coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोहलीको शीर्षता यथावत्

लन्डन, (एजेन्सी)– भारतका कप्तान विराट कोहली र बलर जसप्रीत बुमराह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको एकदिवसीय क्रिकेटको वरीयतामा शीर्ष स्थानमा यथावत् छन्।

विश्वकपको फाइनल खेलेको इङ्ल्यान्ड र न्युजिल्यान्डका खेलाडीले पनि केही फड्को मारेका छन्। सेमिफाइनलबाटै बाहिरिएको भारतका लागि खासै राम्रो प्रदर्शन गर्न नसके पनि कप्तान कोहलीको शीर्ष स्थानमा असर परेन। भारतकै रोहित शर्मा दोस्रोमा र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन्। यी दुवैको वरीयतामा पनि असर परेन। शर्मा गत सम्पन्न विश्वकपमा सर्वाधिक रन बटुल्ने ब्याट्सम्यानसमेत भएका थिए।

दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस चौथो र न्युजिल्यान्डका रोस टेलर पाँचौं स्थानमा यथावत् नै छन्। विश्वकपको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर प्लेयर अफ द टुर्नामेन्ट घोषित न्युजिल्यान्डका कप्तान केन विलियम्सनले दुई स्थान सुधार गर्दा छैटौं स्थानमा उक्लिएका छन्। उनले अहिलेसम्मकै सर्वाधिक ७९६ अंक बनाएका छन्। अस्ट्रेलियाका डेविड वार्नर सातौं स्थानमा छन्।

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने सूचीमा दोस्रो रहेका वार्नर वरीयतामा भने एक स्थान तल खस्किए। विश्वकपमा राम्रो ब्याटिङ गरे पनि इङ्ल्यान्डका जो रुट एक स्थान तल झर्दा आठौंमा स्थान पुगेका छन्। दक्षिण अफ्रिकाका क्विन्टन डि कक नवौं र इङ्ल्यान्डका जेसन रोय १०औं स्थानमा छन्। डी ककको एक स्थानमा खस्किएको हो भने रोयको वरीयतामा तीन स्थान सुधार भएको हो।

एकदिवसीयकै बलिङतर्फ भारतका जसप्रीत बुमराह शीर्ष स्थानमा यथावत् रहे। न्युजिल्यान्डका ट्रेन्ट बोल्ट पनि दोस्रो स्थानमा यथावत् रहँदा दक्षिण अफ्रिकाका कागिसो रबाडा एक स्थान वरीयता सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन्। अस्ट्रेलियाका प्याट कमिन्स चौथोमा र दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं स्थानमा छन्। कमिन्स एक स्थानमा तल झर्दा ताहिर भने यथावत् रहेका हुन्।

अफगानिस्तानका युवा बलर मुजिव उर रहमान छैटौं र इङ्ल्यान्डका क्रिस वोक्सले वरीयतामा निकै सुधार गर्दै सातौं स्थानमा उक्लिए। वोक्सले ६ स्थान सुधार गरेका थिए भने रहमान यथावत् छन्। समान एक स्थान खस्किएका अस्ट्रेलियाका मिचेल स्टार्क आठौंमा र अफगानिस्तानका रासिद खान नवौं स्थानमा पुगेका छन्। न्युजिल्यान्डका म्याट हेनरी १०औं स्थानमा उक्लिएका छन्। हेनरीले पाँच स्थान सुधार गरेका हुन्।

विश्वकपको फाइनलमा उत्कृष्ट बलिङ गरेका इङ्ल्यान्डका जोफ्रा आर्चर १३औं स्थान सुधार गर्दै २९औं स्थानमा उक्लिन सफल भएका छन्। अलराउन्डरको सूचीमा शीर्ष पाँच यथावत् रहँदा बंगलादेशका साकिब अल हसन शीर्षमा, इङ्ल्यान्डका बेन स्टोक्स दोस्रोमा, अफगानिस्तानका मोहम्मद नाबी तेस्रो, पाकिस्तानका इमान वासिम चौथो र अफगानिस्तानका रासिद खान पाँचौं स्थानमा छन्।

इङ्ल्यान्डका क्रिस वोक्स छैटौं, वेस्ट इन्डिजका जेसन होल्डर सातौं, न्युजिल्यान्डका मिचेल सान्टनर आठौं, दक्षिण अफ्रिकाका एडिल फेलुकवायो नवौं र भारतका हार्दिक पाण्ड्या र पाकिस्तानका मोहम्मद हफिज संयुक्त रूपमा १०औं स्थानमा छन्।

प्रकाशित: १ श्रावण २०७६ ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App