coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गुण–रत्नमाला र जगन्नाथको विशेष चर्चा

काठमाडौं -
‘विद्या नै नरको छ रूप भरिलो यो सम्झ गुप्ती धन।
विद्याले सुखभोग मिल्छ सहजै सुध्रिन्छ भित्री मन।।
विद्या हो परदेशमा हित सखा, दरबारमा पुजिने।
यस्तो उत्तम रत्न लौ बटुल है पैसैबिना पाइने।।’

अघिल्लो पुस्ताका नेपाली चाहे पढेका हुन्, चाहे नपढेका, प्रायः सबैलाई नीति काव्य गुण–रत्नमालाका यस्ता श्लोकहरू कण्ठस्त थियो। साठी वर्ष उमेर कटेका धेरैलाई अझै पनि गुण–रत्नमालाका श्लोकहरू याद छन्। तर अघिल्लो पुस्ताले जीवनपद्धतिकै रूपमा अपनाएका श्लोक र सूक्ति समेटिएको सो काव्य कृतिबारे अहिलेको पुस्ता भने बेखबरजस्तै छ।

यस्तो विडम्बनायुक्त परिस्थितिबीच सोमबार नेपालमै पहिलोपल्ट राजधानीमा नीति–काव्य संग्रह गुण–रत्नमालाका सूक्ति पद्यहरू वाचन तथा यसका रचयिता पण्डित कवि जगन्नाथ गुरागाईको सम्झना गरियो।

कवि गुरागाईको ११९औं जन्मजयन्तीको सन्दर्भ पारेर कवि जगन्नाथ गुरागाई साहित्य प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा सहभागी अग्रज कवि तथा साहित्यिक पत्रकारहरूले समाजमा नैतिकता कायम राख्न सहयोगी गुण–रत्नमाला र कवि गुरागाईको योगदानको चर्चा गरिएको थियो।

महाकाव्यकार रमेश खकुरेल, अग्रज साहित्यिक सम्पादकहरू रोचक घिमिरे, नगेन्द्रराज शर्मा, कुन्ता शर्मा, तोया गौतम, कवि विधान आचार्य, प्राध्यापक रामप्रसाद पन्त, कृष्णप्रसाद दाहाल, प्राज्ञ लक्ष्मी उप्रेती, गजलगो रुपक अलङ्कारलगायतले सुरुमा आफूहरूलाई गुण–रत्नमाला र यसका केही श्लोकबारे थाहा भएको तर ती श्लोकका रचयिता एवं अनुवादक पण्डित कवि जगन्नाथ उपाध्याय गुरागाई रहेको थाहा नभएको बताएका थिए। उनीहरूले यसरी रचनाकारको नाम थाहा नभए पनि जब कसैको रचना मान्छेलाई सम्झना हुन थाल्छ, सूक्ति वा उखानजस्तो बन्छ, तब त्यस्तो सिर्जना र सर्जक अमर कहलिने भएकाले कवि पण्डित जगन्नाथ गुरागाई नेपाली साहित्यका अमर स्रष्टा भएको उल्लेख गरेका थिए।

१९५७ असार २३ गते ताप्लेजुङको हाङदेवामा जन्मेका कवि गुरागाई चन्दा संकलन गरेर भारतको बनारसमा धर्मशाला बनाउने पहिलो नेपाली हुनुका साथै नेपाल, भारत तथा म्यानमारमा शैक्षिक जागरण फैलाउने समाज सुधारक व्यक्तिसमेत हुन्। उनका गुण–रत्नमाला, नम्र निवेदनलगायत काव्यकृति प्रकाशित छन्।
अध्यक्ष राधिका गुरागाईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विधान आचार्य, डम्मर घिमिरे, विमल वैद्य, मनोज न्यौपाने, सुनील पुरी, असीम सागर, मन्दिरा मधुश्री, रुपक अलङ्कार, सुदेश सत्याल, राजुबाबु श्रेष्ठ, सुविद गुरागाई, गीता कार्की, गङ्गा सुवेदी, कृतिषा गुरागाईलगायतले काव्य पाठसमेत गरेका थिए।
 

प्रकाशित: १ श्रावण २०७६ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App