coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जन्मथलोमा क्रिकेट लोकप्रियता घट्दो

लन्डन, (एएफपी)– इङ्ल्यान्ड–वेल्समा सम्पन्न एकदिवसीय विश्वकपलाई क्रिकेट खेलको जन्मथलोमा यस खेलको लोकप्रियता बढाउने अवसरमा लिइएको थियो। तर आयोजक अझै पनि नयाँ पुस्ताका समर्थकलाई यस खेलप्रति आकर्षित भए वा नभएको भन्ने विषयमा भने स्पष्ट छैनन्।

ब्रिटेनमा हाल प्रान्तीय स्तरमा हुने प्रतियोगिताको संख्या घट्नु र युवा खेलाडीको सहभागितामा पनि कमी आएकोमा इङ्ल्यान्डको क्रिकेट नेतृत्व जानकार छ।

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड आफैंले गरेको एक अनुसन्धानमा त्यहाँका ६ देखि १५ वर्ष उमेरसमूहका बच्चामध्ये ५ प्रतिशतले मात्र क्रिकेटलाई मन पर्ने खेलका रूपमा राखेका थिए। यसले स्पष्ट रूपमा यस खेलप्रतिको आकर्षणमा कमी आएको संकेत गर्छ। दी टाइम्सले यसै वर्षको सुरुआतमा इङ्ल्यान्डका दर्जनांै स्थानीय क्रिकेट क्लब बन्द भएको उल्लेख गरेको थियो। साथै इङ्ल्यान्डमा २००८ मा दर्ता भएका क्रिकेट खेलाडीको संख्या ४ लाख २८ हजार थियो। जुन २०१६ मा २ लाख ७८ हजारमा झरेको थियो।

इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) ले नयाँ पुस्तालाई आकर्षित गर्ने भन्दै १  सय बल संरचनाको क्रिकेटको सुरुआत गर्ने योजना सार्वजनिक गरेको थियो। तर घट्दो घरेलु प्रतियोगिताले यस खेलप्रतिको आकर्षणमा कमी आएको संकेत गरेसँगै इसिबीको यो योजना कार्यान्वयन हुनेमा दुबिधा बढेको छ।

विश्वकपअघि इसिबीका प्रमुख टम ह्यारिसनले यो विश्वकप आफूहरूका लागि एउटा सुनौलो अवसर भएकाले यसका लागि ठूलो योजना तयार पारिएको प्रतिक्रिया दिएका थिए।

‘हामीले ५ देखि १२ वर्ष उमेरसमूहका १० लाख बालबालिकालाई विभिन्न माध्यमबाट प्रतियोगितामा जोड्ने लक्ष्य लिएका थियौं, जुन सफल भएको छ,’ ह्यारिसनले भने।

यसै साताको सुरुआतमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले इङल्यान्ड–वेल्स विश्वकप टेलिभिजन र डिजिटल माध्यममा हेरिने विश्वभरकै एक चर्चित इभेन्ट भएको भन्दै खुसी व्यक्त गरेको थियो।

प्रकाशित: १ श्रावण २०७६ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App