coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भ्रष्टाचार भएको भन्दै सामूहिक राजीनामा

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरूले प्रशासनिक तथा प्राविधिक पदको स्थायी पूर्ति नतिजामा गरेको अनियमिता सलाउन नपाउँदै फेललाई पास र पासलाई फेल गराएको तथ्य सार्वजनिक भएको थियो। त्यसको केही दिनमै त्रिविका आंगिक क्याम्पस प्रमुख भ्रष्टाचारमा मुछिएको मुद्दा सार्वजनिक भएको छ। त्रिविको भक्तपुरस्थित आंगिक क्याम्पस, सानोठिमी क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले नियुक्ति पाएलगत्तै पदको दुरुपयोग गर्दै आर्थिक प्रलोभनमा परेर पटकपटक क्याम्पसको शैक्षिक तथा प्राज्ञिक उन्नयन नै ध्वस्त बनाएको आरोप लगाउँदै सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरू, व्यवस्थापन समिति तथा कार्य समिति सदस्य गरी १५ जनाले मंगलबार सामूहिक राजीनामा दिएका छन्।

क्याम्पस प्रमुख घिमिरेले तीन बर्से कार्यकालमा १५ भन्दा बढी गलत निर्णयहरू गरेको विभागीय प्रमुखहरूको आरोप छ। आर्थिक लेनदेन तथा कमिसनको प्रलोभनमा परेर प्रमुख घिमिरेले गरेका गलत निर्णयहरूमा आफूहरूले पटकपटक त्यसो नगर्न सुझाए पनि प्रमुख घिमिरेले उल्टै धम्क्याउने गरेको सहायक प्रमुख बलराम देवकोटाले बताए। ‘क्याम्पस प्रमुख घिमिरे झोलामा कलेजको लेटर–प्याड र छाप बोकेर हिँड्नुहुन्छ। आर्थिक लेनदेन गरेर कलेजको शैक्षिक तथा प्राज्ञिक मर्यादामा आँच पुग्ने काम गर्दैै आउनुभएको छ,’ व्यवस्थापन समिति सदस्यसमेत रहेका देवकोटाले नागरिकसँग भने, ‘प्रमुखको नियुक्तिलगत्तै खराब करतुतहरू देखा पर्न थालेका हुन्। हामीले पटकपटक त्यसो नगर्न सचेत गराए पनि उहाँ मान्नुभएन।’ क्याम्स प्रमुखले गर्ने गलत कामको साक्षी आफूहरू बन्न नसकेर राजीनामा दिएको उनले बताए। त्रिविको इतिहासमा आंगिक कलेज प्रमुखको आर्थिक अनियमितताविरुद्ध कलेजका शिक्षकहरूको सामूहिक राजीनामा दिएको यो पहिलो घटना हो। त्रिवि हाल काण्डैकाण्डको अखडा बन्दै गएकोमा शिक्षकहरूले दुःख व्यक्त गरेका छन्।

त्रिविको इतिहासमा आंगिक कलेज प्रमुखको आर्थिक अनियमितताविरुद्ध कलेजका शिक्षकहरूको सामूहिक राजीनामा दिएको यो पहिलो घटना हो। त्रिवि हाल काण्डैकाण्डको अखडा बन्दमा शिक्षकहरूले दुःख व्यक्त गरेका छन्।

