८ वैशाख २०८१ शनिबार
समाज

साझा बसको कथा (भिडियो रिपोर्ट)

काठमाडौं– साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित साझा यातायातले सस्तो र सर्वसुलभ सेवा प्रवाह गर्दै आएको छ। हरियो रङले सजिएको साझा बस तत्कालीन राजा महेन्द्रको अग्रसरतामा २०१८ बाट सुरु भएको हो। २०२६ सालमा यसको सबै सेवा बन्द भयो। यसबीच बन्द हुने खुल्ने क्रम भने जारी रह्यो।

५१ वर्ष अघि सरकारले स्थापना गरेको साझा यातायात २०५८ सालमा विघटन भयो। पञ्चायतकाल र बहुदलकालमा सत्ता स्वार्थ र राजनीतिक भर्ती केन्द्र बनाइएको साझा यातायात घाटामा गएपछि सरकारले त्यसको विघटन गरेको थियो।

पाटन पुनरावेदन अदालतले २०५९ सालमा साझा खारेज नगर्न र सञ्चालन गर्न आदेश दिएपछि सरकारले २०६२ सालदेखि फेरि साझा चलाउन प्रयास गरिएको थियो। एक सय ८३ वटा बससम्म सञ्चालन गरेको साझा यातायात माओवादी सशस्त्र युद्धका क्रममा भएको भौतिक आक्रमण र अन्य कारणले धरासायी भएको थियो।

साझाले १६ वटा अत्याधुनिक बसमार्फत् सस्तो, सुलभ, भरपर्दो र समयबद्ध ढंगले आफ्नो सेवालाई २०७२ सालबाट पुनः सुचारु गरेको छ। यातायात व्यवसायीहरूबाट हुँदै आएको मनपरीतन्त्रलाई निरुत्साहित गर्न सरकारले यातायात क्षेत्रमा हात हालेको र साझा बस चलाएको साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेय बताउँछन्।

पाटन पुनरावेदन अदालतले २०५९ सालमा साझा खारेज नगर्न र सञ्चालन गर्न आदेश दिएपछि सरकारले २०६२ सालदेखि फेरि साझा चलाउन प्रयास गरिएको थियो। एक सय ८३ वटा बससम्म सञ्चालन गरेको साझा यातायात माओवादी सशस्त्र युद्धका क्रममा भएको भौतिक आक्रमण र अन्य कारणले धरासायी भएको थियो।

अहिले उपत्यकाभित्र ७१ वटा र बाहिरी रुटमा चारवटा साझाका बस चल्दै आएका छन्। उपत्यका बाहिर काठमाडौंदेखि बागलुङ र भैरहवा रुटमा साझा बस चल्छ। यस्तै साझाले काठमाडौंका तीन रुटमा रात्रिबस पनि सञ्चालन गरेको छ।

न्यूरोड गेटबाट टिचिङ हस्पिटल हुँदै नारायण गोपाल चोक–नयाँ बसपार्कमा बस सेवा सुरु गरेको हो। न्युरोड गेटबाट नयाँ बानेश्वर–एयरपोर्ट–चावहिल हुँदै नयाँ बसपार्क र न्युरोड गेटबाट एनएसी–रत्नपार्क हुँदै त्रिपुरेश्वर–टेकु–कालीमाटी–कलंकीसम्म राति १० बजेसम्म साझाले बस चलाएको हो। यी रुटमा चल्ने बसहरू सोही रुटबाट फिर्ता हुने पाण्डेयले जानकारी दिए।

अन्य रुटका बस भने राती ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्। यस्तै साझाले अपांगतामैत्री सेमिफ्लोरसहित ७१ वटा बस पनि सञ्चालन गर्दै आएको छ। तीमध्ये ४ वटा बस उपत्यका बाहिर सञ्चालन भइरहेका छन्। यात्रुको चाप हेरेर आवश्यकताअनुसार थप रात्रिकालीन बस सञ्चालन गर्ने पाण्डेयले बताए ।

