coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको हजारौं स्वास्थ्यकर्मी आन्दोलित

सिड्नी – अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका  छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गरेको समाचारमा जनाइएको छ।

अस्पताल एवं स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरु आन्दोलनमा उत्रिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। उक्त राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब पाँच सय जना प्रतिनिधिहरुले आगामी अगस्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि मंगलबार मतदान गरेको बताइएको छ।

उनीहरुले आगामी अगस्ट १ तारिखमा चार घन्टासम्म काम रोक्न माग गर्दै सो आन्दोलनको ऐक्यबद्धताका लागि मतदान गरेको बताइएको छ। उनीहरुले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा सुरक्षाको माग गरेका छन्। थप सुरक्षा व्यवस्था नहुदाँसम्म आफूहरुले काम नगर्ने उनीहरुले जनाएका छन्।

‘अस्पतालमा नै कैयौंको हत्या भएको छ, कैयौंमाथि छुरा हानिएको छ र कैयौंलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म हामीलाई अस्पताल पुगेर काम गर्नै गाह्रो छ,’ न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ।

‘हामीले अहिले जे देखिरहेका छौं त्यसलाई आधारभूत रूपमा नै परिवर्तन गर्ने बेला आएको छ,’ उनले बताए। मजदुर प्रतिनिधिहरुले अति भएर नै यो मतदान गरेको उनको भनाइ छ। उनले थप दुई सय ५० जना सुरक्षा गार्ड उपलब्ध गराउन आफूहरुले न्यु साउथ वेल्स राज्यको सुरक्षा निकायलाई आग्रह गरेको पनि जानकारी दिएका छन्।

एक तथ्यांकअनुसार गत वर्षमात्र उक्त राज्यमा चार सय ६५ वटा आक्रमणका घटना भएका थिए। पहिलो पटक वर्ष दिनमा यति धेरै आक्रमणका घटना भएकोले आफूहरुमा असुरक्षा महसुस भएको पनि न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले बताए।

उनले गएको जनवरी महिनामा एकजना मानसिक सन्तुलन गुमाएका विरामीले अस्पतालमा नै नर्सलाई छुरी हानेको घटना सुनाउँदै विरामी र कहिलेकाहीं विरामीका आफन्तहरुले पनि स्वाथ्यकर्मीहरुमाथि आक्रमण गर्ने गरेको जानकारी दिए। अस्पतालमा कार्यरत चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी एवं सबै कर्मचारीहरुमा पनि असुरक्षा बढेको न्यु साउथ वोल्सका स्वास्थ्यकर्मीहरुले विगत लामो समयदेखि बताउँदै आएका छन्।

आफूहरुले जहिले पनि विरामीलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको र सरकारले पनि स्वास्थ्यकर्मीहरुको सुरक्षालाई यसै गरी प्राथमिकतामा राखेर काम गर्नुपर्ने माग स्वास्थ्यकर्मीहरुले गर्दै आएका छन्। उनीहरुले यो आन्दोलनको घोषणा गरेको भए पनि अस्पतालका विरामीहरुलाई कुनै पनि किसिमको अप्ठेरो नपार्ने नीति आफूहरुको रहेको पनि बताएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका मजदुर युनियनका करिब पाँच सय जना प्रतिनिधिहरुले आगामी अगस्ट १ तारिखमा काम रोक्ने प्रयोजनका लागि मंगलबार मतदान गरेका छन्।

प्रकाशित: १ श्रावण २०७६ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App