क्याम्पस प्रमुख घिमिरेले कलेजको जग्गा आर्थिक प्रलोभनमा परेर कौडीको मोलमा भाडामा दिएको, गैरकानूनी ढंगले व्यक्तिगत प्रलोभनमा परी करार शिक्षक नियुक्ति गरेको, पूर्वक्याम्पस प्रमुखहरूले जम्मा गरेको सात करोडभन्दा बढी रकम कुनै प्रक्रिया नअपनाई अपारदर्शी ढंगले जथाभावी खर्च गरी क्याम्पसलाई टाट पल्टिने अवस्थामा पु¥याएको, क्याम्पसको लेटर–प्याड र छाप झोलामा नै बोकेर त्यसको दुरुपयोग गर्दै लाखौं बजेटको टेन्टर क्याम्पसबाहिर तयार गरी सम्झौता गरेको, विश्वविद्यालयको नियमविपरीत महँगो मोबाइल फोन खरिद गरेकोलगायत आरोप लगाउँदै विभागीय प्रमुखसहितले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ।
क्याम्पस प्रमुख घिमिरेले आर्थिक अनियममितता गरेको अर्को प्रमाण उनले त्रिविको नियमविपरीत उच्चशिक्षा परियोजनाको रकम दुरुपयोग गरी किनेको महँगो मूल्यको मोबाइल भएको शिक्षकहरू बताउँछन्। आन्तरिक लेखा परीक्षण प्रतिवेदन २०७४÷०७५ का अनुसार कलेज प्रमुख दोस्रो उच्चशिक्षा परियोजनाको रकमसमेत दुरुपयोग गरेका छन्। प्रतिवेदनमा परियोजनाले आइफोन (८) २५० जिबिको खरिद गर्नका लागि व्यवस्था नगरेकोमा घिमिरेले एक लाख १९ हजार सात सय ८० रुपैयाँ पर्ने आइफोन किनेको पाइएको उल्लेख गरिएको छ। ‘त्रिवि कार्यकारी परिषद्को २०७३ फागुन ११ को बैठकको निर्णय नम्बर १०९६ अनुसार निकाय प्रमुखलाई १५ हजारसम्मको मोबाइल थान एक एकपटक मात्र उपलब्ध गराउने निर्णय भएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘तर त्यस क्याम्पसले सो निर्णयको सीमाभन्दा बढी रकमको मोबाइल खरिद गरी क्याम्पस प्रमुखलाई उपलब्ध गराएको पाइयो।’

राजीनामा दिनेमा सहायक प्रमुख एवं व्यवस्थापन समिति सदस्य बलराम देवकोटा, क्याम्पस कार्यसमिति सदस्य राजन आलेमगर, कार्य समिति सदस्य तथा व्यवस्थापन समिति सदस्य सोमनाथ ढकाल, कार्यसमिति सदस्य तथा साधारण शिक्षा शिक्षण विभाग प्रमुख जयन्त कार्की र अनुसन्धान व्यवस्थापन इकाइ प्रमुख गेमप्रसाद गुरुङ रहेका छन्। विज्ञान विभाग प्रमुख रामकृष्ण दुवाल, आइसिटी विभाग प्रमुख रोमकान्त पाण्डे, व्यावसायिक शिक्षा विभाग प्रमुख खगेन्द्र बराइली, अंग्रेजी विभाग प्रमुख भुवनबहादुर बोहरा र शिक्षण अनुसन्धान प्रमुख सुमनकुमार श्रेष्ठले पनि राजीनामापत्रमा हस्ताक्षर गरेका छन्। नेपाली विभाग प्रमुख ताराप्रसाद न्यौपाने, ओडिएल कार्यक्रम संयोजक रेगबहादुर भण्डारी, गणित विभाग प्रमुख लक्ष्मी अर्याल, शिक्षक जीवनप्रसाद बन्जारा र शिक्षक माधवकुमार श्रेष्ठले समेत सामूहिक राजीनामा दिएका छन्।

कलेजले भोगचलन गर्दै आएको १३ रोपनी जग्गा शैक्षिक प्रयोजनका लागि उपयोग गर्नुपर्नेमा क्याम्पस प्रमुख घिमिरे आर्थिक प्रलोभनमा परी १० वर्षका लागि वार्षिक सात हजार एक सयका दरले प्राणनाथ क्याफेलाई गत वर्ष भाडामा दिएर विवादमा आएका थिए। कलेजका शिक्षकहरूको विरोध र शिक्षामन्त्रीको निर्देशनपछि प्रमुखले सो समझौता रद्ध गर्नुपरेको थियो।

