हरैया काण्ड

सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ कायमै

बुधबार, ०१ साउन २०७६, ०७ : १५ दिलबहादुर छत्याल/पुष्पराज जोशी

हरैया (कैलाली) - भाडाका बाउन्सर’ लगाएर हरैयास्थित सुकुमबासी बस्तीमा घर भत्काउने, कुटपिट गर्ने र आगजनी गर्ने कार्य ६ दिनसम्म जारी रहेको छ। अविरल झरीमा सुकुमबासीको बिचल्ली बनाउने गरी गुन्डागर्दी शैलीमा हरैयाका झुप्रा भत्काउने कार्यको चौतर्फी आलोचना हुँदा पनि प्रहरी–प्रशासन र सरकार मौन बसेको छ। २०/२५ जना ‘बाउन्सर’हरू भाडामा प्रयोग गरेर बिहीबारदेखि सुकुमबासी बस्ती भत्काउन सुरु भएको स्थानीय बताउँछन्। मंगलबारसम्म एक सय झुप्रा भत्काइएका छन्। अझै ३० घर बाँकी छन्। उनीहरूले चक्कु, गैंची, हथौडा, करैंती बोकेर घर भत्काउने र कुटपिट गर्ने गरेका छन्।

मंगलबारमात्रना महिलालाई ‘बाउन्सर’हरूले कुटपिट गरेका छन् भने १५ झुप्रा भत्काएका छन्। आफूहरूको घर नभत्काउन भन्दै आग्रह गर्दा उल्टै घाँटी च्यापेटर कुटपिट गरेको सुनिता चौधरीले बताइन्। उनले भनिन्, ‘हामी सुकुमबासीको घर किन भत्काउन थालेको भन्दा उल्टै चक्कु देखाउँदै कुटपिट गरे।’ बाउन्सरहरूले सुनिता र कोमल चौधरीलाई कुटपिट गरेका हुन्। ‘भाडाका बाउन्सरहरूले हामीमाथि हात हालेरै कुटपिट गरे,’ कोमलले भनिन्।

– पाँच दिनदेखि सुकुमबासी भोकभोकै
– ११ महिनामा तीनजना सिडिओ फेरिए
– सुकुमबासी बस्तीमा भाडाका ‘बाउन्सर’
– विभिन्न दलद्वारा विरोध

पाँच दिनदेखि भोकभोकै
साउन लाग्दै गर्दाको बर्खे झरीमा घर भत्काइएका सुकुमबासीहरूको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ। गत बिहीबारदेखि सुकुमबासी बस्तीमा ‘गुन्डाराज’ चलिरहँदा सुकुमबासी परिवार भोकभोकै छन्। डर, त्रासका बीच घर भत्काइएका सुकुमबासी झरीमा खुला आकासमुनि भोकभोकै बसिरहेका छन्। झरीमा भोकभोकै बस्दा बालबच्चा र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्।

घर भत्काइएपछि वर्षाले खाद्यान्नसहित लुगाकपडा भिजेपछि भोकभोकै बस्नुपरेको उनीहरूले बताएका छन्। ‘पाँच दिनदेखि भोकभोकै छु, खुला आकासमुनि झरीमा बस्नुपरेको छ,’ प्रेम थारुले भने, ‘बालबच्चा र वृद्धवृद्धाको बेहाल भएको छ।’ झरीमा रुझ्दा रुझ्दै बालबच्चा र वृद्धवृद्धा बिरामी पर्न थालेको बताउँदै सोकली थारुले भनिन्, ‘पानीमा लगातार रुझ्नुपर्दा निमोनिया, रुघाखोकी, ज्वरोको समस्या देखिएको छ।’

राति त्रिपाल टाँगेर ओत लाग्ने गरे पनि दिउँसो उनै ‘बाउन्सर’हरूले जलाइदिने डरले खोलेर राखी झरीमा भिज्नुपरेको तीतो यथार्थ बताउँदै बसीराम कोलीले भने, ‘६ दिनदेखि डरैडरमा लुकिछिपी बसिरहेका छौं।’

‘टुहुराजस्तै भयौं’
सम्पत्तिको नाममा एउटा सानो झुप्रोमात्रै थियो गंगे नेपालीको। त्यही झुप्रो पनि भत्काई दिएपछि अहिले उनको न ओत लाग्ने ठाउँ छ न कतै जाने ठाउँ छ। ‘मर्न सकिँदैन, बालबच्चाको अवस्था देखेर रुन मन लाग्छ तर उपाय केही छैन,’ उनले भने, ‘यो बाढी–बर्साको समयमा कहाँ जानु ? जाने ठाउँ छैन।’ सो सुकुमबासी बस्तीका सयभन्दा बढी परिवारलाई अहिले नेपालीको जस्तै चिन्ता छ। ‘जिल्ला प्रशासन, नगरपालिका, मुख्यमन्त्रीको कार्यालय सबैतिर गएर वर्षात्का बेला बिचल्ली नपारिदिनुस् भनेर बिन्ति चढायौं,’ सन्जु चौधरीले भनिन्, ‘तर, हामीले कतैबाट साथ पाएनौं।’ अभिभावक नभएका टुहुरा बालबालिकाको जस्तो आफूहरूको अवस्था भएको उनको दुखेसो छ। ‘पानीबाट बगरमा फालेको माछाजस्तो हालत भएको छ,’ उनले भनिन्, ‘यस्तो अवस्था दुश्मनको पनि नहोस्।’

