coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जिरीमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण

जिरी (दोलखा) – पर्यटन विकासको महत्वाकांक्षी नारा तीन तहका सरकारले अघि सारेका छन्। कति चर्चाको शिखरमा छन्, कति योजना अलपत्र। तर, दोलखाको एउटा पर्यटकीय नगरले चर्चा र हल्लाबिनै ठूला पर्यटन पूर्वाधार बनाइरहेको छ। खुला मैदानको सदुपयोग गरेर पार्क बनाउनेदेखि डाँडाकाँडालाई पर्यटकको मन बहलाउने ठाउँको रुपमा विकास गरिँदैछ।

नगरको सीमा क्षेत्र खावाडाँडा प्रवेश गरेसँगै दोलखाको जिरी नगरपालिकाले खडा गरेका पर्यटन पूर्वाधारका आकर्षक संरचना देख्न पाइन्छ। बाह्रैमासे चिसो हुने सीमा क्षेत्रको खावाडाँडामा ‘पिक्निक स्पट’ बनाइएको छ। त्यसको केही पर भ्यू टावर र पार्क निर्माणको तयारी चलिरहेको छ। खावाडाँडाबाट झरेपछि  बुलडाँडामा बुद्ध पार्क बनाइएको छ। १० फिट आशनसहित २३ फिट अग्लो बुद्ध मूर्तिलाई कलात्मक ढंगले राखिएको बुद्ध पार्कसँगै ध्यान केन्द्रसमेत तयार भइसकेको छ।

हाटडाँडा बजार झरेपछि पहिलेको हाट लाग्ने ठाउँमा मानेडाँडा पार्क बनाइएको छ। बीचमा माने ठड्याएर पार्कको वरिपरि बगैंचा तयार गरिएको छ। सँगैको पल्लो डाँडामा जिरेल जातिको संग्रहालय बनिरहेको छ। हाटडाँडाबाट झरेपछि लिंकन आसपासका बजार केन्द्रमा अरु पनि थुप्रै्र पार्क बन्दैछन्। जिरी बजार कटेर पुगिने गाउँ माली र श्यामामा करोडौंका पर्यटन पूर्वाधार बनिरहेको छ। 

यो सुन्दर पर्यटकीय नगरी जिरीका दुईवटा सुनौला उपनाम छन्। नेपालको स्विजरल्यान्ड र सगरमाथाको प्रवेशद्वार। नेपाल घुम्न आउँदा जिरी पुगेका स्विजरल्यान्डका भूगोलशास्त्री टोनी हेगनले जिरीको भू–बनोट स्विजरल्यान्डको ज्युरिच सहरसँग मिल्दोजुल्दो देखेपछि त्यसबारे आफ्नो सरकारलाई रिपोर्टिङ सुनाएलगत्तै २०१५ सालमा जिरीको विकासमा स्विस सरकारले हात हाल्यो।

विश्वको सर्वोच्च शिखर सगरमाथा जाने पर्यटक यही जिरी हुँदै जान्थे। पदयात्रामा निस्किने पर्यटकले यहाँका सुन्दर र हराभरा फाँटमा पाल टाँगेर केही दिन बिताउँथे। लुक्ला विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउन्जेल र सोलुखुम्बुमा सडक नपुगुन्जेलसम्म सगरमाथा आउजाउ गर्दा पर्यटकले यही मार्ग प्रयोग गरेका कारण जिरीले सगरमाथाको प्रवेशद्वारको उपमा पायो।

६० को दशकको मध्यतिर स्विस सरकारले दोलखा जिल्लाबाट सहयोगको हात झिक्यो। सगरमाथा जाने पर्यटकसमेत जिरी हुँदै पैदलमार्गबाट विस्तारै कम हुँदै जान थाले। कुनैबेला रामेछाप र सोलुसम्मको किनमेल गर्ने थलो जिरी बजारमा उता यातायात पुगेपछि विस्तारै चहलपहल घट्दै जान थाल्यो। तैपनि, यो सुन्दर नगरले हरेश खाएन।

२०७१ मा जिरीसहित वरपरका ठूलोपातल र माली गाविस मिलेर नगरपालिका बनेपछि पर्यटनमा आफ्नो ऐतिहासिक विरासतलाई यो नगरले क्रमिक रुपमा सुधार गर्दै लान थाल्यो। स–साना पूर्वाधार निर्माण सुरु हुँदै थिए। स्थानीय तह निर्वाचनअघि नगरपालिकामा श्यामा गाविससमेत थपियो। 

नगरमा जनप्रतिनिधि आइसकेपछि उनीहरुले एउटा अठोट गरे। अब जिरीलाई विदेशीभन्दा पनि नेपाली पर्यटककै केन्द्र बनाउनुपर्छ। त्यसपछि पर्यटनका स–साना टुक्रे योजना बन्द गरेर सुरु गरियो प्रतिफल देखिने खालका ठूला पूर्वाधार निर्माणको काम।

जिरी बहुमुखी क्याम्पसका प्रमुखसमेत रहेका २०४८ का प्रत्यक्ष निर्वाचित सांसद ईन्द्रबहादुर खड्काका अनुसार प्रतिफल देखिने गरी जिरीको पर्यटन उकास्न पूर्वाधार निर्माणको काम धमाधम चलिरहेको छ। ‘पर्यटक लोभ्याउने पार्कदेखि अल्मलिने खालका सुन्दर र आकर्षक पूर्वाधार जिरीमा बनिरहेका छन्,’ पूर्वसांसद खड्काले भने।

जिरी नगरपालिकाका मेयर टंक जिरेलका अनुसार नगरभरी पर्यटकलाई अल्मल्याउन आठवटा पार्क धमाधम बनिरहेका छन्। दुई किलोमिटर लामो ताल निर्माणका लागि विस्तृत परियोजना अध्ययनको काम चलिरहेको छ।

मेयर जिरेलका अनुसार खावाडाँडासहित नगर प्रवेश गर्ने क्षेत्रमा बुद्धपार्क, गुराँसे पार्क र ठूलनागी क्षेत्रमा पूर्वाधार निर्माणको काम चलिरहेको छ। जिरीको लिंकन बजारभन्दा माथि रमितेडाँडा क्षेत्रमा टोनी हेगनको सम्झनामा टोनी हेगन इकोलोजिकल पार्क बनिरहेको छ। ठूलो राष्ट्रिय झण्डासमेत फहराइएको यो क्षेत्रबाट लिंकन बजार र जिरी उपत्यका देखिन्छ। यस्तै सगरमाथाका पहिलो आरोही एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पा सगरमाथा चढ्न जानुअघि जिरीमा बास बसेको स्थानमा तेन्जिङ हिलारी मेमोरियल पार्क निर्माण भइरहेको छ। मालीमा हलेश्वर र पिकनिक पार्क बन्दैछ भने श्यामामा स्टोन पार्क निर्माण भइरहेको छ। यो पार्कमा प्राकृतिक ढुंगा रहेको क्षेत्रलाई संरक्षण गरेर आकर्षक बनाइएको छ। यस्तै ताइवानी धर्मगुरुको लगानीमा मालिमा बौद्ध स्तुपासहितको एक सय ९५ फुट अग्लो गुरु पद्म सम्भवको प्रतिमा ठड्याइँदैछ।

जिरी नगरका मेयर जिरेलले पर्यटन गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिएको सुनाए। ‘अब विदेशीभन्दा पनि हामी नेपाली अत्यधिक घुम्ने र डुल्ने काममा रुचि राख्ने भइसक्यौं,’ जिरेलले भने, ‘नेपाली घुम्न आउने प्रमुख गन्तव्य निर्माण गर्ने लक्ष्य भएका कारण हामीले सानातिना टुक्रे योजनामा बजेट हालेर सक्नेभन्दा पनि पर्यटकलाई अल्मल्याउन सक्ने गरी देखिने काम गर्नुपर्छ भनेर यी पूर्वाधार निर्माण गर्न लागेका हौं।’

जिरेलले नगरभित्र बनिरहेका प्रत्येक पार्कमा वर्षमा कम्तीमा १५ लाख नगरपालिकाको बजेटबाट छुट्ट्याइने गरिएको छ। जिरी नगरपालिकाको पर्यटन पूर्वाधारको काम देखेर प्रदेश सरकारले समेत प्रायः पूर्वाधारलाई बर्सेनि सहयोग गर्दै आएको छ।

नगरका प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले पर्यटन पूर्वाधार निर्माण नगरपालिकाको प्राथमिकतामा परेको बताए। ‘यस्ता पार्क तथा केन्द्र पहिले हाम्रो गाउँघरका चौतारोका सुधारिएको रुप हुन्,’ उनले भने, ‘पर्यटकलाई आकर्षित गर्नुपर्छ भनेर यसमा लगानी बढाएका हौं।’

पर्यटन पूर्वाधारसँगै नगरपालिकाले जिरीलाई अर्गानिक नगर बनाउने अभियानसमेत सुरु गरेको छ। नगरको नारा नै ‘सफा जिरी, हरियाली जिरी र अर्गानिक जिरी’ तय गरिएको छ। मेयर जिरेलले अर्गानिक बनाउन ‘लोकल’ कुखुरा, स्थानीय खसीबोकाका साथै तरकारी उत्पादनमा बजेटमार्फत नै अनुदानको व्यवस्था गरेको छ।

‘पाँच वर्षभित्र ब्रोइलर कुखुरा, बाहिरबाट खसीबोकासहित तरकारी आयातमा रोक लगाउने लक्ष्य लिएका छौं,’ उनले भने, ‘यति गर्न सक्यौं भने देशकै चिसो हावापानीयुक्त प्रमुख पर्यटकीय गन्तव्य बनाउन सक्थ्यौं।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App