‘वार्षिक लाखौं भाडा आउने जग्गालाई क्याम्पस प्रमुखले आर्थिक प्रलोभनमा परेर सात हजार रुपैयाँ भाडामा दिने सहमति गरे। हामीले विरोध गरेपछि बल्ल सम्झौता रद्ध भयो,’ नेपाल राष्ट्रिय प्रध्यापक संगठनका कलेज इकाइ समिति अध्यक्ष अम्बरजङ लिम्बुले नागरिकसँग भने ‘पछिलो समय क्याम्पस रंगरोगन गरेको बिल तथा गलत कागजात पेस गरी नौ लाख रकम निकासा गर्न खोज्दा प्रशासनले रोकिदिएको हो।’ उनले थपे, ‘यति मात्र होइन पछिलो समय त्रिवि ऐनविपरीत घिमिरेले योग्यता नपुगेका तीनजनालाई करारमा शिक्षक नियुक्ति गरेर हद पार गर्दा हामीलाई दिक्क बनाएको हो।’ त्रिविको ऐनअनुसार आंगिक कलेजहरूले करार नियुक्ति गर्दा विश्वविद्यालयको स्वीकृति लिनुपर्छ। त्रिविको स्वीकृतिबेगर नियुक्ति गर्न नमिल्ने व्यवस्थाको घिमिरेले खुलेआम धज्जी उडाउँदासमेत विश्वविद्यालयले कुनै कारवाही नगरेकोकोमा शिक्षक लिम्बुले आक्रोश व्यक्त गरे।

प्रमुख घिमिरेले हालै करारमा नियुक्ति गरेको तीन शिक्षकमध्ये अंग्रेजी शिक्षक कोशल पन्तले विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको ठाडो निर्देशनमा नियुक्ति पाएको लिम्बु बताउँछन्। यसका साथै गत वर्ष माघ २० गतेदेखि सञ्चालित स्नातकोत्तर तहको परीक्षामा क्याम्पस प्रमुखले नक्कली सहायक केन्द्राध्यक्ष रमेश थापा तथा पर्यवेक्षक सुरेन्द्र शाक्य र मदन खड्कासहित केही निरीक्षकहरूसमेतको कपोकल्पित नाम राखेर पारिश्रमिक भुक्तानी लिएको कलेजका शिक्षकहरूको आरोप छ।

कलेजका प्रशासन प्रमुख रामहरि फुयाँलले प्रमुखले रंगरोगनमा खर्च गरेको नौ लाख रुपैयाँको प्रमाण नपुगेको देखिएकाले दर्ता नगरेको प्रष्ट्याए। ‘कलेजमा देखिएको बेथितिका कारण विभागीय प्रमुखहरूले सामूहिक राजीनामा दिएका हुन्’, प्रशासन प्रमुख फुयाँलले नागरिकसँग भने, ‘हाम्रो पनि काम गर्ने सीमा हुन्छ। कोही पनि सीमाभन्दा माथि जान मिल्दैन।’ फुयाँलका अनुसार कहाँ कुन ठाउँमा रंगरोगन गरेको कागज पक्का नभएकाले प्रशासनमा दर्ता गर्न नमिलेको हो।

कलेज प्रमुख घिमिरेले विभागीय प्रमुख, कार्यसमिति तथा व्यवस्थापन समिति सदस्यहरूले दिएको सामूहिक राजीनामा स्वीकृत नहुने बताए। उनले राजीनामा नै दिने हो भने व्यक्तिगत रूपमा दिनुपर्ने भन्दै संगठनको करकापमा दिएको सामूहिक राजीनामा स्वीकृत नहुने जनाए। ‘मेरो तीन वर्ष एक महिने कार्यकालमा केही निर्णयमा साथीहरूलाई असन्तुष्टि पक्कै छ। त्यो मलाई थाह छ ,’ प्रमुख घिमिरेले नागरिकसँग भने, ‘जग्गा भाडाको विषय मैले रद्ध गरिसकेको छु। हाम्रो क्याम्पस विकेन्द्रीकरणमा गएकाले सबै विषयमा विश्वविद्यालयको स्वीकृत चाहिँदैन। मैले उच्चशिक्षा परियोजनाको रकमले आइफोन किनेको हुँ। किनभने मैले कलेजलाई प्रविधिमैत्री बनाउन खोजेको हुँ।’ प्रमुख घिमिरेका अनुसार कलेजलाई प्रविधिमैत्री बनाउन विभागीय प्रमुख तथा शिक्षकहरूलाई ल्यापटप दिइएको छ, जसको मोनिटरिङ सिसिटिभि क्यामराबाट हुन्छ र लिंक उनको मोबाइलमा छ। ‘बिनाप्रमाण जे आरोप लगाए पनि हुन्छ ?,’ प्रमुख घिमिरेले भने, ‘राजीनामा नै दिने हो भने व्यक्तिगत आउनुप¥यो।’
                                                                                                                                                                                                                                                                                                                                                                                                           

प्रकाशित: १ श्रावण २०७६ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App