विपद्ले घरबारविहीन बनाउँदा त राज्यले राहतसम्म दिने गरे पनि, आफूहरूलाई ‘गुन्डा’हरूले बिचल्ली बनाइदिँदा कसैले नहेरेको, सरकारसमेत चुप लागेको उनले बताइन्। यो ज्यादतीविरुद्ध कसैले बोलेमा कुटपिट गर्ने, चक्कु हान्ने धम्की दिने गरेको पीडितहरू बताउँछन्। प्रमुख जिल्ला अधिकारीलाई आफूहरूको अवस्थाबारे जानकारी गराउँदा केही गर्न नसक्ने प्रतिक्रिया दिएको बताउँदै सन्जुले भनिन्,‘सबैको मिलेमतोमा हामी गरिबको उठीबास लगाइँदैछ।’

परिचालित हुन् ‘बाउन्सर’
पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिका सञ्चालकले कैलालीको चौमालादेखि अत्तरियासम्मका केही पूर्ववाइसिएल, गुन्डागर्दीमा लागेको युवा, यातायात समितिहरूले प्रयोग गर्ने गरेका ‘बाउन्सर’ अत्तरियामा बिहानै जम्मा गराउँछन्। उनीहरूलाई अत्तरियाको महेन्द्रनगरलाइनमा रहेको होटलमा लगेर सेकुवासँगै मदिरा खुवाइन्छ। बिहान ११ बजेसम्म उनीहरू मदिरामा झुम्म भइसक्छन्। मदिराले लठ्ठ भएपछि ‘बाउन्सर’हरूलाई मोटरसाइकल र गाडीमा राखेर अत्तरियादेखि पाँच किलोमिटर टाढा रहेको हरैया बस्तीमा लगिन्छ। त्यहाँ छोडिएपछि उनीहरूले सुकुमबासी बस्तीमा ‘तान्डब’ मच्चाउन सुरु गर्छन्।

दुई–तीन घण्टासम्म उनीहरू सुकुमबासी बस्तीका घर भत्काउने, स्थानीयलाई धम्की दिने र कुटपिट गर्ने काममा खटिन्छन्। दुई–तीन घण्टा सुकुमबासी बस्तीमा बिताइसकेपछि उनीहरूलाई पुनः अत्तरिया ल्याइन्छ। फेरि त्यही होटेलमा मदिरापान गराइन्छ। मदिरापानपछि साँझ उसैगरी सुकुमबासी बस्तीमा लगेर छोडिन्छ। अबेरसम्म उनीहरूले छाप्रा भत्काउने कार्य जारी राख्छन्। राति फेरि अत्तरिया फर्किएपछि उनीहरूलाई ‘नास्ता’ भन्दै मदिरा खुवाइन्छ। यो कार्य बिहीबारदेखि मंगलबारसम्म जारी छ। ‘बाउन्सर’हरूलाई प्रति व्यक्ति ५० हजार रुपैयाँसम्म दिएर परिचालन गरिएको बताइन्छ। ‘मलाई पनि खानपिनसँगै ५० हजार रुपैयाँ व्यवस्था हुन्छ, बस्ती भत्काउन जाऔं भनेर ‘अफर’ आएको थियो,’ एक युवाले भने, ‘तर, म गइँन।’ सुकुमबासी भत्काउन गरिएको युवा परिचालनमा २० लाख रुपैयाँ खर्च भइसकेको उनले बताए।

११ महिनामा तीन सिडिओ
दाङका उद्योगी रणबहादुर शाहबाट पोखराको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमिन किनेको थियो। जमिन किनबेच हुँदा कैलालीमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल थिए। जमिन खरिदपछि सुकुमबासी हटाइदिन हाउजिङ सञ्चालक तथा तत्कालीन एकीकृत माओवादीका स्थानीय नेता प्रमुख जिल्ला अधिकारी रिजाल कहाँ धेरै पटक धाए। रिजालले द्वन्द्वकालीन राजनीतिक मुद्दा भएकाले उनले सुकुमबासीलाई हटाउन सहयोग गर्न सकेनन्। स्रोतका अनुसार सुकुमबासी हटाउन प्रमुख जिल्ला अधिकारी रिजालले नमानेपछि उनलाई सरुवा गर्ने खेल सुरु भयो। अन्ततः उनी २०७५ वैशाख १९ गते सरुवा भए। त्यसपछि कैलालीमा प्रमुख जिल्ला अधिकारीका रूपमा ऋषिराम तिवारीलाई खटाइए। उनी पनि हरैयाबाट सुकुमबासी हटाउन पन्छिए। सुकुमबासी हटाउन अड्चन भएपछि ४५ दिनमै उनको पनि सरुवा भयो। २०७५ वैशाख २० गते हाजिर भएका तिवारी असार ५ गते सरुवा भएर गए। तिवारीपछि २०७५ असार २५ गते हाजिर भएर बाबुराम श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको जिम्मेबारी सम्हाले। यो घटनामा उनले पनि साथ दिएनन्।

