१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘संविधान सफल पार्न जुट्नुस्’

काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा छिटै राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासमा लाग्न नेताहरूलाई आग्रह गरेका छन् ।
मुखर्जीले बिहीबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहित प्रभावशाली नेतासँगको सामूहिक भेटमा सबै पक्षलाई समेटेर संविधानको सफल कार्यान्वयनमा जुट्न पनि कांग्रेस नेतालाई सुझाए ।
‘राजनीतिक स्थायित्व नभएसम्म आर्थिक विकास सम्भव छैन,’ मुखर्जीलाई उद्धृत गर्दै नेता पौडेलले भने, ‘तपाईंहरू संविधानको सफल कार्यान्वयनका लागि जुटिरहनुभएको छ, सकेसम्म सबैलाई समेटेर अघि बढ्नुस् ।’
भेटमा देउवाले संविधान संशोधनसहितका विषयमा दलीय सहमति जुटाउन प्रयास भइरहेको जानकारी गराएका थिए । उनले नेपालको पछिल्लो राजनीतिक र आर्थिक विकासबारे पनि मुखर्जीलाई जानकारी गराए ।
मुखर्जीले नेपालको जलसम्पदा उपयोगबाट आर्थिक विकास सम्भव रहेको बताउँदै कांग्रेस नेतालाई ठूला परियोजना सञ्चालनमा ल्याएर देश विकासमा जुट्न पनि सुझाए । कांग्रेस नेताहरूले ठूला जलविद्युत् आयोजना सञ्चालनमा रहे पनि सम्पन्न हुन ढिलाइ भइरहेको बताएका थिए ।
मुखर्जीले जलविद्युत् आयोजनासँगै नेपालको आर्थिक विकासमा भारत सधैं सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए। नेपालमा विकास आयोजना कार्यान्वयन पक्ष कमजोर रहेको जनाउँदै मुखर्जीले त्यसतर्फ राजनीतिक दल र सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
कांग्रेस केन्द्रीय  सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुखर्जीसँगको भेटमा दुईपक्षीय सम्बन्ध र नेपालको आर्थिक विकासबारे कुराकानी भएको जानकारी दिए । ‘सूचना प्रविधिको विकास र विस्तारका साथै भूकम्प प्रभावित जनताको सहयोगका लागि भारत सधंै सहयोगी र सकारात्मक छ’, मुखर्जीलाई उद्धृत गर्दै भेटमा सहभागी कार्कीले भने, ‘नेपालले छिटो आर्थिक विकास गर्नुपर्छ भन्ने उहाँको जोड थियो ।’
सहमतिका लागि कांग्रेसले जारी राखेका प्रयासको प्रशंसा गर्दै मुखर्जीले छिटै राजनीतिक स्थायित्व कायम भई नेपाल विकासको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका थिए । कांग्रेस सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाई दिँदै मुखर्जीले सफलताको कामना गरेका थिए । सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, कार्की, रामशरण महत, प्रकाशशरण महत, मीनेन्द्र रिजालसहितका नेताले होटल हयात पुगेर मुखर्जीलाई भेटेका थिए ।
सामूहिक भेटपछि देउवाले मुखर्जीसँग छुट्टै भेटेका थिए । सो भेटमा संविधान सशोधनसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको देउवा निकट स्रोतले जनाएको छ ।
 

प्रकाशित: १९ कार्तिक २०७३ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App