरिदिन्छ।
नगरपालिकाले चालू आर्थिक वर्षदेखि नागरिकता सिफारिसलाई निःशुल्क गरेको छ। यसअघि नगरिपालिकाले नागरिकता सिफारिसमा दुई सय ५० रुपैयाँ शुल्क लिने गरेको थियो। नगरपालिकाले अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम ल्याएको छ। नगरपालिकाले चालू आर्थिक वर्षदेखि नगर क्षेत्रभित्रका दीर्घरोगीहरुलाई वार्षिक १० हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।
नगरपालिकाले भेरीगंगा नगरपालिका–८ मा दलित संग्रहालय स्थापनाका लागि १२ लाख रुपैयाँ छुट्याएको छ भने दलित युवायुवतीहरुलाई स्वरोजगार बनाउनका लागि ९ लाख रुपैयाँ छुट्याएको छ। नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउनका लागि ‘उपमेयर रोजगार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
भेरीगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि ५९ करोड ९८ लाख ५० हजार बजेट ल्याएको छ।
प्रकाशित: १ श्रावण २०७६ ०७:२४ बुधबार