स्रोतका अनुसार श्रेष्ठलाई पनि सुकुमबासी हटाइदिन भन्दै नेताहरूबाट दबाब आएको थियो। श्रेष्ठले सुकुमबासी हटाउने कुरामा केन्द्रको निर्देशन आउनुपर्ने भन्दै अटेर गरे। उनी पनि सुकुमबासी हटाउने कार्यमा बाधक बनेपछि नौ महिनामै सरुवा भए। उनलाई २०७५ चैत १३ गते सरुवा गरियो। त्यसपछि २०७५ चैत १८ गतेका दिन यज्ञराज बोहरालाई खटाइयो। नेताको भनसुन नमान्ने छवि बनाएका तत्कालीन जिल्ला प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले प्रजिअ बोहरालाई सुकुमबासी हटाउन सहयोग गर्न नहुने भन्दै ‘लविङ’ गरेपछि सुकुमबासी हटाउने उनीहरूको योजना सफल हुन सकेको थिएन।

‘तत्कालीन प्रजिअ बाबुराम श्रेष्ठ हुँदा पनि सुकुमबासी हटाउने कुरामा हात नहाल्ने अडान लिएका थियौं,’ तत्कालीन प्रहरी प्रमुख तिम्सिनाले भने, ‘अर्का सिडिओ बोहरा आउँदा पनि मैले सुकुमबासीलाई त्यहाँबाट हटाउने कुरामा साथ दिनुहुँदैन भनेर रोकेका थियौं।’ द्वन्द्वकालीन राजनीतिक मुद्दा भएकाले माथिको पत्र नआउन्जेल आफूहरूले सुकुमबासी हटाउन नसक्ने भन्दै अडान लिएको उनले बताए। सुकुमबासी हटाउन सहयोग गरिदिन भन्दै प्रालिले प्रहरी–प्रशासनसमक्ष निवेदन दिएको र केन्द्रको लिखित निर्देशन ल्याए मात्रै सहयोग गर्न सकिने भनेर जवाफ फर्काएको उनको भनाइ छ। नेताहरूको भनसुन नमान्ने छवि बनाएका प्रहरी उपरीक्षक तिम्सिना पनि सरुवा भएपछि सुकुमबासी हटाउन सुरु भएको स्रोत बताउँछ।

‘हामीले सुकुमबासी हटाइदिन आग्रह गर्दै प्रहरी–प्रशासनमा निवेदन दिएका थियौं,’ प्रालिका सदस्य शंकर कार्कीले भने,‘उनीहरूले आफैं हटाउनू भनेपछि कामदार लगाएर टहरा भत्काएका हौं।’ गत वर्ष जमिन किनेलगत्तै प्रहरी र प्रशासनमा सुकुमबासी हटाइदिन निवेदन दिएको पनि उनले बताए। कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले भने आफूले सुकुमबासी हटाउन कुनै अनुमति नदिएको बताएका छन्। हरैया जमिन अदालतमा विचाराधीन मुद्दा भएकाले यसबारेमा आफूले बोल्न र केही गर्न नमिल्ने बताए।

विभिन्न दलद्वारा विरोध
हरैयास्थित सुकुमबासीका घर–टहरामा आगजनी गर्ने, कुटपिट गर्ने र धम्की दिनेविरुद्ध राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्ट, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला सचिव रुद्र कँडेल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै विरोध गरेका छन्। उनीहले विज्ञप्तिमा वर्षात्मा बिचल्ली बनाउने गरी भइरहेको तोडफोड र आगजनी बन्द गर्न र सुकुमबासीहरूलाई बसोबासको व्यवस्था गर्न माग गरेका छन्। ‘बाढी पहिरोको ठूलो धनजनको क्षति भइरहेको अवस्थामा सत्ताका समर्थक युवाहरूलाई परिचालन गरेर पोखराको हाउजिङ कम्पनीले विद्यमान संविधान र कानुनलाई मिचेर मजदुर, सुकुमबासीका टहरा भत्काउने कार्यको घोर निन्दा र भत्र्सना गर्दछु,’ राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सर्वहाराको हिमायती बन्ने सरकार र प्रशासन मुकदर्शक बन्नु घोर आत्तपत्तिजनक छ। यसरी बस्तीमा गुन्डागर्दी गर्नेलाई तुरुन्त कारबाहीको माग गर्छु। बस्ती भत्काउने कार्य रोक्न र गुन्डालाई कारबाही नगरे आन्दोलनमा जानेछौं।’ विप्लव नेतृत्व माओवादी कैलालीका इन्चार्ज विवेक कुमालले सुकुमबासीमाथि भइरहेको ज्यादतीको निन्दा गर्दै उनीहरूलाई हटाइए पनि त्यो जमिनमा कुनै संरचना बनाउन नदिने र पुनः सुकुमबासीलाई बसाल्ने बताएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad