८ वैशाख २०८१ शनिबार
समाज

कार्यविधि नबन्दा नगर बस सञ्चालन अन्योलमा

नेपालगन्ज उपमहानगरपालिकाले खरिद गरेका नगर बस। तस्बिरः नागरिक

नेपालगन्ज–  कार्यविधि नबन्दा नेपालगन्जमा नगर बस सञ्चालन गर्न अन्योलता देखिएकाे छ। ‘साझेदारी विकास कार्यक्रम’का लागि संघीय सरकारबाट प्राप्त विशेष अनुदान रकमबाट नेपालगन्ज उपमहानगरपालिकाले करिब एक साताअघि सातवटा बस खरिद गरेको थियो।

उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलका अनुसार चारवटा ठूला बस दुई करोड १५ लाख र तीनवटा साना बस एक करोड २९ लाख रुपैयाँको लागतमा खरिद गरिएको हो। खरिद गरिएको नगर बस अहिले उपमहानगरपालिका कार्यालय परिसरमा पार्किङ गरेर राखिएको छ।

हतारमा बस खरिद गरे पनि सञ्चालनसम्बन्धी कार्यविधि नबन्दा प्रयोगमा ल्याउन समस्या भएको उपमहानगरपालिका स्रोतले जनाएको छ। ‘बसहरू खरिद गरेर ल्याउने काम त भयो, तर बस सञ्चालनसम्बन्धी कार्यविधि अहिलेसम्म बनेको छैन, कार्यविधिबिना सरकारी बस हचुवाको भरमा सञ्चालन गर्नु पनि त भएन,’ एक कर्मचारीले भने।

उपमहानगरपालिकाले बस खरिदका लागि टेण्डर प्रक्रिया अपनाएको थियो। नगर प्रमुख डा. धवलशमशेर राणा भने बस सञ्चालनसम्बन्धी कार्यविधि चाँडोभन्दा चाँडो बनाएर आगामी साउन १५ गतेभित्र उद्घाटन गर्ने आन्तरिक तयारी रहेको बताउँछन्। ‘कार्यविधि बनाउन त्यति ठूलो समस्या छैन, उपमेयरको नेतृत्वमा एउटा टिमले दुई÷चार दिनभित्रै कार्यविधि बनाइहाल्छ,’ उनले भने।

नगर बसलाई दैनिकरूपमा नेपालगन्जबाट कोहलपुर, खजुरा, गौघाट, बेतहनी, कम्दी रुटमा गुडाउने उपमहानगरपालिकाको तयारी छ। नेपालगन्ज–कोहलपुर रुटमा चारवटा, नेपालगन्ज–खजुरा, नेपालगन्ज–गौघाट र नेपालगन्ज–बेतहनी–कम्दी रुटमा तीनवटा बस सञ्चालन गरिनेछ। नगर बसमा पुरुष चालक र महिला कन्डक्टर नियुक्त गरिने उपमहानगरपालिकाले जनाएको छ।

नगर उपप्रमुख उमा थापामगरले अब छिट्टै कार्यविधि बनाएर नगर बसलाई सञ्चालनमा ल्याउने बताइन्। ‘बसमा कार्यरत कर्मचारीको तलब सुविधा, भाडालगायत बस सञ्चालनसम्बन्धी सम्पूर्ण कुरा कार्यविधिमा समावेश गरिनेछ,’ उनले भनिन्।

नगर बसको नम्बर, ब्लुबुकसमेत तयार गरिएको छैन। कर्मचारी र जनप्रतिनिधि सबैको ध्यान आर्थिक वर्षको मसान्ततिर केन्द्रित भएकाले कार्यविधि बनाउन नसकिएको उनको भनाइ छ। उनले थपिन्, ‘क्लोजिङ सकिएपछि हामी यो काममा बढी केन्द्रित हुनेछौं।’

उपमहानगरपालिकाले बस चलाउने सातजना ‘भारी’ चालकका लागि विज्ञापन खोलिसकेको जनाएको छ। नगर बस सञ्चालनमा आएपछि सर्वसाधारण यात्रुले राहत पाउने प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको विश्वास छ। ‘प्राइभेट बसको भन्दा स्वभाविकरूपले नगर बसको भाडा सस्तो हुन्छ, यसले गर्दा सर्वसाधारणलाई अवश्य पनि राहत मिल्छ,’ उनले भने।

बस सञ्चालन गर्नुअघि सरोकारवाला पक्षहरु ट्राफिक प्रहरी, यातायात ब्यवसायी, सञ्चारकर्मीलगायतसँग छलफल गरेर सुझाव लिइने प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले सुनाए। उनले थपे, ‘नगर बसहरु आफ्नो रुटमा ब्यवस्थित रुपले चल्नेछन्, बसले विद्यार्थी, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई नियमअनुसारको छुट पनि दिनेछन्, महिला दिदी बहिनीले पनि आरामदायी यात्रा गर्न पाउनुहुनेछ।’ सार्वजनिक सवारीसाधनमा महिलामाथि दुव्र्यवहार हुने गरेको घटना पटक–पटक सार्वजनिक हुन्छन्। तर, नगर बसमा महिलालाई सम्माजनक व्यवहार हुने अपेक्षा गरिएको छ।

नगर बसबाट प्राप्त भएको आम्दानी रकम साझेदारी विकास कोषमा जम्मा गरिने उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले जानकारी दिए। ‘कोषमा जम्मा भएको रकम गरिब तथा विपन्न समुदायलाई सहुलियत दरमा ऋण दिने र आयआर्जनमा टेवा पु¥याउने लक्ष्य छ,’ जोशीले भने। कार्यविधि नबनेकै कारण नगर बस सञ्चालन गर्न गाह्रो नभएको उनको जिकिर छ। ‘साझेदारी विकास कार्यक्रममार्फत्को विशेष अनुदान बजेटबाट नगर बस सञ्चालन गर्न लागिएको हो, अहिले साझेदारी विकास कार्यक्रमको कार्यविधिलाई टेकेर पनि बस सञ्चालन गर्न सकिन्छ,’ जोशीले भने।

प्रकाशित: १ श्रावण २०७६ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App