काठमाडौं महागनरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित सवारी तथा यातायात व्यवस्था ऐन अनुसार यातायात कम्पनीसँग रात्रिकालीन बस सञ्चालन गर्न थप छलफल गर्ने भएको छ । ऐन राजपत्रमा प्रकाशित भएर आइसकेकाले चाँडै कार्यान्वयन गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउँछन् ।

रात्रिकालीन बस सञ्चालनका लागि अन्य यातायात व्यवसायी, यातायात कम्पनी र सरोकारवाला पक्षसँग महानगरले छलफल गर्ने उनले जानकारी दिए। उनका अनुसार साझा बसलाई रात्रिकालीनसम्म र अन्यलाई राति १० बजेसम्म सञ्चालन गरिने छ। यसका साथै सबै बसमा टिकट प्रणाली पनि लागू गर्न जोड दिने उनले बताए ।

हाल साझा बसले मात्र टिकट प्रणालीको व्यवस्था गर्दै आएको छ। सबै यात्रुहरुलाई साझाको बस चढिसकेपछि टिकट लिन आग्रह प्रबन्धक पाण्डेले आग्रह गरेका छन्। उनका अनुसार टिकट नलिएको खण्डमा दुई हजार जरिवाना तिर्नुपर्ने हुन्छ।

साझाले केही समय अघि मात्र विद्युतीय बसको उद्घाटनसमेत गरेको थियो। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको दुईवटा विद्युतीय बसबाट सुरु गरेको थियो। तर, हाल त्यो विद्युतीय बस सेवा भने सुचारु हुन सकेको छैन। काठमाडौंमा दैनिकरूपमा बिजुली बस सञ्चालन गर्नु साझाको लक्ष्य रहेको प्रबन्धक पाण्डेयको भनाइ छ।

विद्युतीय बस सञ्चालनका लागि प्रदेश ३ सरकारले ३० करोड, ललितपुरले साढे दुई करोड र काठमाडौं महानगरपालिकाले १० करोड बराबर साझाको सेयर खरिद गरेका छन्। यसको चार्जिङ स्टेशन भने विद्युत् प्राधिकरणले निर्माण गर्ने पाण्डेयले बताए। यस्तै विद्युतीय बसको सञ्चालनपश्चात् प्रदूषण कम हुने, इन्धन खर्च र आयातितमा कमी आउनेलगायतका फाइदा पुग्ने उनले भनाइ छ।

नयाँ बस आगामी आर्थिक वर्षभित्र खरिद गरिने र नयाँ बसको सेवा ३ नम्बर प्रदेशका विभिन्न सहरहरूमा उपलब्ध हुने साझाका प्रबन्धक पाण्डेयले जानकारी दिए।

साझाले बसमा स्मार्टकार्ड पनि सञ्चालनमा ल्याएको छ। यस अघि स्मार्टकार्ड सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन नसक्दा बन्द भएको थियो। हाल सोही प्रणालीलाई अपग्रेड गरेर स्मार्टकार्ड सञ्चालनमा ल्याइएको हो। ‘यात्रा कार्ड’ भनेर नामाकरण गरिएको उक्त कार्डलाई करिब दुई महिनाको परीक्षणपछि सञ्चालनमा ल्याइएको साझाले जनाएको छ।

कार्डलाई साझा यातायातका सबै बसहरूमा प्रयोग गर्न सकिनेछ। कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रुहरू ठगिनबाट जोगिने साझाले जनाएको छ। साझाका अनुसार कार्डका लागि बसको सहचालकसँग सम्पर्क राख्न सकिनेछ। दुई सय रुपैयाँमा प्राप्त गर्न सकिने यो कार्डमा दुई सय रुपैयाँ ‘ब्यालेन्स’ हुन्छ। कार्ड लिने व्यक्तिले साझाका सहचालकसँग रहेको मेसिनमा ‘स्वाइप’ गर्नुपर्नेछ। दूरीका आधारमा सहचालकले भाडा तय गर्ने र त्यही आधारमा ‘स्वाइप’ गरेर भाडा तिर्न सकिन्छ।

साझा यातायातले सस्तो र सर्वसुलभ सेवा प्रवाह गर्दै आएपछि सेवाग्राहीले सहज महसुस गरेका छन्।

प्रकाशित: ३१ असार २०७६ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App